coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बडहरे बस दुर्घटनाः पीडित परिवारलाई आर्थिक सहायता

सिन्धुपाल्चोक– एकै गाउँका सातसहित १२ जनाको ज्यान जाने गरी झण्डै दुई साताअघि भएको बडहरे बस दुर्घटनाका मृतकका आश्रित परिवारलाई इन्द्रावती गाउँपालिका र सम्वद्ध यातायात समितिले आर्थिक सहायता प्रदान गरेका छन्।

घटनास्थल इन्द्रावती–१० बडहरेको वडा कार्यालयमा शोक सभा गर्दै गाउँपालिकाले २५ र सिन्धु हेलम्बु यातायात समितिले ४० हजार रुपैयाँका दरले मृतकका पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरेका हुन्। सहायता प्रदान गर्न गाउँपालिका अध्यक्ष बंशलाल तामाङ र यातायात समितिका बरिष्ठ उपाध्यक्ष श्यामकुमार श्रेष्ठ वडा कार्यालय पुगेका थिए। 

गाउँपालिका अध्यक्ष तामाङले आश्रित परिवारलाई काजकिरियाबाट उत्रन सहज होस् भन्ने हेतुले आर्थिक सहायता गरिएको बताए। ‘दुःखमा आफ्ना नागरिकलाई सघाउनु स्थानीय सरकारको कर्तव्य हो,’ उनले भने। घटनाकै दिन अध्यक्ष तामाङले पीडित परिवारलाई गाउँपालिकाले आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका थिए। गाउँपालिका र यातायात समितिबाट पीडित परिवारले ६५ हजार रुपैयाँका दरले सहायता पाएका छन्। वडाध्यक्ष जीवन थापामगरको संयोजनमा शोकसभासहित घटनास्थलमा मृतात्माको शान्तिको कामना गर्दै दीप प्रज्वलनसमेत गरिएको छ।

गएको असोज २४ गते हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस चौतारा–सिपाघाट कच्ची सडक खण्डको बडहरेमा दुर्घटनाग्रस्त हुँदा चालकसहित घटनास्थलमै पाँच, अस्पतालमा उपचारको क्रममा पाँच र एकको बीच बाटोमै ज्यान गएको थियो। दसैंका यात्रुले खचाखच भरिएको बसका एक सय ६ यात्रु घाइते भएका थिए। एक घाइते महिलाको सात महिने गर्भे शिशुको समेत मृत्यु भएको थियो। धुलिखेल अस्पतालले शल्यक्रियामार्फत उनको गर्भबाट मृतक शिशु निकालेर आमालाई बचाएका थिए। मृतक शिशुका परिवारले पनि दुबै राहत रकम पाएको छ। 

दुर्घटनाका १० घाइतेको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ। ९६ घाइते उपचारपछि घर फर्किसकेका छन्। वडाध्यक्ष थापामगरका अनुसार धुलिखेल अस्पतालमा पाँच, वीर अस्पताल ट्रमा सेन्टरमा दुई तथा केएमसी, सुमेरु र ग्रान्डी अस्पतालमा एक÷एक घाइते उपचाररत छन्। विभिन्न शल्यक्रियापछि उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको थापामगरले जानकारी दिए। 

यातायात समितिले दुर्घटनाका मृतकले कानुन अनुसार पाउने बीमा रकम उनीहरुका आश्रित परिवारलाई उपलब्ध गराउन प्रक्रिया अघि बढाएको जनाएका छ। प्रक्रिया पूरा भएपछि केही दिनभित्रै बीमा रकम उपलब्ध गराउने समितिका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए। मृतकका परिवारले पाँच लाख रुपैयाँका दरले बीमा रकम पाउँने छन्। 

प्रकाशित: ५ कार्तिक २०७६ १६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App