२९ श्रावण २०७७ बिहीबार
समाज

निकुञ्जमा खुसी थप्दै अर्ना

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा अहिले अर्नाका बच्चाको संख्या चार पुगेको छ। पछिल्लो पटक भदौ पहिलो साता अर्नाले बच्चा जन्माएसँगै निकुञ्जमा ३ पाडा र १ पाडी भएका छन्। गत वर्ष भदौमा तीन अर्ना जन्मिएका थिए। निकुन्जमा रहेका वयष्क अर्नामा दुई भाले र सात पोथी रहेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले जानकारी दिए।

पछिल्लो पटक बच्चा जन्मिएसँगै अहिले निकुञ्जमा अर्नाको संख्या १३ पुगेको छ। सन् १९६१ सम्म चितवनको घना जंगलमा अर्ना पाइन्थे। सन् १९७३ मा नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरिए पनि निकुञ्ज बन्नुअघि नै यहाँबाट अर्ना लोप भइसकेका थिए। चितवनमा बसाइँसराइ हुने क्रम बढेपछि बासस्थान विनास हुँदा र प्राकृतिक कारणले लोप भएको अर्ना जोगाउन चितवन निकुञ्जले अर्ना स्थानान्तरण गरेर ल्याएको हो।

 पछिल्लो पटक बच्चा जन्मिएसँगै अहिले निकुञ्जमा अर्नाको संख्या १३ पुगेको छ।

चितवन निकुञ्जमा कोसी टप्पुबाट अर्ना स्थानान्तरण गरेर ल्याइएको छ। निकुञ्जभित्रको पुरानो पदमपुर क्षेत्रमा २०७३ सालमा खुला खोर ९इन्क्लोजर० निर्माण गरी अर्ना र बाह्रसिंगे ल्याएर राखिएको हो। त्यसै वर्ष माघमा कोसी टप्पुबाट १२ वटा र सदर चिडियाखानाबाट ३ र गरी १५ वटा अर्ना ल्याएर राखिएको थियो। कोसी टप्पुबाट ल्याइएका १२ वटामा २ भाले र १० वटा पोथी रहेका थिए। चिडियाखानाबाट ल्याइएका ३ वटामध्ये १ भाले र २ वटा पोथी थिए। चिडियाखानाबाट ल्याएका सबै अर्ना भने ल्याएको चार महिनाभित्रै मरेका थिए।

२०७४ साउनमा आएको बाढीमा परी थप २ अर्ना मरेका थिए। अर्को एक अर्नालाई बाघले मारेको थियो। अर्ना राख्न दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको थियो। खोरवरिपरि सोलार फेन्सिङ गरिएकाले अन्य जनावर खोरभित्र पस्न नपाउने व्यवस्था गरिएको छ। अहिले अर्नाको बासस्थान व्यवस्थापनमा विशेष ख्याल राखिएको सहायक संरक्षण अधिकृत घिमिरे बताउँछन्। १५ वटा अर्ना ल्याउँदा ६ वटा मरेर संख्या घटेकोमा अहिले पाडापाडी जन्मिएपछि खुसी थपिएको उनले बताए।

क्षेत्रफल विस्तार गरिँदै
अर्नाको संख्या बढ्दै गएपछि निकुञ्जमा अर्नाका लागि खोर विस्तार गर्ने तयारी गरिएको छ। निकुञ्ज विभागले चालू आर्थिक वर्षमा खोर विस्तारका लागि १ करोड रुपैयाँसमेत विनियोजन गरेको छ। अहिले ३० हेक्टरमा रहेको क्षेत्रफल थप २५ हेक्टरमा विस्तार गरिने घिमिरे बताउँछन्। अहिले रहेको इन्क्लोजरभित्र ४ सय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ। बाँकी भाग घाँसे मैदान छ। अब थप गरिने क्षेत्रफलमा समेत घाँसे मैदान व्यवस्थापन र पानीका पोखरी थप निर्माण गरिने छ।

अर्नाको सुरक्षा र अवलोकन गर्न मचान निर्माण गरिएको छ। अर्नाको संख्या बढ्ने क्रम रहेकाले पनि क्षेत्रफल विस्तार गर्नु आवश्यक रहेको निकुञ्जको सौराहा सेक्टर कार्यालय प्रमुख एवं सहायक संरक्षण अधिकृत ऋषि रानाभाट बताउँछन्। शारीरिक रूपमा बाहिरबाट हेरेर मात्र थप कति जन्मिनेछन् भनेर बताउन नसकिने उनको भनाइ छ। बच्चा जन्मिनु एक डेढ महिनाअघि मात्र स्थिति अनुमान गर्न सकिने उनले बताए। यो वर्ष अरू केही संख्या थप हुने उनको अनुमान छ।

‘जन्मिएका सबै पाडापाडी आफै चर्नेखाने र हिँड्ने गरेका छन्,’ उनले भने, ‘बच्चा स्वस्थ रहेकाले समूहमा घुलमिल भएर हिँडिरहेको देखिन्छ।’ विस्तारै प्रकृतिमै घुलमिल हुने बानी गराउनुपर्छ भनेर ध्यान दिइएको उनले बताए। अर्नालाई आावश्यक पर्दा चना र चोकर खुवाउने गरिएको छ। घाँसको सिजनबाहेक सुक्खा समयमा दाना दिने व्यवस्था गरिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले अर्नालाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ।

प्रकाशित: ५ आश्विन २०७६ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App