६ वैशाख २०८१ बिहीबार
समाज

श्याम परदेशी पुर्पक्षका लागि कारागार चलान

सर्लाही- ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ आराेपी श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवार पुर्पक्षका लागि कारागार चलान भएका छन्।

सर्लाही अदालत मलंगवाका १ नम्बर न्यायाधिश कृष्णराम काेईरालाकाे ईजलासले शुक्रबार साँझ कलवारलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएकाे हाे। कलवारलाई राैतहट कारागार चलान गर्ने आदेश भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठाैरले जानकारी दिए। प्रहरीले विहिबार कलवार विरुद्द ठगी, अपराधिक लाभलगायत मुद्दा दर्ता गरेकाे थियाे।

अभियुक्त कलवारलाई विहानदेखि न्यायधिश काेईरालाले बयान लिएकाे र दिउँसाे ३ बजेपछि झण्डै ३ घण्टा थुनछेककाे बहस भएकाे थियाे। सरकारकाे तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका युवराज शर्माले तथा अभियुक्त कलवारकाे पक्षबाट दिलिप झा, रुपेश मण्डल र विजय पंजियारले बहस गरेका थिए।

भोली शनिबार सार्वजनिक बिदा परेको र आईतबारबाट अदालतमा दशैं विदा सूरु हुने भएकाले कार्यालय समय सकियपनि साँझ अबेरसम्म बहस चलेकाे थियाे। जिल्ला प्रहरी कार्यालयको टोलीले कलवारलाई गत भदौ १५ गते साँझ मलंगवाबाट पक्राउ गरेको थियो। लालबन्दी नगरपालिका–४ निवासी रुकमिणी चौधरीले दिएको जाहेरीको आधारमा प्रहरीले कलवारलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही प्रकृया अगाडि बढाएको थियाे।

प्रहरीका अनुसार साँढेचार लाख रुपैंया ऋण लिएको र ब्याज सहित पटक पटक गरेर नौलाख रुपैंया तिरिसक्दा समेत अझै १५ लाखको कागज रहेको भन्दै साहले आफू र श्रीमानलाई मुद्दा हाल्ने धम्की दिएको चौधरीको जाहेरीमा उल्लेख छ।

चर्को (मिटर) ब्याज लिएर ऋण लगानी गर्दै ठगी गरेको आरोपमा पक्राउ परेका ५६ वर्षीय साह विरुद्ध सम्पति शुद्धिकरणमा समेत अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ । सम्पति शुद्धिकरण विभागले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई त्यस सम्बन्धी अनुसन्धान गर्न पत्र नै पठाएको थियो।

मिटर ब्याजी (सुदखोर) को रुपमा चर्चा कमाएका साहविरुद्ध केही दिनअघि ऋणपीडितहरुले काठमाडौंमै निरन्तर दबाबमूलक प्रदर्शन गरेका थिए। एक पटक लिएको ऋणको ५ वटासम्म छुट्टाछुट्टै तमसुक बनाएर ५ गुणा बढी ऋण देखाउने गरेको पीडितहरुको आरोप छ।

ल्याप्चे हानिएको तमसुक नै भएपछि प्रदेशी कानूनी रुपमा बलियो रहेको र अदालतबाट धमाधम मुद्दा जितिरहेको र ऋणीहरु भने धमाधम जेल जान बाध्य भईरहेका थिए। महिला त्यसमाथि निरक्षर ऋणीलाई चार पाँचवटा कागजमा सहीछाप गराउने गरेको पीडितहरुले आरोप लगाउँदै आएका छन्।

प्रदेशीले कतिपय ऋणीलाई मिनाहाका लागि यौन आशयको प्रस्ताव समेत गर्ने गरेको पीडितहरुले खुलेआम आरोप लगाउँदै आएका छन्। प्रदेशीले २ सय ९९ जना ऋणी विरुद्ध अदालतमा मुद्दा दिएको र त्यसमध्ये कतिपय ऋणी जेल गईसकेका छन् भने कतिपयको नाममा पक्राउ पूर्जी जारी भएको छ। पक्राउ पूर्जी जारी भएका प्रदेशीका दर्जनौं ऋणीहरु लुकेर बस्न बाध्य छन्।

केही वर्षअघि आफ्नै घरमा काम गर्ने एक बालिकालाई जवर्जस्ती करणी गरेको आरोप समेत लाग्यो प्रदेशीमाथी। तर पीडित परिवारलाई आर्थिक प्रलोभनमा पारेर अदालतको बयानमा बालिकालाई ‘होस्टाईल’ (बयान फेर्ने) गराईएपछि साह थुनामुक्त भएको प्रहरी स्रोतले जनायो।

यता प्रदेशीले भने आफू विरुद्ध ऋण तिर्न नचाहनेहरुको भिड संगठित भई लागेको बताउँदै आएका छन्। ऋणीहरुलाई ऋण लिए भन्दा बढाएर ४–५ वटा कागजमा सहीछाप नगराउने गरेको समेत उनले दाबी गर्दै आएका छन्।

प्रकाशित: १० आश्विन २०७६ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App