२७ श्रावण २०७७ मंगलबार
समाज

ताकम बिजुलीको पहुँचमा

म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । यसबाट साविकको ताकम गाविसको ३, ४ र ५ नम्बर वडाका २०० घरपरिवार लाभान्वित भएका छन् ।

हिलापोखरी, शिवाङ, मच्छिम, काफलडाँडा र आरखोलाको थप करीब ४०० घरमा बिजुली बाल्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष प्रगति कार्कीले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र र धौलागिरि गाउँपालिकाको सहयोगमा विद्युतीकरण भएको हो ।

यसअघि धारापानीमा २०१ घरमा गत वर्ष गाउँपालिकामै पहिलोपटक विद्युतीकरण भएको थियो । केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको स्थानीय गोपाल आचार्यले बताए।

“मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ”, आचार्यले भने, “खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् ।” फर्निचर, ब्लक, राइसमील, मासु पसल सञ्चालन हुन थालेको छ । यसअघि उज्यालोका लागि स्थानीयवासीले सोलार र मट्टितेलको टुकी प्रयोग गर्दै आएका थिए ।

विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने, ट्रान्सफर्मर जडान, ढुवानी गरेको थियो । गाउँपालिकाबाट गत आर्थिक वर्षमा विनियोजन भएको रु ८० लाखमध्ये ५७ लाख खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरीद गरेका थिए ।

प्राधिकरणका इञ्जिनीयर हेमराज चापागाईंले ताकमका साथै मुना हँुदै लमसुङ र मुदी गाउँ नजिकैसम्म केन्द्रीय लाइनको पोल गाडेर तार तानिएको जानकारी दिए । धवलागिरी गाउँपालिकाकाकै मराङको १०० घरमा पनि विद्युतीकरणको तयारी भएको वडाध्यक्ष राजाराम शर्माले बताए ।

प्रकाशित: २२ आश्विन २०७६ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App