coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आठ वर्षमा पनि बनेन कान्द्रा नदीको पुल

कान्द्रा नदीमा पुल निर्माणका लागि बनाइएको पिलर। तस्बिर: नागरिक

धनगढी - राष्ट्रिय गौरवको हुलाकी सडकअन्तर्गत कैलालीको कान्द्रा नदीमा आठ वर्ष बित्न लाग्दा पनि पुल निर्माण हुन सकेको छैन। पुल निर्माण नहुँदा राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक भएर दक्षिणी क्षेत्रका नागरिकलाई आउजाउ गर्न कठिनाइ भइरहेको छ।

कान्द्रा नदीमा ३० महिनामा पुल बनाउने भन्दै लामा–साल्पा–शेर्पा–बिरुवा जेभीले २०६८ जेठ ३१ गते ठेक्का सकारेको थियो। २०७० मंसिर ३० गते सम्झौता म्याद सकिएपछि पटकपटक गरी तीनपटकसम्म म्याद थपिएको थियो। तीन–तीनपटक म्याद थप्दासमेत अहिलेसम्म पुलको काम ३५ प्रतिशत मात्र सकिएको आयोजनाका इन्जिनियर मोहनचन्द्र हमालले बताए। आयोजनाले अन्तिम पटक २०७५ असार २५ गतेसम्म म्याद थप गरेको थियो।

सुरुमा सम्झौता भएको पुलको डिजाइन नमिलेको भन्दै काम गर्न आनाकानी गर्दै आएको निर्माण कम्पनीले २०७० मंसिर ३० मा म्याद सकिए पनि पुनः म्याद थप गराएको थियो। त्यसपछि पनि कम्पनीले काम सुचारु गरेन। २०७२ मा पुलको डिजाइन नमिलेको भन्दै डिजाइन परिवर्तन गरे अढाइ वर्ष पुनः म्याद थपिएको हुलाकी सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर पदमबहादुर मडैले बताए। उनका अनुसार २०७५ असार २५ गते म्याद सकिँदा पनि काम पूरा हुन सकेन। ‘त्यसयता न म्याद थप गरिएको छ न त काम भएको छ,’ उनले भने। त्यसपछि कान्द्रा नदीको पुल निर्माणको काम अलपत्र परेको उनले जानकारी गराए।

कान्द्रा नदीमा ३० महिनामा पुल बनाउन लामा–साल्पा–शेर्पा–बिरुवा जेभीले २०६८ जेठ ३१ गते ठेक्का सकारेको थियो। २०७० मंसिर ३० गते सम्झौता म्याद सकिएपछि पटकपटक गरी तीनपटकसम्म म्याद थपिएको थियो। तीन–तीनपटक म्याद थप्दासमेत पुलको काम ३५ प्रतिशत मात्र सकिएको छ।

कुल चार करोड ४२ रुपैयाँमा ठेक्का सकारेको निर्माण कम्पनीले म्याद थप गर्दै जाने र निर्माणमा चासो नदेखाउँदा पनि सम्बन्धित निकायले कुनै कारबाही गरेको छैन। निर्माण कम्पनीका ठेकेदार अहिलेसम्म आफूहरूको सम्पर्कका नआएको बताउँदै इन्जिनियर हमालले भने, ‘निर्माण कम्पनीलाई पटक–पटक सम्पर्कमा आउन पत्राचार गर्नुका साथै चाँडै पुल निर्माण गर्न भने पनि वास्तै गरेको छैन।’ निर्माण कम्पनीलाई कारबाही गर्न र जरिवाना तिरेर काम गर्नुपर्ने भन्दै विभागबाटै पत्राचार भइसकेको समेत उनले बताए। ‘यहाँको पत्रानुसार विभागबाट पनि निर्माण कम्पनीलाई ताकेता गरिएको छ,’ उनले भने, ‘अझै काम नगरे विभागीय कारबाही हुन्छ।’

कान्द्रा नदीमा पुल निर्माण हुन नसक्दा भजनी नगरपालिका–३, ४, ५ र ८ का बासिन्दाले आवतजावतमा सास्ती भोगिरहनुपरेको छ। पुल निर्माणको आठ वर्ष बितिसक्दा पनि अहिलेसम्म निर्माण सम्पन्न हुन नसक्दा वर्षामा आवतजावत गर्न कठिनाइ हुने गरेको स्थानीय आरती चौधरीले बताइन्। ‘पुल नहुँदा सबैभन्दा बढी वर्षामा दुःख झेल्नुपरेको छ,’ उनले भनिन्, ‘त्योसँगै हिउँदमा भने नगरपालिकाले काठेपुल हालेर हिँडडुल गरेबापत कर तिर्नु परेको छ।’ पुल नहु“दा सबैभन्दा बढी बालबालिका तथा ज्येष्ठ नागरिकलाई भजनी बजार आउजाउ गर्न कठिनाइ पर्ने गरेको उनी बताउँछिन्।

योसँगै कनरी पुल, पवेरा पुल र कटैनी खोलाको पुल पनि सम्झौताअनुसार समयमा निर्माण सम्पन्न भएका थिएनन्। पटकपटक म्याद थपेर भर्खरै मात्र पुल निर्माण सकिएको आयोजनाले बताएको छ। ‘कान्द्राबाहेक तीनवटा पुल अहिले आएर निर्माण सम्पन्न भइसकेका छन्,’ इन्जिनियर हमालले भने, ‘तर हस्तान्तरण भने भइसकेको छैन।’

राजनीतिक संरक्षण र आर्थिक प्रभावमा पटकपटक सजिलै म्याद थपिने हुँदा निर्माण कम्पनीले विकास निर्माणका काममा चरम लापरबाही गर्ने गरेका छन्। समयमा काम नगरेर गलत गर्ने निर्माण व्यवसायीलाई सुरुमा १० प्रतिशत पेनाल्टी तिराउने र त्यसपछि पनि काम पूरा नगरे ठेक्का रद्द गरेर सो कम्पनीलाई कालोसूचीमा राख्ने, बैंक ग्यारेन्टी जफत गर्ने कानुनी प्रावधान छ।

तापनि कानुनी प्रावधानअनुसार समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही नै हुँदैन। कानुनी प्रावधानअनुसार कारबाही नगरिँदा निर्माण कम्पनीले आफूखुसी काम गर्ने र सम्झौताको म्यादमा कहिल्यै काम सम्पन्न नगर्ने गरेको बताउँदै एक प्राविधिकले भने, ‘राजनीतिक पहुँच र आर्थिक प्रभावले निर्माण कम्पनीलाई कारबाही हुनुको साटो उनीहरूकै चाहनाअनुसार पटकपटक म्याद थपिने गरिन्छ।’

हुलाकी सडकअन्तर्गत ठूला नदीमा पर्ने पुलको निर्माण, जग्गाको मुअब्जा, माटो, ढुंगा, गिट्टीजस्ता सामग्री व्यवस्थापनको जिम्मा नेपाल सरकारले र सडक निर्माणको जिम्मा भारत सरकारले लिएको थियो। पुल निर्माणमा ढिलाइ हुँदा पुलवरपरको कालोपत्रे भारतीय ठेकेदार कम्पनी जिआर गावरले गर्नुपर्नेमा अहिले नेपाल सरकारले नै गर्नुपर्ने बाध्यता छ। धनगढीदेखि सत्तीसम्म ६१ दशमलव २ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी जिआर गावर भने फर्किसकेको छ।

प्रकाशित: ४ कार्तिक २०७६ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App