१६ चैत्र २०८० शुक्रबार
समाज

इस्ट टुरिज्म फेस्टिभल आयोजना गरिने

इलाम– पर्यटन वर्ष सन् २०२० को प्रवर्द्धनका लागि इलाम नगरपालिकाले ‘इस्ट टुरिज्म फेस्टिभल’ आयोजना गर्ने भएको छ। यस अवसरमा आउँदो चैत मसान्तदेखि वैशाख २ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिने नगरपालिकाले जनाएको छ। 

फेस्टिभल आयोजना गर्न उपप्रमुख सुशीला नेम्बाङको संयोजकत्वमा ५१ सदस्यीय इस्ट टुरिज्म फेस्टिभल २०२० आयोजक समिति गठन गरिएको छ। समितिमा जिल्लाका पर्यटनसम्बद्ध संघ–संस्था र व्यक्ति सदस्य छन्। नगरका सबै वडाको पर्यटन प्रवर्द्धनका लागि फेस्टिभलले सघाउने लक्ष्य राखिएको नगर प्रमुख महेश बस्नेतले बताए। ५१ सदस्यमध्येबाट १५ सदस्य रहेको सचिवालयसमेत गठन गरिने छ। ‘फेस्टिभलका लागि नगरले १० लाख रुपैयाँ विनियोजन गर्ने निर्णय भएको छ,’ सोमबारको कार्यपालिका बैठकले गरेका निर्णय सुनाउँदै उनले भने, ‘नेपाल पर्यटन बोर्डलगायत अन्य स्रोतबाट खर्च जुटाउने पहल गर्नेछौं।’

फेस्टिभलका कार्यक्रम के–के रहने र कहाँ–कहाँ सञ्चालन गर्नेलगायत विषय आयोजक समितिले टुंगो लगाउने पनि उनले बताए। ‘आयोजक समितिले केही समयपछि फेस्टिभलबारे विस्तृत जानकारी ल्याउने छ,’ मेयर बस्नेतले भने, ‘सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउँदै इलामको पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारले पहल गरेको हो।’ इलाम नगरपालिकाले नयाँ वर्ष (वैशाख १०) लाई यसअघि नै ‘साझा सांस्कृतिक पर्व’ घोषणा गरिसकेको छ। फेस्टिभललाई पनि सबैको साझा पर्वका रूपमा मनाउन त्यसै अवसरमा आयोजना गर्न लागिएको नगरले जनाएको छ। 

सोमबारको कार्यपालिका बैठकले संघ–संस्था दर्ता स्थानीय तहमै गर्ने, इलाम बजारमा निर्माणाधीन मोटरसाइकल पार्किङ भवनको माथिल्लो तल्ला भाडामा लगाउने, गोदक र बेलासेमा रहेका गोलिया निकासी कर संकलन केन्द्र हटाएर वडा–वडामै राख्नेलगायत निर्णय पनि गरेको छ। नगरले वडा ३ को पाटेनागी क्षेत्रलाई जडीबुटी र वन्यजन्तुको संरक्षणस्थल बनाउने उद्देश्यले अध्ययन समिति पनि गठन गरेको छ। वडा ३ का वडाध्यक्ष तीर्थ गुरुङको संयोजकत्वमा कार्यपालिका सदस्य पृथसिंह सुनुवार र नगरका एक अधिकृत सदस्य रहनेगरी समिति गठन गरिएको हो। ‘पाटेनागी उच्च लेकाली क्षेत्रको संवेदनशील जैविक विविधता संरक्षण गर्न नगरले अध्ययन गर्ने भएको छ,’ बस्नेतले भने, ‘अध्ययनको प्रतिवेदन आएपनि संरक्षणका कार्यक्रम तय गरिने छ।’

प्रकाशित: २७ आश्विन २०७६ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App