७ वैशाख २०८१ शुक्रबार
समाज

कुलेश्वरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं- लायन्स क्लब अफ काठमाडौं वेल्केयर, लायन्स क्लब अफ काठमाडौं नेचुरल र कुलेश्वर पोलिक्लिनिकको संयुक्त आयोजनामा राजधानीको कुलेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।  बजारमा देखिएको रगत अभावलाई कम गर्न आयोजित रक्तदानमा ७९ जनाले रक्तदान गरेको लायन्स क्लब ३२१ ए२ का अध्यक्ष कैलाश खड्काले जानकारी दिए।

लायन्स क्लब एक विशुद्ध सामाजिक संस्था भएको जनाउँदै क्लबका अध्यक्ष खड्काले समाजप्रतिको दायित्व पुरा गर्न रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए।

रक्तदान कार्यक्रम सँगै कुलेश्वर पोलिक्लिनिकको सहकार्यमा निःशुल्क सुगर परीक्षण शिविर समेत आयोजना गरिएको पोलिक्लिनिकका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए। निशुल्क सुगर परीक्षण विगत केही वर्षदेखि हरेक शनिबार संचालन हुँदै आएको छ। शिविरमा १ सय ३० जनाले निःशुल्क सुगर परीक्षण गरेको अध्यक्ष श्रेष्ठले बताए।  

वैदेशिक रोजगारमा जाने कामदारको गुणस्तरीय स्वास्थ्य परीक्षण गर्दै आएको कुलेश्वर पोलिक्लिनिकले ओपीडी सेवा समेत संचालन गर्दै आएको छ। 'हाम्रो संस्था वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मात्र सीमित छैन' कुलेश्वर पोलिक्लिनिकका अध्यक्ष श्रेष्ठले भने, 'विभिन्न रोगका विशेषज्ञ चिकित्सक मार्फत अत्याधुनिक उपकरण प्रयोग गरेर सुलभ मूल्यमा स्वास्थ्य सेवा पनि दिंदै आएका छौं।'

डिस्ट्रिक ३२५ अन्तर्गत रहेका विभिन्न क्लब मध्ये सामाजिक कार्यमा निकै सक्रिय रहेको काठमाडौं वेल्केयरले यसअघि तराईका विभिन्न जिल्लामा पुगेर बाढी पीडितलाई राहत सामाग्री वितरण गरेको थियो भने विभिन्न स्थानमा स्वास्थ्य शिविर गर्दै आएको छ। गत वर्ष अमेरिकाको सिकागोमा आयोजित लायन्स क्लबको शतवार्षिकी समारोहमा सहभागिता जनाएका खड्काले २०१९ जुलाईमा इटालीमा सम्पन्न समारोहमा समेत सहभागिता जनाएका थिए।

प्रकाशित: ४ आश्विन २०७६ १७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App