८ वैशाख २०८१ शनिबार
समाज

‘नेपालको विकासमा चीन साझेदार’

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक विकासमा चीन सरकार साझेदार बन्ने बताएका छन्।नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आएका सीले साँझ उनको सम्मानमा होटल सोल्टीमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।उनी नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा काठमाडौं आएका हुन्।

रात्रिभोजलाई सम्बोधन गर्दै सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने, रसुवागढी छहरेदेखि काठमाडौंसम्म सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नतिमा सहयोग गर्ने प्रतिबद्धता जनाए।सीले नेपाललाई ल्यान्डलक्डबाट ल्यान्डलिंक्डमा रूपान्तरण हुन चीनले सघाउने पनि बताए।उनले भूकम्पपछिको पुनर्निर्माणका लागि चीनको सहयोगमा अघि बढेका परियोजनालाई पनि द्रुत गतिमा पूरा गर्ने प्रतिबद्धता जनाए।

चीनले तीन वर्षभित्र करिब ५६ अर्ब रुपैयाँ सहयाेग गर्ने। नेपाललाई ल्याण्डलक्डबाट ल्याण्डलिंक्ड हुन चीनले सघाउने।

 

‘आशा छ, दुई देशबीच सुविधाजनक कनेक्टिभिटी सञ्जाल निर्माण हुनेछ।चीन र नेपालबीच कुनै समस्या नभएको मित्रता मात्र छ, जसले गर्दा चीन नेपालको विकासमा साझेदारी हुन चाहन्छ,’ उनले भने, ‘दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।’ राष्ट्रपति सीले नेपालमा आफ्नो पहिलो भ्रमण भएको उल्लेख गर्दै चीन–नेपाल औपचारिक सम्बन्ध स्थापना भएको आधा शताब्दीमा दुई देशबीच कुनै समस्या नभएको र मित्रता मात्रै भएको स्पष्ट पारे।उनले नेपाल आउँदा पुराना तथा नयाँ साथीसँग भेट भएको बताए।

दुई देशबीच सुविधाजनक कनेक्टीभिटी सञ्जाल निर्माण हुनेछ। चीन र नेपालका बीचमा कुनै समस्या छैन, मित्रता छ, जसले गर्दा चीन नेपालको विकासमा साझेदारी हुन चाहन्छ। -सी चिनफिङ

उनले नेपाल भ्रमण वर्ष २०२० मा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने प्रतिबद्धता जनाए। सीले राष्ट्रपति भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएको जानकारी पनि गराए।उनले जलवायुबारे नेपालको चासोको समर्थन गर्ने र हिमालय क्षेत्रको रक्षामा सहयोग गर्नेसमेत बताए।सीले आफू शरद ऋतुमा नेपाल आएको, यहाँ हजारौं फूल फुलेको र नेपालको राजनीतिक स्थायित्व र सामाजिक सद्भाव देख्दा खुसी लागेको बताए।नेपालका बढीभन्दा बढी सहरलाई चिनियाँ सहरहरूसँग भगिनी सम्बन्ध स्थापित गर्न चाहेको उल्लेख गरे।उनले लुम्बिनी बुद्धको जन्मस्थल भएकाले चीनमा बौद्ध धर्म मान्नेहरूको संख्या बढी नै भएको र सोे स्थानीयको धर्मसमेत बनेको बताए।

राष्ट्रपति भण्डारीले पनि रात्रिभोजलाई सम्बोधन गर्दै नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताइन्।उनले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गरिन्।उनले नेपालमा चिनियाँ लगानीका लागि सीसमक्ष आग्रह गरिन्।राष्ट्रपति भण्डारीले एक चीन नीतिप्रति नेपाल प्रतिबद्धता रहेको स्पष्ट पारिन्।‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, नेपालको भूमि चीनको हितविपरीत प्रयोग हुन दिँदैनौं,’ उनले भनिन्।नेपाली जनताले छनोट गरेको विकासको पथलाई चीनले समर्थन गर्दै आएको जनाउँदै राष्ट्रपति भण्डारीले सीमावारपार कनेक्टिभिटीको पूर्वाधारमा जोड दिँदै आएको बताइन्।

