१५ चैत्र २०८० बिहीबार
समाज

१८ दिनदेखि महिला बेपत्ता

खोटाङ– खोटाङमा १८ दिनदेखि महिला बेपत्ता भएकी छिन्। डोको, कचिया बोकेर घरबाट हिँडेकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेकी अन्दाजी ५२ वर्षकी कल्पना (गोपीसराना) राई बेपत्ता भएको प्रहरीले जनाएको छ। गत असोज १४ गते घरबाट बेँसी जमुनाबोटे झरेकी महिला हालसम्म बेपत्ता भएको वडाध्यक्ष चईन्द्र राईले बताए। 

घरमा नआएपछि तीन दिनसम्म खोज्दा पनि नभेटिएपछि आफन्तले खोजीको माग गर्दै असोज २० गते ईलाका प्रहरी कार्यालय हलेसीमा हुलिया दिएका छन्। घरदेखि बेँसीको खेत तथा गोठसम्म खोज्दा पनि बेपत्ता फेला नपरेको आफन्तको भनाई छ। असोज १५ गते बिहान बेँसीबाट सुनकोसीतर्फ झर्दै गरेको स्थानीयले देखेको जानकारी प्राप्त भएको आधारमा सुनकोसीको रसुवाघाटसम्म खोजी गरिसकिएको वडाध्यक्ष राईले बताए। खोजीकाक्रममा सुनकासी किनारमा पर्ने बया खोला दोभानमा डोको, चप्पल, चाउ–चाउ लगायत फेला परेको बताइएको छ। बेपत्ता महिलाको खोजी जारी रहे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। घरबाट बेँसी झर्नेक्रममा उनले किराना पशलबाट चाउ–चाउ किनेको खुलेको छ। बेपत्ता महिला खोजी गर्न र देखिए÷भेटिए खबर गर्न आफन्तले आग्रह गरेका छन्। 

२०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषी हालसम्म गुमनाम रहेको अवस्थामा पुःन अर्की महिला बेपत्ता भएकी हुन्। 

प्रकाशित: २ कार्तिक २०७६ १५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App