७ वैशाख २०८१ शुक्रबार
समाज

मुख्यमन्त्रीलाई पदीय गरिमा राखेर बोल्न सुझाव

पत्रकार सम्मेलनमा बोल्दै महागढीमाई नगरपालीका प्रमुख यादव लगायत। तस्बिरःनागरिक

बारा – महागढीमाई नगरपालिका बरियारपुरका प्रमुख उपेन्द्रप्रसाद यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पदको गरिमालाई ध्यानमा राखेर बोल्न सुझाव दिएका छन्। मुख्यमन्त्री र प्रदेशका मन्त्री जितेन्द्र सोनलले केही दिन पहिला महागढीमाई नगरपालिका १ बरियारमा रहेको गढीमाई मेलाको व्यवस्थापन तथा रेखदेख गर्ने अधिकार महागढीमाई नगरपालिकालाई नभएको र मेला हेर्ने अधिकार गढीमाई सञ्चालन तथा विकास समितिलाई मात्रै भएको भन्दै दिएको अभिव्यक्तिको विरोधमा बुधबार पत्रकार सम्मेलन गरी नगर प्रमुख यादवले मुख्यमन्त्री र प्रदेशमन्त्रीलाई स्थानीय तहको काम, कर्तव्य र अधिकारबारेमा पढेर बोल्न सुझाव दिएका हुन्।

स्थानीय स्वायत शासन नियवमाली २०७४ मा स्थानीय तहअन्तर्गत रहेको मठ, मन्दिर, धर्म, जात्रा, पर्व र संस्कृतिको संरक्षण तथा नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई दिए पनि प्रदेशका मुख्यमन्त्री रावत र मन्त्री सोनलले सार्वजनिक कार्यक्रममा स्थानीय तहले गर्ने कार्यको विरोध गरी पदीय मर्यादा गिराउने काम गरेको आरोप यादवको छ।

मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरूले संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले गर्ने कामका बारेमा अध्यय नै नगरी जथाभावी बोल्दै जनतामा भ्रम सिर्जना हुने अवस्थासमेत रहेको र यसले प्रदेश सरकारको छविलाई नै खराब बनाएको यादवले बताए। पञ्चवर्षिय गढीमाई मेलालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेशमन्त्री सोनलले भाँडभैलो गर्न खोजेको र यो कार्यलाई हिन्दु धर्मप्रति आस्था राख्ने श्रद्धालुले सहन नसकिने उनले बताए।

मुख्यमन्त्रीले कुनै देशी विदेशी शक्तिसँग परिचालन भई गढीमाई मेलालाई विवादित बनाएर मेलालाई समाप्त पार्न खोज्नु भएको र यस कार्यको नगरपालिकाले कानुनी दायरामा रहेर विरोध गर्ने यादवले बताए। एनजिओको साधारणसभामा आएर विधानको व्याख्या गर्ने तर एकपटक पनि संविधानबारे आवाज नउठाउनुले संविधानलाई मुख्यमन्त्री स्वीकार नगरेको जस्तो देखिएको आरोप यादवे लगाए। ‘मुख्यमन्त्रीज्यूलाई थाहा हुनु पर्ने हो कि गढीमाई सञ्चालन तथा विकास समिति ट्रष्ट नभई जिल्ला प्रशासनमा दर्ता भएको एउटा समिति मात्रै हो,’ यादवले भने, ‘समितिलाई मेला लगाउने, कर उठाउने, बाटोघाटोको निर्माण गर्ने जस्तो अधिकार संविधानको कुन धारामा उल्लेख गरिएको छ, मुख्य मन्त्रीले त्यो प्रष्ट पार्नु पर्छ।’ स्थानीय सरकारलाई काम गर्न नदिने, ऐन नियमको अधिनमा रहेको सिडिओ र एसपीले गढीमाई सञ्चालन तथा विकास समितिलाई सहयोग नगरे कारबाही गर्ने सार्वजनकि कार्यक्रममा बोल्नु पदीय मर्यादाविपरीत भएको यादवको भनाइ छ।

गढीमाईको मन्दिर रहेको वडा नम्बर १ को वडाध्यक्षको अध्यक्षतामा गढिमाई पञ्चवर्षीय मूल समिति गढिमाई नगरपालिकाले बनाएपछि गढीमाई सञ्चालन तथा विकास समितिका पदाधिकारीले मेला नगरपालिकाले नभएर समितिले लागाउन माग गर्दै आएको र समितिलाई प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले सहयोग गरेका छन्। मंसिर १ गतेदेखि एक महिना लाग्ने पन्चवर्षीय गढीमाई मेलामा ६० लाख श्रद्धालु आउने अनुमान गरिएको र मेलालाई व्यवस्थित गर्न महागढीमाई नगरपालिका दुई महिना पहिलादेखि नै सक्रिय बनेको बताइएको छ।

प्रकाशित: ३० आश्विन २०७६ ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App