८ वैशाख २०८१ शनिबार
समाज

अभावमै अस्पतालको सेवा राम्रो

बाँके– जनशक्ति निकै कम छ भने बिरामीको चाप बढ्दो। भौतिक पूर्वाधार अभावमा भएका उपकरण थन्किएका छन्। सहयोग तथा अनुदानका उपकरण राख्ने स्थान अभाव हुँदा सञ्चालनमै समस्या छ। वर्षात्मा पानी भरिएर तलाउ बन्छ। मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज यस्तै नियतिबाट अघि बढिरहेको छ।     
     
भूतपूर्व प्रहरी, अमर प्रहरी र बहालवाला प्रहरीका परिवारका सदस्य बिरामी भएमा निःशुल्क उपचार सेवा प्रदान गरिँदै आएको छ। कूल १५ श्ययाको अस्पतालमा यतिबेला बिरामीको चाप धेरै छ। चार डाक्टरको दरबन्दी रहेको अस्पतालमा दुई जनाले सेवा दिनुपरेको छ। दैनिक ६० बढी बिरामी उपचारका लागि पुग्ने गरेको क्षेत्रीय प्रहरी अस्पतालले जनाएको छ।     
     
अस्पतालमा कार्यरत प्रहरी निरीक्षक डाक्टर महादेव देउजाका अनुसार साउनयता बिरामीको भीड लाग्ने गरेको छ। नयाँ प्रहरी भर्ना र तालीमको समयमा अस्पतालमा बिरामीको चाप बढ्छ। भेरी अस्पतालमा कार्यरत कार्डियोलोजिष्ट डा. विपीन आचार्य र अर्थोपेडिक डा. प्रकाश थापामार्फत बिरामीलाई सेवा दिइरहेको प्रहरी अस्पतालका प्रहरी निरीक्षक डा. देउजाले जानकारी दिए।     
     
उनले भने, 'अस्पतालमा चारको दरबन्दीमा हाल दुई डाक्टरमात्रै कार्यरत छौँ, बिरामीको चाप बढेको छ। सेवालाई थप प्रभावकारी बनाउन भेरी अस्पतालबाट डाक्टर ल्याएर सेवा दिइरहेका छौँ।' गम्भीर प्रकृतिका बिरामीको यहाँ उपचार हुन नसके नेपालगञ्ज मेडिकल कलेजमा पठाउने गरी सम्झौता भएको प्रहरी निरीक्षक डा. देउजाले बताए।    

स्टाफ नर्समा दुईको दरबन्दी भएपनि प्रहरी नायब निरीक्षक रेखा भुसाल मात्रै कार्यरत छन्। दुई डाक्टरसहित एक स्टाफ नर्स, १५ सिएमए र एक ल्याब टेक्निसियन गरी १९ जनाले उपचार सेवालाई चुस्त बनाउनुपर्ने बाध्यता छ।     

अस्पताललाई प्रदेश मातहत राख्ने निर्णय भएसँगै प्रदेश सरकारले स्तरोन्नति गर्ने तयारी गरेको थियो। तर अस्पताललाई पुनःसङ्घ मातहत राख्ने निर्णय भएसँगै स्तरोन्नति रोकिएको डा देउजाले जानकारी दिए। स्तरोन्नति गरेर ५० श्यया बनाउने योजना खोजिएपनि सरकारले यस विषयमा चासो देखाएको छैन।

कमजोर संरचना, पूर्वाधार अभाव र सीमित स्रोत साधनका कारण विभिन्न सहयोग तथा अनुदानमा आएका एक करोड रुपैयाँको उपकरण प्रयोगविहीन अवस्थामा थन्किएका छन्। 'भवन अभावका कारण भएका उपकरण पनि सञ्चालनमा ल्याउन सकेका छैनौँ', उनले भने, 'उपकरणअनुसारका संरचना निर्माण गर्न सरकारले नै चासो देखाउनुपर्छ, नत्र सम्भव छैन।'    
     
अस्पताल सीमित स्रोत साधन र जनशक्तिमै पनि अब्बल सेवा दिइरहेको डा. देउजाको दाबी छ। 'अहिलेकै स्रोत साधन र जनशक्तिलाई अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन लागिपरेका छौँ', डा. देउजाले भने, 'यहाँ आउने बिरामी उपचार नपाएर वा लामो समय कुरेर बस्नुपर्ने अवस्था छैन। छिटो र प्रभावकारी उपचार सेवा कसरी दिन सकिन्छ भन्नेमा हामी संवेदनशील छौँ।'    
     
प्रहरी तालीम केन्द्रमा विभिन्न तहको तालीम हुँदा बिरामीको चाप बढ्ने गरेको छ। गत पाँच आर्थिक वर्षमा १८ हजार २२८ जनाले बहिरङ्ग सेवा लिएको अस्पतालको तथ्याङ्क छ। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/०७४ मा चार हजार २७७ ले उपचार सेवा लिएका छन्। सबैभन्दा कम आव २०७०/०७१ मा दुई हजार ४३७ जनाले सेवा लिएका छन्

त्यसैगरी अस्पतालको इमरजेन्सी वार्डबाट आव २०७०/०७१ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म १२ हजार २७२ जनाले उपचार गरेको तथ्याङ्क छ। अस्पतालले इमरजेन्सी र जनरल ओपिडी सेवासँगै डेण्टल, फिजियो थेरापी, हाड जोर्नी तथा नशारोग र मुटुरोगसम्बन्धी उपचार सेवा दिन्छ। विभिन्न समयमा स्वास्थ्य र रक्तदान शिविर चलाउने गरेको छ।   

हालैका दुई स्वास्थ्य शिविरबाट ६८४ जनाले उपचार सेवा लिएका थिए। अस्पतालले बर्दियामा कार्यरत प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी एवं परिवार तथा अमर प्रहरी परिवारलाई लक्षित गरेर शिविर आयोजना गरेको थियो भने बाँकेको नरैनापुरमा डेँगी रोगको निःशुल्क परीक्षण तथा सचेतना फैलाउन स्वास्थ्य शिविर आयोजना गरेको थियो। रासस

प्रकाशित: २८ आश्विन २०७६ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App