उनले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन चाहेको बताउँदै नेपालको विकासमा चीनको साझेदारी आवश्यक रहेको स्पष्ट पार्दै चिनियाँ पक्षलाई पूर्वाधार र जलस्रोतलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरिन्।चिनियाँ लगानीको पूर्ण सुरक्षा नेपाल सरकारले लिनेसमेत उनले स्पष्ट पारिन्।उनले आगामी वर्ष हुने सगरमाथा डाइलगमा चीन सरकारको तर्फबाट उच्च तहको सहभागिताको अपेक्षा गरेको समेत जानकारी गराइन् ।

८ बजे देउवासँग भेट
चिनियाँ राष्ट्रपति सीले नेपालका समकक्षी राष्ट्रपति भण्डारीसँग भेट गरेलगतै होटल सोल्टीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई भेटेका थिए।सीसँगको भेटमा देउवाले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको स्मरण गर्दै आफ्नो दल नेपाली कांग्रेससँग चीनको सम्बन्धबारे पनि कुरा गरेका थिए।पार्टीका संस्थापक नेता बिपी कोइरालाको बेलादेखि नै चीनसँग नेपाली कांग्रेसको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै देउवाले नेपालको आर्थिक विकास र समृद्धिमा चीनको सहयोग अझै बढी अपेक्षा गरिएको बताएका थिए।

नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन्। नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, नेपालको भूमि चीनको हितविपरित प्रयोग हुन दिन्दैनौं। -विद्यादेवि भण्डारी

नेपालमा राजनीतिक संक्रमण अन्त्य भएकाले आर्थिक विकासमा चीनको साथ र सहयोगको अपेक्षा गरिएको देउवाको भनाइ थियो।देउवाले नेपाल र नेपाली कांग्रेस एक चीन नीतिमा प्रतिबद्ध रहेको जानकारी पनि सीलाई गराए।नेपालको भूमिबाट छिमेकी चीनविरुद्ध कुनै पनि खालका गतिविधि हुन नदिने प्रतिबद्धता पनि देउवाले जनाएका थिए।

जवाफमा राष्ट्रपति सीले चीन नेपालको विकासमा साझेदार रहन तयार भएको बताए।देउवाका स्वकीय सचिव भानु देउवाले दुई नेताबीचको भेटमा नेपालको आर्थिक विकास र सहयोग विषयमा कुराकानी भएको जानकारी दिए।

६ः४५ मा राष्ट्रपति निवासमा भेटघाट
विमानस्थलबाट सोल्टी होटल पुगेर केहीबेर आराम गरेका सी राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका थिए।राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार ६ः४५ बजेदेखि राष्ट्रपति भण्डारी र सीबीच करिब ४० मिनेट भेटवार्ता भएको थियो।त्यस अवसरमा दुईपक्षीय हितका विषयमा कुराकानी भयो।भेटवार्ताका क्रममा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा सहयोगी साझेदार बन्न चीन तयार रहेको बताएका थिए।

नेपालका तर्फबाट राष्ट्रपति भण्डारीले नेपालको विकास र समृद्धिमा चीनको साथ आवश्यक रहेको धारणा राखेपछि चिनियाँ राष्ट्रपति सीले नेपालको विकास साझेदार बन्ने वचन दिएका थिए।राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नेपाल र चीनबीच रहेको ऐतिहासिक सम्बन्धलाई अझै उचाइमा पु¥याउन द्विपक्षीय उच्चस्तरी भ्रमण आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो।‘दुवै देशका राष्ट्रपतिबीच आपसी हितका विषयमा कुराकानी भयो।चीन नेपालको विकासमा सहयोगी साझेदार बन्न तत्पर रहेको चिनियाँ राष्ट्रपति सीले बताउनुभयो,’ भण्डारीका स्वकीय सचिव अधिकारीले भने।

राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको, चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने र चीनले गरेको प्रगतिबाट नेपालले सिक्न चाहेको बताएकी थिइन्।शीतलनिवास स्रोतका अनुसार केरुङ–काठमाडौं रेलमार्गको विषयमा पनि कुराकानी भयो।त्यसैगरी नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउने विषयमा पनि कुराकानी भयो।रेलमार्गको विषयमा चिनियाँ राष्ट्रपतिले सीले सकारात्मक प्रतिक्रिया दिएको स्रोतको दाबी छ।सीले ट्रान्सहिमालयन कनेक्टिभिटीले दुवै देशबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका थिए।उनले नेपालको विकासमा चीनले करिब ५६ अर्ब रूपैयाँ दिने बताएका थिए।यो सहयोग तीन वर्षभित्र उपलब्ध गराइनेछ।

भेटवार्तापछि राष्ट्रपति कार्यालय शीतल निवासले जारी गरेको विज्ञप्तिमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको उल्लेख छ।दुवै देशबीचको सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा विस्तृत कुरा भएको विज्ञप्तिमा उल्लेख छ।सो भेटमा रक्षा, परराष्ट्र, गृह, महिला, खानेपानीमन्त्री पनि सहभागी थिए।

४ः४७ मा विमानस्थलमा अवतरण
राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी थिइन्।सी विमानबाट अवतरण गरेलगत्तै उनलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी थिइन्।चिनियाँ राष्ट्रपति सी शनिबार भारतको चेन्नईबाट काठमाडौं आएका हुन्।एयर चाइनाको विशेष विमानमा उनी आएका थिए।उनलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, मन्त्रीहरू र संवैधानिक निकायका पदाधिकारी विमानस्थल पुगेका थिए।विमानस्थलमा राष्ट्रपति सीको भव्य स्वागत गरिएको थियो।

नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारी पनि राष्ट्रपति सीको स्वागतमा विमानस्थल पुगेका थिए।नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो।विमानस्थलमा नेपाली सेनाले सीलाई गार्ड अफ अनर प्रदान गरेको थियो।पञ्चकन्याले फूलका गुच्छाले उनको स्वागत गरेका थिए।

राष्ट्रपति सी सवार विमान शनिबार अपराह्न ४ः४७ बजे विमानस्थलमा ल्यान्ड भएको थियो।त्यसअघि चिनियाँ सुरक्षाकर्मी सवार विमान ४ः१० मा विमानस्थलमा ल्यान्डभएको थियो।सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले ५ बजेर १२ मिनेटमा स्वागत गरेकी थिइन्।विमानस्थलबाट राष्ट्रपति सी सिधै होटल सोल्टी गएका थिए।

सीको सुरक्षाका लागि नेपाली सेनाले नेतृत्व गरिरहेको छ।चिनियाँ राष्ट्रपति सीको भ्रमणदलमा विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी सहभागी छन्।त्यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं विदेश मामिला आयोगका डाइरेक्टर, पूर्वविदेशमन्त्री याङ जेइची, चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका मिनिस्टर इन्चार्ज हे लिफेङ पनि भ्रमण दलमा छन्।

रात्रिभोजमा २ सय ५ जना सहभागी
राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीको सम्मानमा रात्रिभोज आयोजना गरेकी थिइन्।भोजका लागि २ सय ५ जनालाई निमन्त्रणा गरिएको थियो।साँझ साढे ७ बजे होटल सोल्टीमा आयोजित रात्रिभोजमा आमन्त्रितका लागि मात्र आवश्यक सिट व्यवस्थापन गरिएको थियो।भोजमा उपराष्ट्रपति, उपसभामुख, मन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलका नेता, संवैधानिक अंगका प्रमुखहरू, मुख्य सचिव, प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरू, नेकपा सचिवालय तहका नेतासहित केही सञ्चारकर्मीलाई आमन्त्रण गरिएको थियो।

प्रकाशित: २६ आश्विन २०७६ ०१:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App