७ वैशाख २०८१ शुक्रबार
समाज

एक लाखको पटाका बरामद

बरामद पटाका नष्ट गर्ने तयारी।तस्विर : नागरिक

टीकापुर- टीकापुर नगरपालिका–९ खक्रौलास्थित सशस्त्र प्रहरीको बिओपीले १ लाख ६ हजार ७ सय ९० रुपैयाँ बराबरको पटाका बरामद गरेको छ। भारतको तिकुनीयाँबाट लुकीचोरी ल्याउँदै गरेको पटाका बिओपीको गस्ती टोलीले बरामद गरेको हो।

बिओपी इञ्चार्ज सशस्त्र प्रहरी निरिक्षक चन्द्रदेव भट्टले टीकापुर नगरपालिका–७ ढुंगानाटोलबाट पटाका बरामद गरेको जानकारी दिए। उनले पटाका बोकेर टीकापुरतर्फ आउँदै गरेको मोटरसाइकल गस्ती टोली देखेपछि पटाका छोडेर भागेको बताए।

‘पटाका ओसार्ने व्यक्ति हाम्रो गाडी देखेपछि सामान छोडेर भाग्यो’ बिओपी इञ्चार्ज भट्टले भने–‘साँघुरो बाटो हुँदै गाउँतर्फ भागेकाले पक्राउ गर्न सकिएन।’ तिकुनीयाँबाट रातिको समयमा कालाकुण्डाको बाटो हुँदै पटाका टीकापुर भित्रिरहेको थियो।

बिओपीले बरामद गरेको पटाका सबै सरोकारवाला निकायको रोहबरमा नष्ट गरेको जनाएको छ। भन्सार नाकाको बाटो हुँदै समेत पटाका जस्ता जोखिमयुक्त सामान भित्रिने गरेको पाईएको छ। त्यहाँ कार्यरत सशस्त्र र नेपाल प्रहरीले चेकजाँचका क्रममा समेत यस्ता सामान बरामद गर्ने गरेका छन्।

स्थानीयले घरको प्रयोजनका लागि भन्दै यस्ता सामान लिएर आउने गरेको इञ्चार्ज भट्टले बताए। उनले घरको प्रयोजनका लागि समेत पटाका जस्ता जोखिमयुक्त सामान आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको बताए। ‘कतिपयले घरको प्रयोगका लागि भन्ने गरेका छन’ उनले भने–‘जेसुकै प्रयोगका लागि भएपनि यस्ता सामान ल्याउन पाईदैन।’

उनले भन्सार नाकाको बाटो हुँदै केही दिन यता मात्रै करिव ५ हजार बराबरको पटाका चेकजाँचमा खटिएको टोलीले बरामद गरेको बताए। उनले सो पटाका समेत सरोकारवाला निकायको रोहबरमा नष्ट गरिएको जानकारी दिए। तिहारको समयमा पटाका जस्ता जोखिमयुक्त सामाग्री भित्रिन नदिन बिओपीले सीमा क्षेत्रमा गस्ती बढाएको छ।

सुरक्षा व्यवस्था कडा पारिएको भएपनि तिकुनीयाँबाट पटाका जस्ता जोखिमयुक्त सामान चोरी नाकाबाट भित्रिरहेको स्थानीय बताउँछन्।

प्रकाशित: ६ कार्तिक २०७६ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App