१५ चैत्र २०८० बिहीबार
समाज

निर्माण सामग्री डिपोको ठगीधन्दा

काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न डिपोबाट निर्माण सामग्री खरिद गर्दै आउनुभएको छ भने ख्याल गर्नुहोस्, तपाईं ठगीमा पर्न सक्नुहुन्छ। इँटा, गिट्टी, बालुवा, चिप्स, ढुंगालगायत निर्माण सामग्री ढुवानी गर्दै आएका व्यवसायीहरूले सर्वसाधारणलाई हदैसम्म ठगी गर्दै आएको तथ्य प्रहरीले फेला पारेको छ।

मिनी ट्रकमै ढलान वा फलामे फ्रेम राखेर सर्वसाधारणलाई ठगी गर्दै आएका २३ वटा डिपोका सञ्चालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको छ। डिपो सञ्चालक र चालकको मिलेमतोमा एक ट्रिप निर्माण सामग्रीबराबर १६ सयदेखि २२ सयसम्म ठगी गर्दै आएको पाइएको महाशाखाले जनाएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सामग्री ढुवानी गर्ने क्रममा मिनी ट्रकमा पाँच इन्चसम्म फलाम वा काठको बाकस राखेर परिमाण कम गराएको प्रहरीले जनाएको छ। निर्माण सामग्री खरिद गर्दै आएका सर्वसाधारणले व्यापक गुनासो गरेपछि प्रहरीले एक सातादेखि उपत्यकाका विभिन्न ठाउँमा जासुसी गर्दै आएको थियो। अनुसन्धानका क्रममा नयाँ बसपार्क, स्वयम्भू, चावहिल, सिनामंगल, महाराजगन्जलगायत क्षेत्रका अघिकांश डिपोले यसरी ठगी गर्दै आएको भेटिएको छ। सर्वसाधारण ठग्दै आएका ठिपोहरू दर्तासमेत नभएको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए। ‘२३ वटा डिपोले लामो समयदेखि ठगी गर्दै आइरहेका छन्,’ उनले भने, ‘उनीहरूलाई कसुरअनुसार कारबाही हुन्छ।’

उनका अनुसार अनुसन्धानका लागि केही चालकलाई समेत नियन्त्रणमा लिइएको छ। २३ वटा डिपोमा सामग्री बिक्रीवितरण गर्न नपाउनेगरी छापा हानिएको छ। अन्य ठाउँमा पनि यसरी नै धन्दा भइरहेको हुन सक्ने प्रहरी अनुमान छ। ‘अनुसन्धान गर्दै जाँदा एक ट्रिपमा १०० क्युफिट भनी जम्मा ८२.६३ क्युफिट मात्रै ढुवानी गरेको भेटियो,’ एसपी ढकालले भने, ‘यसबाट एक ट्रिपमा १६ सयदेखि २२ रुपैयाँसम्म ग्राहक मारमा परेका छन्, यो ठूलो ठगी धन्दा हो।’

पक्राउ पर्ने डिपो सञ्चालकमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, बज्र इन्टरप्राइजेज सप्लायर्सका वीरेन्द्र कुइँकेल, गरिमा सप्लायर्सका दीपेन्द्र केसी, जेबिएस सप्लायर्सका सुकबहादुर लामा छन्। त्यस्तै शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी, खाँडादेवी निर्माण सप्लायर्सका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

गोंगबुको धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, नोनेम सप्लायर्सका पुष्कर थापा र श्री भूमि सप्लायर्सका श्यामबहादुर मगरलाई पनि पक्राउ गरिएको छ। महाराजगन्जसिथत काली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, कुण्डला सप्लायर्सका मदन प्रधानलाई पनि पक्राउ गरिएको छ। सोही क्षेत्रकै आकर्षण सप्लायर्सका अर्जुन श्रेष्ठ पनि पक्राउ परेका छन्।

स्वयम्भूस्थित स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, गोरखाली सप्लायर्सका गोपाल भण्डारी, भ्याली क्वालिटी सप्लायर्सका जोगबहादुर तामाङ, नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ र विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङलाई पनि शुक्रबार बिहान पक्राउ गरिएको हो। प्रहरीले यसरी ठगी गरेको भेट्टाउनेबित्तिकै डिपो सञ्चालकलाई महाशाखामा ल्याएको थियो। यसबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७६ ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App