१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अब्बल बन्दै दुर्गमका सामुदायिक विद्यालय

जुम्लाको देउराली मावि जुम्लाकोट र देवलक्ष्मी आधारभुत बिद्यालय सुडीको दृश्य ः धनबहादुर /नागरिक

जुम्ला — जुम्ला घोडेमहादेवका भक्तबहादुर रावत गाउँकै देवलक्ष्मी आधारभूत विद्यालयमा भइरहेको पठनपाठनप्रति निकै सन्तुष्ट छन्। शिक्षकको लनशिलता, विद्यार्थीको मेहनत र अभिभावकको चासाले विद्यालयमा सुधार आएको उनी बताउँछन्। दशकअघिसम्म दुर्गमका विद्यालयमा पढेको विद्यार्थी भनेपछि हेप्थे। उनले भने,‘ तर अहिले दुर्गमका विद्यालयले शहरका विद्यालयभन्दा केहीमा कम छैनन्। शहरका विद्यालयमा पढेकासँग प्रतिष्पर्धा गर्न सक्षम छन् यहाँका विद्यार्थी। यो हैसियत दुर्गमका विद्यालयले बनाइसकेका छन्। ’

विद्यालयमा बालमैत्री कक्षाकोठा छन्। बालमैत्री धारा र शौचालय छन्। बालमैत्री पठनपाठन पनि हुन्छ। सिंगो भौतिक संरचना र विद्यालयको बातावरण नै शान्त र सुन्दर देखिएपछि बालबालिका विद्यालय जान निकै रुचाउँछन्। विद्यालय लठ्ठीरहित छन्। कुनै पनि बहानामा विद्यार्थीलाइृ दण्ड सजाय दिइदैन। राजनैतिक रंङ्ग पनि छैन। पछिल्लो समय  लोकसेवा र शिक्षा सेवा आयोगको परिक्षामा उतिर्ण हुनेमा पनि दुर्गमका विद्यालयका अस्थायी तथा करार शिक्षक नै बढी  छन्।

मालिकाठाँटास्थित ज्योति माध्यमिक विद्यालयमा लाइनमै हाजिरिजवाफ खेलिन्छ। कक्षाकोठामा प्रवेश गर्ने बित्तिकै अघिल्लो दिनको समिक्षा हुन्छ। जसका कारण विद्यार्थी घरबाट ब्यापक तयारीका साथ विद्यालय आउँछन्। दुर्गममा न शिक्षा क्षेत्रका सरकारी अधिकारी पुग्छन्, नत स्थानीय सरकार नै। उसो त शिक्षा क्षेत्र     हेर्ने गैरसकारी निकाया पनि दुर्गममा जान मान्दैनन्। तै पनि दुर्गमको शिक्षा क्षेत्र खस्केको छैन्। देवलक्ष्मी आधारभुत विद्यालय सुडीका प्रधानाध्यापक झुपे रावत भन्छन्,‘यहाँ पढ्ने विद्यार्थी सुगमका विद्यालयभन्दा कम छैनन, शिक्षक आफ्नो पेसाको परिणाम देखाउँन चाहान्छन्। यसकारण दुर्गमका विद्यालय निकै अब्बल सावित छन्।’ यहाँका विद्यालयमा हरेक शुक्रवार अतिरिक्त क्रियाकलापको आयोजना हुन्छ। जहाँ ज्ञानगुनका विषय पढाइन्छ। हरेक विद्यार्थीलाई बोल्न सिकाइन्छ। प्रभावकारी हस्तलेखन गर्न सिकाइन्छ। शिक्षा आर्जन गर्ने तौरतरिका बारेमा अध्यापन गरिन्छ।

देउराली मावि जुम्लाकोट त्यो क्षेत्रको एक मात्र मावि  थियो। अहिले दुईवटा मावि छन्। तर न्युनतम एक घण्टादेखि ३ घण्टासम्म हिडेर मावि शिक्षा आर्जन गर्नुको अहिले पनि विकल्प छैन्। प्रभावकारी पठनपाठनका सामु दुरीको कुनै वास्ता हुदैन्। २०४२ सालदेखि मावि शिक्षण शुरु भएको यो विद्यालयले हालसम्म दुई दर्जन बढी  प्रधानाध्यापक जन्माइसकेको छ। एक दर्जनभन्दा बढी निजामति कर्मचारी र दर्जनौको संख्यामा जनप्रतिनिधि पनि यही विद्यालयका उत्पादन हुन्। प्रधानाध्यापक रामभजन यादव दुर्गमको शिक्षा क्षेत्र निकै सुधार भएको दाबी गर्छन्। उनले भने,‘बास्तवमा ज्ञानको ज्योति दुर्गमबाट बलेको छ। सुगमको शिक्षा अवस्था निकै दया लाग्दो छ। ’

दुर्गमका विद्यालयका पुस्तकालय छ। पुर्खाहरुको अभिलेखिकरणका लागि परम्परागत महत्वका बस्तु राख्ने संग्राहलय छ। अधिकांस विद्यालयका कम्प्युटर शिक्षा अध्यापन हुन्छ। पहिले असमान शिक्षा दिएर समान रुपमा प्रतिष्पर्धा गर्न बाध्य थिए, दुर्गमका विद्यार्थी। अहिले समान रुपमा शिक्षा हासिल गरेर असमान प्रतिश्पर्धामा भाग लिन थालेका छन्। गाउँका सामुदायिक विद्यालय निजी विद्यालयभन्दा कम छैनन्। शिक्षक, विद्यार्थीको पोशाक छुट्टाछुट्टै छन्। अभिभावक विद्यालयप्रति एकाकार छन्। विद्यालय व्यवस्थापन समिति शिक्षक र विद्यार्थीप्रति उत्तरदायी छन्। विद्यार्थी शिक्षा आर्जन गर्न उत्साहित छन्। सबैको तालमेलकै कारण दुर्गमका विद्यालयको शिक्षा निकै प्रभावकारी बन्दै गएको छ।

