१६ चैत्र २०८० शुक्रबार
समाज

जनकपुरधाममा रावण बध र लङ्कादहन सम्पन्न

धनुषा – प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गरेका हुन्। विजयदशमीको अन्तिम दिन मङ्गलबार साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध कार्यक्रमको आयोजना गरिएको हो। १४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरमा रावण बध कार्यक्रम हुँदै आएको छ।

स्थानीय महावीर युवा कमिटीको पहलमा पछिल्लो छ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ भने यस वर्ष पहिलोपटक लङ्कादहन गरिएको हो। विगत वर्षझैँ यस वर्ष पनि जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतिमा निर्माण गरी विभिन्न खाले फटकासहितको सामग्रीमा आगो लगाई दहन गरिएको छ। प्रतिकात्मकरुपमा तयार पारिएका मानवरुपी भगवान् रामले रावण बध र हनुमानले लङ्कादहन गरेका थिए।

रावण बध कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले भगवान् रामको जीवन सङ्घर्षका साथ अगाडि बढेको स्मरण गराउँदै सङ्घर्षपछिको फल मिठो हुने गरेको बताए। रावण स्वयं विद्वान् रहे पनि सीता हरणका कारण भगवान् रामले बध गर्नुपरेको प्रमुख साहले बताए। भारतमा सीमित रहेको यो कार्यक्रम विगत छ वर्षदेखि जनकपुरमा समेत हुँदै आएको छ। गङ्गासागर र धनुषसागर पोखरीको बीचमा हुने रावण बध कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको थियो। यस अवसरमा नागरिक समाज, बुद्धिजीवी, युवा क्लबका प्रतिनिधिसहित उल्लेख्य सङ्ख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।रासस

प्रकाशित: २२ आश्विन २०७६ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App