१६ चैत्र २०८० शुक्रबार
समाज

घाइते आचार्यलाई आर्थिक सहयोग

खोटाङ – एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यलाई आफन्तले चन्दा उठाएर आर्थिक सहयोग गरेका छन्।

बिरामी आफन्तलाई अस्पताल लैजाने क्रममा गत असोज २ गते राति सप्तरीको कञ्चनपुर वेरियरमा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका आचार्यलाई स्थानीय युवानेता गोपालचन्द्र आचार्य र पत्रकार हरिबोल आचार्यको पहलमा संकलन भएको २ लाख ७२ हजार रुपैयाँ रकम प्रदान गरिएको हो। हालसम्म गम्भीर अवस्थामा रहेका घाइते आचार्यको उपचारका लागि आर्थिक समस्या भएपछि आफन्त तथा छरछिमेकबाट सहयोग जुटाइएको हो।

संकलित रकम बिहीबार देवीप्रसाद आचार्य र मोहनप्रसाद आचार्यले संयुक्त रूपमा घाइतेकी आमा चन्द्रकला आचार्य र श्रीमती जानुका आचार्यलाई हस्तान्तरण गरेका छन्।

विराटनगरको गोल्डेन अस्पतालमा लगिएका आचार्यको उपचारमा परिवारलाई आर्थिक समस्या भएको जानकारी प्राप्त भएपछि गत साउन १० गते पञ्च मावि दिक्तेलका शिक्षक÷शिक्षिकाले १ लाख २५ रुपैयाँ सहयोग गरेका थिए। जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा युवराज आफैं गम्भीर घाइते भएका हुन्।

रोकेर राखेको ट्रिपरलाई ठक्कर दिँदा एम्बुलेन्स समेत क्षतिग्रस्त बनेको थियो। आफन्तलाई बचाउन अस्पताल लैजाँदै गर्दा दुर्घटनामा परी आफैं चिन्ताजनक अवस्थामा पुगेका आचार्यको उपचारमा आर्थिक समस्या भएको जानकारी भएपछि विद्यालयले चन्दा उठाएर सहयोग गरेको जनाएको छ।

आचार्यको भदौ ३ गते बेलुका टाउकोको सफल अप्रेसन गरिए पनि अवस्था चिन्ताजनक रहेको उनका भाई इन्द्रप्रसाद आचार्यले बताए। उनको होस अझै खुल्न सकेको छैन। दिक्तेलबजारस्थित सरस्वती माविमा कार्यालय सहयोगीका रूपमा कार्यरत आचार्यको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन्।

दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका एम्बुलेन्स चालक गोविन्द ढुंगाना पनि घाइते भएका थिए। अस्पताल जान हेलिकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनुपर्ने समस्या अन्त्याको प्रयासस्वरूप खोटाङ सेवा समाज युकेले २०७३ चैत २६ गते खोटाङलाई एकैसाथ सातवटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो। त्यसमध्ये निर्मलीडाँडाका लागि उपलब्ध गराइएको एम्बुलेन्स दुर्घटनामा परेको हो।

प्रकाशित: १७ आश्विन २०७६ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App