७ वैशाख २०८१ शुक्रबार
समाज

कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

मकवानपुर– कर्मचारी र जनप्रतिनिधिहरुलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाईएको छ। जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आइतबार बसेको ५० औं बोर्ड बैठकले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको हो।

सामाजिक सञ्जाल चलाउँदा कार्यालय सञ्चालन र सेवा प्रवाहमा समस्या आएको देखेर यस्तो निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए। ‘नयाँ परिवेशमा कार्यालयहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अति आवश्यक छ,’ उनले भने, ‘त्यसैले सामाजिक सञ्जालको प्रयोग बन्द गरी जनतालाई सहज र सुलभ ढंगले सेवा दिनै पर्छ।’

जिल्ला समन्वय समितिको काम आफ्नै खालको भएपनि कर्मचारी वा जनप्रतिनिधिले फेसबुक चलाएर बस्दा अस्वभाविक, अव्यवहारिक देखिएकाले गम्भीरताका साथ लिएको उनले बताए। ‘अफिस(कार्यालय) जाने भनेको त अफिसकै काम गर्न हो नि त,’ उनले थपे, ‘जिससको अफिसमै बसेर गर्ने धेरै काम हुन्छ, तर अफिसको कामै छोडेर सामाजिक सञ्जाल हेरेर बस्यो भने त अफिसको काम नहुने भो।’

कार्यालयमा सामाजिक सञ्जालको प्रयोगले काम रोकिने भएकाले सुधारको प्रकृया अघि बढाईएको उनले दाबी गरे। जिससको कार्यालयमा तत्काल लागू गरिएपनि आवश्यक परे स्थानीय तह र अन्य कार्यालयहरुमा पनि लागू गरिने उनले बताए। ‘अहिले मुख्यतः जिससको कार्यालयमा लागू गरेका छौ,’ उनले भने, ‘अन्त पनि त्यस्तो समस्या छ भने समन्वय गरेर स्थानीय तहहरु र सरकारी अन्य कार्यालयहरुमा पनि लागू गर्छौ।’

धेरै स्थानीय तह तथा सरकारी कार्यालयहरुमा सामाजिक सञ्जालको प्रयोग बन्द गरी सकेको भन्दै उनले निर्णयको पालना नभए दण्ड, सजायको पनि व्यवस्था गरिने बताए। ‘तत्काललाई यही निर्णयले पुग्ला भन्ने सोचेका छौ,’ उनले भने, ‘निर्णयलाई नजरअन्दाज भयो भने कारवाही त के भन्नू, नयाँ ढंगले सोचिन्छ।’

यता, हेटौंडा उपमहानगरपालिकामा डेढ वर्षदेखि ईन्टरनेटबाट सामाजिक सञ्जालमध्ये यूट्युब र फेसबुक नचल्ने बनाईएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झण्डै दुई वर्षअघि नै देशभरका स्थानीय तहलाई कार्यालयमा सामाजिक सञ्जाल प्रयोग नियन्त्रण गर्न परिपत्र जारी गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्मचारीहरुले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउँदा सार्वजनिक सेवा प्रवाहमा प्रतिकुल प्रभाव परेको भन्दै सिंहदरवार परिसरभित्रका कार्यालयहरुमा २०७२ चैत्रमा रोक लगाएको थियो। सर्वोच्च अदालत, नेपाल टेलिकमलगायतका निकायले पनि कार्यालय अवधिमा फेसबुक, ट्वीटर, युट्यूब, टिकटक, इन्ष्ट्राग्राम, भाइबर, ह्वाट्स एप, ईमो आदी सामाजिक सञ्जाल चलाउन रोक लगाएको छ।

त्यस्तै, शिक्षकले सामाजिक सञ्जालमा आफ्नो वास्तविक फोटो राख्नुपर्ने र प्रोफाइल विवरण पनि साँचो नै राख्नुपर्ने सरकारी मार्ग निर्देशन छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशनले शिक्षकले कक्षा कोठामा र शिक्षण सिकाइ क्रियाकलापलाई नकारात्मक प्रभाव पार्नेगरी कक्षा कोठाभित्र मोबाइल प्रयोग गर्न नपाइने व्यवस्था पनि निर्देशनमा उल्लेख छ।

प्रकाशित: ५ आश्विन २०७६ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App