१६ चैत्र २०८० शुक्रबार
समाज

शून्य लागतमा मलेसिया जाने प्रक्रिया सुरु, मलेसियाली प्रतिनिधि काठमाडौंमा (फोटो फिचर)

काठमाडौं– करिब डेढ वर्षदेखि रोकिएको मलेसियाको रोजगारी पुनःसूचारु भएपछि मलेसिया जान कामदारको भीड लागेको छ। कामदार छनोट गर्न मलेसियाली कम्पनीका पदाधिकारी स्वयं काठमाडौं आएका छन्। 

गाउँतिर मेला पाखामा देखिने जस्तै एउटा ठूलो भीड शनिबार बिहानै राजधानीको गैरीधारामा देखियो। शहरकोबीच भागमा देखिएको ठूलो भिडले धेरैलाई चकित मात्र बनाएन नाराजुलुस भइरहने राजधानीमा शनिबार भएकाले कुनै दल वा संस्थाको बिरोधसभा होला भन्ने भान दिन्थ्यो। तर तलिया उप्किन लागेको जुत्ता, फाट्न लागेको सर्ट र पाइन्टले शरीर छोपेर काँधमा एउटा झोला भिरेका ती युवाको हातमा न कुनै नाराबाजी लेखिएको प्लेकार्ड थियो, न लाठी मुङ्ग्रा नै। थियो त आफ्नो नाम ठेगाना, अनुभव उल्लेख गरिएको फारम अनि साथमा राहदानीको प्रतिलिपी। करिब ३ हजारको त्यो भिड मलेसियाको हर्तालिगा ग्लोभ्स कम्पनीमा काम गर्न जान छनोट हुन तछाड मछाड गर्दै थियो। 

नेपाल र मलेसियाबीच गतवर्ष श्रम सम्झौता भएपछि शून्य लागतमा नेपाली कामदार जाने बाटो बने पनि विगतदेखि नै नेपालबाट कामदार लिँदै आएको हर्तालिगाले कामदारसँग पैसा लिने त परको कुरा उल्टै पासपोर्ट बनाएको खर्च समेत दिने गरेको कम्पनीका प्रतिनिधिले बताए। प्रतिदिन ११ घण्टाका दरले काम गर्नुपर्ने हर्तालिगामा नेपाली कामदारले करिव १८ सय रिंगेट अर्थात ५० हजार नेपाली रुपैयाँ सम्म कमाउन सक्ने कम्पनीको भनाइ छ। कामदार आपूर्तिको सबै खर्च व्यहोर्दै आएको कम्पनीले मलेसिया उड्नु अघि यातायात र होटलको बसाईमा कामदारको खर्च भएको पैसा समेत फिर्ता दिने जनाएको छ।

यो वर्ष ५ सय नेपाली कामदार लिन कम्पनीले नेपालका तीन मेनपावर छनोट गरेको जनाएको छ। जसमध्ये शनिबार कम्पनीका प्रतिनिधिले वाइड स्पेस इन्टरनेशनल मेनपावरमा अन्तर्वार्ता गरेको हो। करिब १६ महिना बन्द भएको मलेसिया रोजगारी पुनः सुचारु भएपछि मलेसियाली कम्पनीका प्रतिनिधिले पहिलो पटक कामदार छनोट गर्न भएको अन्तर्वार्तामा उपस्थित भिडले बेरोजगार नेपालीको झल्को मात्र दिइरहेको थिएन मलेसिया रोजगारीप्रति नेपालीको आकर्षण पनि देखाइरहेको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App