१५ चैत्र २०८० बिहीबार
समाज

‘हजुरआमाका कथा’ मा महिलाका व्यथा

काठमाडौं – महिलाको विषयमा कलम चलाउँदै आएकी लेखिका अमृता लम्सालको ‘हजुरआमाका कथा’ पुस्तक सार्वजनिक भएको छ। शनिबार नौ जना हजुरआमाको हातबाट सो पुस्तक विमोचन गरियो। लेखिका लम्सालले आफ्नी हजुरआमाले ९६ वर्ष पार गरी ९७ वर्षमा पाइला टेकेको अवसर पारेर विमोचन कार्यक्रम आयोजना गरिएको बताइन्। अक्षर क्रिएसन्सद्वारा प्रकाशित पुस्तकमा हजुरआमाहरूले ६०÷७० वर्षअघि मान्ने सामाजिक सांस्कृतिक विषयलाई समेटिएको छ। खेल्ने, खाने र रमाउने उमेरका बालिकाहरु बालदुलहीका रुपमा कर्मघर प्रवेश गरेपछि बुहारी बनेर गर्नुपरेका जिम्मेवारीलाई पुस्तकमा प्रस्तुत गरिएको छ। पुस्तकमा २३ जना हजुरआमा र तीन जना नातिनीका जीवन अनुभव समेटिएको छ।

विमोचन कार्यक्रममा बोल्दै महिला अभियन्ता भारती सिलवालले पुस्तक निकै महत्वपूर्ण र गहन विषयवस्तुमा केन्द्रित रहेको बताइन्। ‘साधारण तर साहसी हजुरआमाका कथा समेटिएका पुस्तक विशिष्ट छ,’ उनले भनिन्, ‘पुस्तकमा समावेश सम्पूर्ण पात्रको बालविवाह भएको छ भने कुनै बालविधवा त कुनै हजुरआमाका लोग्नेले बहुविवाह गरेका छन्। शिक्षाप्राप्त प्राप्त गर्ने अवसर नपाएका हजुरआमाहरुको जीवन कथा कुनै युद्धभूमिको गाथाभन्दा कम छैन। पुस्तकमा महिलाको जीवनको यथार्थ चित्रण छ।’ कार्यक्रमका अर्का वक्ता डा. डम्बर चेम्जोङले हजुरआमा र हजुरबुबाको काखमा हुर्किन पाएका नाति नातिनीका लागि उक्त पुस्तक चाखलाग्दो हुने बताए। ‘पुस्तकमा समेटिएका हजुरआमाहरुको जीवनी पढ्दा नेपालभरका हजुरआमाको जीवनी थाहा पाउन सकिन्छ,’ उनले भने, ‘हाम्रा हजुरआमाहरूले भोगेका जीवन, दुःख, संर्घष र व्यथाहरुको उजागर पुस्तकमा भएको छ।’

लेखिका लम्सालले हजुरआमाका यथार्थ कथालाई समेट्ने पहिलो प्रयासस्वरुप यो पुस्तक तयार भएको बताइन्। हजुरआमाहरु भएकाले नै पुस्तक प्रकाशित गर्ने सुनौलो अवसर पाएको भन्दै २३ जना हजुरआमाप्रति उनले कृतज्ञता व्यक्त गरिन्। हजुरआमाको पालाको रीतिरिवाज, संस्कृति र अहिले हाम्रो पालामा आउँदासम्ममा भएका परिवर्तन पुस्तक पढेपछि थाहा पाउन सकिने उनले बताइन्। ‘यो पुस्तक सहरभन्दा पनि ग्रामीण समुदायका छोरीहरुले पढ्न पाए निकै महत्वपूर्ण हुने थियो,’ उनले भनिन्। पुस्तकको सम्पादन डा. रजनी ढकाल हुन्।

प्रकाशित: ५ आश्विन २०७६ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App