१६ चैत्र २०८० शुक्रबार
समाज

खेलमैदान बनाउन प्रदेश सरकारसमक्ष माग

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका स्थानीयले खेलमैदान निर्माणका लागि प्रदेश सरकारसमक्ष माग गरेका छन् । प्रदेशसभा सांसद रामकुमार राई र जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङको अगुवाइमा गएको टोलीले बिहीबार मुख्यमन्त्री शेरधन राईलाई भेटेर लफ्याङको छिवामा निर्माणाधीन खेलमैदान निर्माणको बाँकी काम पूरा गर्नका लागि सहयोगको माग राखेका हुन् । अघिल्लो दिन सामाजिक विकास मन्त्री जीवन घिमिरेसमक्ष सहयोगको प्रस्ताव पेश गरेको टोलीले दोस्रो दिन मुख्यमन्त्रीसमक्ष सहयोगको याचना गरेका हुन् ।

१२० मिटर लम्बाइ र ८० मिटर चौडाइ हुने मझुवागढी रणजितमानराई खेलमैदानको बाँकी काम पूरा गर्नका आर्थिक अभाव भएकाले प्रदेश सरकारलाई गुहार्न विराटनगर पुगेको लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए । लफ्याङमा दर्शक बस्ने स्टेडियमसहितको खेलमैदान बनाउनका लागि हाल डिपिआरको काम भइरहेको छ । आरसिसी कन्सल्ट प्रालिले तीन महिनामा पूरा गर्नेगरी खेलमैदानको डिपिआरको काम थालेको वडाध्यक्ष राईले बताए ।

स्थानीयले १८ रोपनीभन्दा बढी जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण सुरु गरिएको हो । वडा कार्यालयको १२ लाख ७० हजारको खर्चमा गत जेठ ७ गते शिलान्याश गरिएको खेलमैदानको अधिकांश भाग सम्याउने काम सम्पन्न भइसकेको छ । खेलमैदानमा करिब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युत्को व्यवस्था, बस, कार तथा मोटरसाइकल पार्किङस्थल, गेष्ट रुम, चेन्जिङ रुम, वेटिङ रुमसहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारालगायतको संरचना निर्माण गर्नेगरी डिपिआरको काम थालिएको वडाध्यक्ष राईले बताए ।

खेलमैदान निर्माणको बाँकी काम पूरा गर्नका लागि स्थानीय अगुवा राजेन्द्र राईको अध्यक्षतामा ७ सदस्यीय आर्थिक संकलन सहयोग समिति गठन गरेर काम अघि बढाइसकिएको छ । वडा कार्यालयको आग्रहमा स्थानीय जग्गादाता पञ्चशेर राईले ९ रोपनी, सर्वजित राईले ५ रोपनी र हर्कराज राईले ३ रोपनी जग्गा वडाको नाममा निःशुल्क पास गरिदिएपछि खेलमैदान निर्माण सुरु गरिएको हो । यस्तै, बालाचन्द्र राईले पनि ७ रोपनी जग्गा प्रदान गरेका छन् । खेल मैदानका लागि वडाकै विभिन्न स्थानमा निःशुल्क जग्गा जुटाउनेक्रममा छिवाका स्थानीय जग्गा दिन तयार भएपछि मकैको बिरुवा हुर्कंदै गरेको बारीमा खेलमैदान निर्माण सुरु गरिएको थियो । दिक्तेल–खोटाङबजार सडक खण्डमा पर्ने भएकाले खोलमैदानबाट साकेला गाउँपालिकाका खेलाडीसमेत लाभान्वित हुने निर्माण उपभोक्ता समितिले दावी गरेको छ ।
निःशुल्क जग्गा उपलब्ध गराएकामा जग्गादाताकै बाजे रणजितमानको नामबाट खेलमैदानको नामकरण गरिएको हो ।

प्रकाशित: १० आश्विन २०७६ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App