८ वैशाख २०८१ शनिबार
समाज

तस्करको गोदाममा प्रहरीको छापा, १३ लाख बराबरको सामान बरामद

ठाढी(सिरहा)– शनिबार विहान लहान प्रहरीले सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाढीबाट भारी परिमाणमा तस्करीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरीको बोर्डर आउटपोष्टबाट करिब पाँच सय मिटर पश्चिम घर भाडामा लिएर तस्करले भन्सार नतिरेको सामान भण्डारण गरेर नजिकको व्यापारिक सहर लहान सप्लाई गर्न लागेको सूचनाका पछ्याउँदै शनिबार डिएसपी भेषराज रिजालको टोलीले लाखौंको सामान जफत गरेको छ। 

‘ठाढीमा भन्सार नतिकेको सामान भण्डारन गरी सप्लाईको तयारीमा रहेको करिब ३० वटा पोका जफत गरेका छौं,’ डिएसपी रिजालले नागरिकसँग भने, ‘बरामद समानहरु मूल्यांकन गर्दा १३ लाख ३६ हजार ५ सय मूल्यको छ।’

तस्करले खाद्य सामग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पार्ट्स, र कस्मेटिक सामग्री भारतीय सहर जयनगरबाट भारतीय बाटो हुँदै लौकाहा बजार ल्याएर नजीकको नेपाली बजार ठाढीमा भण्डारन गरेको स्थानीयले बताए। पछिल्लो समय सिरहा प्रहरीले सीमावर्ती नाकामा कडाई गरेपछि तस्कर समूह उकुसमुकुस भएका छन्। सिधा भारतीय सहरबाट नेपाली बजारमा तस्करीका सामान ल्याउने वातावरण नभएपछि भारतीय कष्टम र तस्करी नियन्त्रणकै लागि भनेर सीमामा तैनाथ सशस्त्र प्रहरीलाई मिलाएर सीमावर्ती गाउँमा सामान भण्डारण गर्ने प्रयास तस्करबाट भइरहेको छ। तर, नेपाल प्रहीले सीमादेखि सहरसम्म चुस्त बनाएको प्रहरी संयन्त्रको जालमा फस्दै आएको घटनाक्रमले देखाएको छ। कोही तस्कर सामानसहित बाटोबाटै समातिन्छन्। कोही सहरबाट। सीमावर्ती गाउँमा भण्डारण गर्दा समेत तस्कर उम्कने वातावरण छैन डिएसपी रिजालले भने, ‘जिल्ला प्रहरी प्रमुखले तस्करीमा जीरो टोलरेन्सको नीतिभन्दा पनि एक पाइला अगाडि माइन्समा झार्नेगरी प्रहरी परिचालित गर्नुभएको छ। जसको परिणाम यहाँ धमाधम तस्कर र तस्करीका सामान पक्राउ पर्दैछन्’, उनले भने।

सिरहा प्रहरीले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै छ। भन्सार छलेर भित्र्याइएका सामान तथा सामान बोक्न प्रयोग गरिने सवारीसाधन र मानिस प्रहरीको नियन्त्रणमा आउने गरेका छन्। पछिल्लो समय तस्करीमा संलग्न भागेकाले नियन्त्रणमा लिन नसकेको जवाफ प्रहरीबाट बिरलै आउँछ। 

सीमावर्ती बरियारपट्टी गाउँपालिका–२ खोक्सीबाट सिरहा प्रहरीले भारत तस्करीका लागि लग्दै गरेको मटरसहित दुईजनालाई पक्राउ गर्यो। अवैध रुपमा भारततर्फ तस्करी हुन लागेको अबस्थामा तीनबोरा मटरसहित बा ५१ प ९३५८ नम्बरको मोटरसाईकलसहित सोही ठाउँका १८ वर्षिय श्यामजीवन पासवान र रोशन महतोलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार बुझायो।

यसैगरी, सीमावर्ती नवराजपुर गाउँपालिका–४ बाट चार क्विन्टल मरीचसहित चारवटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लियो। अवैध रुपमा भारततर्फ तस्करी हुन लागेको मरिचसहित स ६ प २०१३, स १ प ५४०१, स १ प ६५०७, स ५ प ४५२९ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिइएर भन्सार बुझायो। 

पहिला पिकअप जीपमै मटर र मरीच सीमाबाट भारत पुर्याइन्थ्यो, भारतबाट दैनिक उपभोग्यलगायतका सामान बेरोक भित्रिन्थ्यो बरियारपट्टीका दीपेन्द्र यादवले भने, ‘पछिल्लो समय बोर्डरमा गरिएको कडाइका कारण तस्करहरुमा उकुसमुकस छ।’ प्रहरीले मोटरसाईकलमाथि पनि निगरानी बढाएर पक्राउ गर्न थालेपछि तस्करहरुमा हलचल पैदा भएको उनले बताए।

पछिल्लो समय सीमामा तैनाथ नेपाल प्रहरीकर्मीले सीमामा हुने चोरीतस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाएपछि तस्करहरुमा उकुसमुकुस सुरु भएको सीमावर्ती सन्हैठाका स्थानीय रामकिशोर यादवले बताए। तस्करी नियन्त्रणमा अहिले प्रहरी दिलोज्यानले लागेको उनले बताए।

पछिल्लो समय प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रमुखमा डीआईजी प्रद्युम्न कार्की आएपछि आठवटै जिल्लामा चोरी तस्करीमा शून्य सहनशीलताको नीतिलाई कडाईकासाथ कार्यान्वयन गरेको छ। पर्सादेखि सिरहासम्म जिल्ला प्रहरी प्रमुख परिवर्तनसँगै मटर, मरीच र मदिरा भारत तस्करीको संगठित सन्जाल भताभुंग भएको एक व्यापारीले बताए। अहिले सिरहाको चोरीतस्करीमा लगाम लागेपछि धन्दामा संलग्नहरुमा रुवाबासी चलेको छ। धन्दामा संलग्नहरु उद्योग वाणिज्य संघमार्फत जनप्रतिनिधि, प्रदेश र संघीय सांसदसँग लबिङ सुरु गरेको छ। उद्योग वाणिज्य संघ लहानले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश र संघीय सांसद मार्फत प्रहरी प्रशासनलाई सीमा वारपारको व्यपार सहज बनाइदिन भाषण नै गर्न लगाए। ‘तेस्रो मुलुकबाट आयात भई आएको मटर र मरिचको व्यापार सहज बनाइदिनुपर्यो भनेर सांसदहरुले नै अभिव्यतिm दिए। सीमावर्ती क्षेत्रमा मरिच र मटरको व्यपार असहज भएपछि व्यपारिहरुलाई गाह्रो भएको छ। 

सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले भने ‘व्यपारीहरुको कानुन संगत गरेको व्यापार फलोस, फस्टाओस तर व्यपारको नाममा देशको राजश्व छल्ने छुट दिन्न्।’ बर्दीका आडमा कसैले यस्तो कार्यलाई सहयोग गरे कारबाही गर्ने उनको भनाई छ। 

प्रकाशित: २ कार्तिक २०७६ १५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App