६ वैशाख २०८१ बिहीबार
समाज

कालीगण्डकीको स्टिमर सेवा सञ्चालनमा

पर्वत – वर्षायाममा बन्द भएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुनः शुरु भएको छ ।
 
बन्द भएको स्टिम सेवा आइतबारदेखि शुरु भएको हो । सहजरूपमा सञ्चालन गर्न सकिने भएपछि मङ्गलबारदेखि नियमितरूपमा सञ्चालनमा ल्याइएको शालिग्राम–कालीगण्डकी जलयातायात प्रालिका सचिव चन्द्रबहादुर रानाले जानकारी दिए । गत असार दोस्रो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाब बढेपछि दुर्घटना हुनसक्ने भएकाले साउन, भदौ र असोजमा सेवा बन्द गरेको सचिव रानाले बताए। 

उहाँका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटरको दूरीमा १८ वर्षदेखि जलयातायात स्टिमर सेवा सञ्चालनमा छ ।

स्टिमर सेवाबाट दक्षिण पर्वतको विहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बागलुङका बासिन्दा लाभान्वित हुने गरेका विहादीका अध्यक्ष कमल भुसालले जानकारी दिए । स्टिमरबाट दैनिक एक हजारभन्दा बढीले नदी ओहोरदोहोर गर्ने गरेका भुसालले बताए ।
 
स्टिमरमा १०० जना सवार गर्न मिल्ने १० वटा र १५ सवार गर्न मिल्ने माइक्रोस्टिमर दुई सञ्चालन भइरहेका व्यावसायी हरिप्रसाद भट्टराईले जानकारी दिए । उहाँले दैनिक एक हजारभन्दा धेरै स्टिमरमा यात्रा गर्ने गरेको बताए । स्टिमर सेवा सञ्चालनपछि चार घण्टाको यात्रा आधा घण्टामा छोटिएको भट्टराईको भनाइ छ । 

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वतको बिहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयवासीलाई सेवा शुरु भएपछि सहज बनाएको स्थानीयवासी विष्णु न्यौपानेले बताए ।

स्टिमर नचल्दा दशैँ मनाउन सास्ती खेपेका त्यस क्षेत्रका बासिन्दालाई तिहार मनाउन गाउँमा फर्कन सहज हुने भएको छ भने मालसामान ढुवानी गर्नसमेत सहज हुने न्यौपानेले जानकारी दिए ।

स्टिर सेवा बन्द हुँदा साढे तीन महीनाभन्दा बढी त्यस क्षेत्रका बासिन्दा आधा घण्टाको बाटो चार घण्टासम्म पैदल हिँडेर स्याङ्जाको गल्याङ पुग्न बाध्य भएका थिए । पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शनका लागि आउने धार्मिक पर्यटक र स्टिमर चढ्नकै लागि आउने पर्यटकसमेत वृद्धि हुने अपेक्षा गरिएको विहादी–६ शालिग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
 
काठका ठूला तथा मझौला डुङ्गामा मालवाहक गाडीको इञ्जिन जडान गरेर बनाइएका स्टिमर जलयातायातको साधन हो । ठूला मालवाहक गाडीजत्तिकै वहन क्षमता राख्ने हुँदा स्टिमर सेवा त्यस क्षेत्रका लागि बरदान नै सावित भएको थापाले बताए । रासस

प्रकाशित: ६ कार्तिक २०७६ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App