७ वैशाख २०८१ शुक्रबार
समाज

गोरखा दरबारमा जमरा राखियो

गोरखा- गोरखाको प्रशिद्ध धार्मिकस्थल मनकामना र गोरखा दरबारमा घटस्थापनाको दिन (आज) आईतबार धार्मिकविधि पूर्वक बिहान १० बजेर ३५ मिनेटमा जमरा राखिएको छ। गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलका अनुसार कालिका भगवती र गोरखनाथ मन्दिरमा एक/एक पाथी जौ को जमरा राखिएको हो। यसरी राखिएको जमरा टिकाको दिन कर्मचारी र आसपासका स्थानीय दरवारमा भेला भएर कालिका भगवतीलाई टिका, जमरा लगाएपछि मात्रै घर गएर टिका लगाउने प्रचलन छ।

‘घटस्थापनाको दिनदेखि दशैँ विषेश पूजा सुरु हुन्छ’ सूचना अधिकारी कट्टेलले भने ‘सरसफाई गर्ने, नियमित पूजा गर्ने, बजा बजाउने र बली दिन सुरु गरिएको छ।’ गोरखा दरवारमा महाअष्टमी र महानवमीको दिन मुख्य बली दिने चलन छ। ३२ वटा बोका, सतार सहित १५ वटा राँगा, १२ वटा भेडा, १३ वटा कुखुरा र भैरवलाई पाँच वटा सुँगुरको बली चढाईन्छ। घटस्थापनादेखि पूर्णिमा सम्मको अवधीमा यी बली दिईन्छ। ‘पूर्णिमासम्म क्रमैसँग बली दिईन्छ’ पुजारी प्रदिपनाथ योगीले भने। यसरी दिईएको बली प्रसादको रुपमा प्रयोग गरिन्छ।  एकादशीको दिन बाहेक बली दिने परम्परा छ। 

केहीवर्ष अघि भने सतार सहित ८५ राँगा र एक सय ४० वटा बोका काटिन्थ्यो। ‘केही वर्ष यता बली घटेको छ’ पुजारी योगीले भने ‘अहिले बैकल्पिक बलीको ब्यवस्था गरेर भएकैले पुर्‍याउने गरिएको छ।’ देशमा शान्ति, अमनचयन कायम होस्, मानिसहरुले सत्कर्म गरुन भन्ने धेयले राजाको पालादेखि चलिआएको परम्परा पुजापाठ भने पुरानै तरिकाले हुने पुजारीहरु बताउँछन्। दरवार हेरचाह अड्डाले नियमित पुजा चलाउन बजेट अभावले समस्या भएको जनाएको छ। साउन १ देखि आउँदो आर्थिक वर्ष सम्मका लागि चालु वर्ष १५ लाख मात्रै बजेट भएकाले नियमित पूजामा समस्या भएको सूचना अधिकारी कट्टेलले बताए। मनकामना मन्दिरमा पनि साईत अनुसार जमरा राखिएको छ। मनकामना भगवतीलाई नियमति बली दिने र घटस्थापनाको दिन राखिएको जमरा टिकाको दिन भक्तजन सहितलाई लगाईदिने प्रचलन छ। 

दरबार हेरचाह अड्डामा पहिले ५० भन्दाबढी कर्मचारी थिए। अहिले २८ जना मात्रै छन्। रिक्त दरबन्दी पदपुर्ती नभएको, जागिरबाट अवकास पाएकाहरुको ठाउँमा नयाँ भर्ना नगरिएका कारण कर्मचारी घटेको हो। दशैँभरी विहानैदेखि विषेश पूजा हुने भएकाले भक्तजनको भिड लाग्ने गर्छ। अहिले गोरखा दरवार पुननिर्माणको क्रममा रहेकाले पूजापाठ गर्न समस्या भएको छ। चार करोड ३७ लाखमा २०७४ कात्तिकमा दुई वर्ष भित्र सिध्याउने गरी ठेक्का लगाइएको दरबार पुननिर्माणको काम सुस्त छ। सिध्याउनुपर्ने समय दुई महिना बाँकी रहँदा पहिलो तल्लाको मुल ढोका र झ्याल राख्ने काम मात्रै भएको छ। निर्माण जिम्मा लिएको पचली सिभाको जेभी कन्ट्रक्सन्ले काम ढिलो गरेको दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए।

प्रकाशित: १२ आश्विन २०७६ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App