coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चाडबाड नजिकिँदा चोरी–लुटपाट बढ्दो

इलाम– दसैं, तिहारलगायतका चाडबाड नजिकिँदै जाँदा सदरमुकामका विभिन्न स्थानमा चोरी र लुटपाटका घटना थपिँदैछन्। रातको समयमा चोरी र सार्वजनिक सम्पती क्षति गर्ने व्यक्ति सक्रिय भएका छन्। 

बुधबार राति सदरमुकामको आदर्श बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोरेर नगद चोरी भएको छ। इलाम बजारको मालापथबाट कुलधारा जाने सडकमा भर्खरै बनेको भवनको ढोका फोरेर नगद साढे ३ लाख रुपैयाँ चोरी भएको संस्था अध्यक्ष महेश श्रेष्ठले बताए। ‘अनुहारमा कपडा बाँधेर क्यामेरामा नचिनिनेगरी आएको व्यक्तिले चोरी गरेको सिसी टिभीको फुटेजमा देखिन्छ,’ उनले भने, ‘बुधबार राति करिब १ बजेतिर यो घटना भएको हुनसक्छ।’ कसले सहकारीको नगद चोरी ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मंगलबार र बुधबार राति सदरमुकामकै कुलधारास्थित मेची राजमार्गको छेउमा गाढिएका सोलार डोनिएटर पोस्ट (खम्बामा राखिने ट्राफिक बत्ती) हराएका छन्। केही बत्ती फुटाइएकोस्थानीय प्रवीण घिमिरेले बताए। ‘अघिल्लो दिन राखिएका बत्तीसहित धातुका पोल राति नै हराएछन्,’ उनले भने, ‘अरू बत्ती पनि खम्बा हल्लाएर चोरी गर्न तयार पारेजसरी छाडिएको छ।’ उनले सार्वजनिक सम्पत्तिमा क्षति गर्नेमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरे। करिब साताअघि इलाम बजारमै डिँडिरहेकी महिलाले लगाएको सिक्री अज्ञात व्यक्तिले लुटेर लगेको थियो। मोटरसाइकलमा आएको व्यक्तिले महिलाको घाँटीमा लगाएको सिक्री थुतेर भागेको पीडितले बताइकी थिइन्। 

सदरमुकाममा पर्ने मेची राजमार्ग र इलाम बजारमा चोरी–लुटपाटका घटना भएपछि स्थानीय त्रसित छन्। केही महिनाअघि इलाम बजारकै भानुपथका दुई पसल चोरी भएका थिए। त्यसको साता दिनअघि साविक महिला विकास कार्यालयकी प्रमुख स्किम श्रेष्ठको कोठा फोरेर ल्यापटप र अन्य सामान चोरी भएको थियो। तर, अधिकतर घटनामा संलग्न व्यक्ति पक्राउ पर्न सकेका छैनन्। 

सदरमुकाममा भइरहेका चोरी र लुटपाटका घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले चाडबाडलक्षित सुरक्षा योजनासमेत लागू गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले राजमार्ग र वित्तीय संस्थालाई प्राथमिकता दिएर सुरक्षा योजना ल्याएको बताए। ‘चाडबाडका बेला फटाइँ गर्नेहरू सक्रिय हुन्छन्,’ डिएसपी क्षेत्रीले भने, ‘तर, हामीले चाडबाडलक्षित सुरक्षा योजना ल्याएका छौं। ठाउँ–ठाउँमा प्रहरी टोली सक्रिय बनाएका छौं।’ वित्तीय संस्थाका ३० कर्मचारीलाई प्रहरीले चाडबाडका बेला हुनसक्ने घटनाबाट सतर्क रहनेबारे एकदिने सुरक्षा कक्षा पनि सञ्चालन गरेको छ। 

उनले मनोरञ्जनस्थल, व्यावसायिक काम गर्ने स्थानलगायतको सुरक्षा व्यवस्था पनि कडा बनाइएको बताए। ‘जुवा, तास, चिठ्ठा उडाउनेलगायत प्रतिबन्धित खेलमा विशेष निगरानी गरिनेछ,’ उनले भने, ‘अत्यावश्यक उपभोग्य वस्तुको मूल्य र सवारी साधनको भाडा बढाउनेलाई पनि कानुनी दायरामा ल्याइनेछ।’ यात्रुहरूको सहजताका लागि फिक्कल र सदरमुकामको बसपार्कमा यात्रु सहायता कक्ष राखिएको, मंगलबारे र पशुपतिनगरमा पनि केही दिनभित्रै राखिने प्रहरीले जनाएको छ। 

प्रहरीले भारतीय सीमा पशुपतिनगरमा पनि गस्ती बढाएको छ। चाडबाडका बेला सीमा क्षेत्रमा हुनसक्ने घटना न्यूनीकरण गर्न सीमा क्षेत्रमा पनि निगरानी बढाएको उनले जनाए। ‘चाडबाडका बेला ठगिएको, आफूमाथि अन्याय भएको वा असुरक्षित भएको अनुभूत भए नजिकैको प्रहरीमा खबर गर्न अनुरोध गरेका छौं,’ डिएसपी क्षेत्रीले भने, ‘अवस्था हेरेर स्कर्टिङसमेत गर्नेछौं।

प्रकाशित: ९ आश्विन २०७६ १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App