१५ चैत्र २०८० बिहीबार
समाज

रत्नपार्क र जमलको आकाशे पुलमुनि पानीको फोहोरा

काठमाडौं – रत्नपार्क र जमलको आकाशे पुलमुनिको ट्राफिक आइल्याण्डमा पानीको फोहोरा निर्माण गरिने भएको छ। महानगरपालिकाले सडक र पुल आकर्षक बनाउन पानीको फोहोरा निर्माण गर्न लागेको हो।

आकाशे पुललाई आकर्षक बनाउन ती ठाउँमा पानीको फोहोरा निर्माण गर्न लागेको महानगरले जनाएको छ। काठमाडौं महानगरका वातावरण विभाग प्रमुख हरिकृष्ण श्रेष्ठले प्रभु बैंकको सहयोगमा फोहोरा निर्माण गरिन लागेको बताए। उनका अनुसार काठमाडौं महानगर र प्रभु बैंकबीच निर्माण सम्झौता हुन भने बाँकी छ। ‘महानगरको मध्यभागको ट्राफिक आइल्याण्डमा पानीको फोहोरा निर्माण गर्न लागेका छौं,’ उनले भने।

उनले पहिलो चरणमा दुई स्थानमा पानीको फोहोरा निर्माण गर्न लागेको जानकारी दिए। पछिल्लो समय महानगरले हरियाली प्रवद्र्धन र सरसफाइलाई प्राथमिकतामा राखेको छ। नेपाल दक्षिण एसियाको पहिलो दिसामुक्त क्षेत्र घोषणा भएसँगै महानगरले सरसफाइमा चासो दिएको हो।

महानगरले अन्य ट्राफिक आइल्याण्डमा पनि फूल रोपेको छ। यसअघि भृकुटीमण्डप र न्युरोड गेट अगाडिको ट्राफिक आइल्याण्डमा महानगरले वृक्षरोपण गरेको थियो। यस्तै, सुन्धारा, रत्नपार्क, विष्णुमति करीडोर र त्रिपुरेश्वर क्षेत्रमा वृक्षरोपण गरेको थियो।
पानीको फोहोरा निर्माणसँगै सडक र पुल आकर्षक देखिने उनको विश्वास छ।

प्रकाशित: ६ कार्तिक २०७६ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App