कर्णाली राजमार्ग सञ्चालन भएसंगै सडक आसपासका विद्यालयका बिकृति मौलाउदो छ। लागुऔषध दुव्र्यसनी र मादक पदार्थ सेवा, चोरी डकैती तिर विद्यार्थी लाग्न थालेका छन्। यो बिकृति दुर्गमका विद्यालयसम्म पुगेको छैन। दुर्गमका विद्यार्थी गीत संगितका माध्यमबाट आफ्नो पहिचान बताउन सक्छन्। अभिभावकलाई पठनपाठनका विषयमा सचेत गराउँछन्। बालअधिकारका विषयमा आफै वकालत गर्न सक्ने भउका छन्।

खानेपानी, शिक्षा र स्वास्थ्यका हिसावले परिपक्क छन्। खेलकुदका क्षेत्रमा पनि निकै अग्रसर छन्। सुगममा शिक्षक सरुवा गर्ने, शिक्षक राख्ने र विद्यालय ब्यवस्थापन समिति गर्ने गर्नकै लागि मतदान गरिन्छ। यसको एक उदाहरण हो। तिला गाउँपालिका ३ स्थित सरस्वती मावि कुडारी। यो सडक छेउको विद्यालयको हो। यहाँ शिक्षक सरुवा गरेर ल्याउनको लागि मतदान गरिएको थियो। सुगमका विद्यालयको विकृति रोक्न स्थानीय प्रहरी प्रशासनले प्रहरी समुदाय साझेदारी कार्यक्रमका माध्यमबाट जनचेतना फैलाउदै आइराखेको छ।

संघीयता कार्यन्वयन भइसकेपछि दुर्गम क्षेत्रका स्थानीय तहले पनि शिक्षा क्षेत्रलाई निकै प्राथमिकताका साथ अघि बढाएका छन्। नजिकैका विद्यालय मर्ज गर्नेदेखि प्राविधिक शिक्षा दिलाउनेतर्फ ध्यान दिएका छन्। जुम्ला सिँजा गाउँपालिकाका २६ वटा बिद्यालयमा सिसि क्यामरा र डिजिटल हाजीरिको ब्यवस्था गरिएको छ। स्थानीय सरकारले गुणस्तरिय शिक्षा आर्जनका लागि प्रविधिमैत्री विद्यालय निर्माण अभियानमा जुटेको जनाएको छ। गाउँपालिका अध्यक्ष देवल रावल सिसि क्यामराले विद्यार्थी र शिक्षकको हरेक क्रियाकलाप निगरानी गर्दै आइरहेको बताउँछन्। उनले भने,‘डिजिटल हाजीरिले शिक्षक नियमित विद्यालय आउँछन आउँदैनन हेर्न सहज हुन्छ। शिक्षालाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्ने गरेको उनी बताउँछन्। गाउँपालिका स्थित अन्तर विद्यालयमा अवलोकन गराएर नराम्रो कामको सुधार गर्न र राम्रो कामको अंिगकार गर्न प्रोत्साहित गरिएको छ।

दुर्गमका स्थानीय तहले कक्षा १० सम्मको वार्षिक परीक्षा समेत गाउँपालिका स्तरीय चलाउदै आएका छन्। यो विधिले शिक्षक र विद्यार्थीको क्षमताको मापन गर्न सहज भइरहेको छ। ’चन्दननाथ नगरपालिकाका शिक्षा अधिकृत खडानन्द चौलागाइ गुणस्तरिय शिक्षाका लागि सरोकारवाला पक्ष निकै चिन्तित भइरहको बताउँछन्। सानै उमेरमा विवाह गर्ने र बालबालिकालाई होटलमा लगाउने कार्यलाई निरुत्साहित गर्न सदैव तयार रहेको बताउँछन्। शिक्षक दुर्गम जान मान्दैनन्। तर दुर्गममा खटिएका शिक्षक सुगम क्षेत्रमा फर्कन चाहदैनन्। दुर्गम क्षेत्रका अधिकांस विद्यालयमा निजी शिक्षक राखेर पठनपाठन चलिरहेको छ।

दुर्गम क्षेत्रमा राम्रो अध्यापन गराउने शिक्षक र गुणस्तरिय शिक्षा प्रदान गर्ने विद्यालय र राम्रो अंक ल्याएर उतीर्ण हुने विद्यार्थीलाई सम्मानित गर्नुपर्ने बताउँछन्। विद्यालयको हरेक समस्यासँग एकाकार भएर लाग्ने अभिभावकलाई समेत प्रोत्साहित गर्नु पर्नेमा जोड दिन्छन्। अहिले दरबन्दी वितरणदेखि सरुवा बढुवामा पावर र पहुँचको चलखेल हुने भएकोले ईमान्दार र कर्तव्यनिष्ट शिक्षक अवसरबाट वञ्चित हुन्छन्। क्षमता, दक्षता र मर्यादाका आधारमा शिक्षक सरुवा बढुवा र दरवन्दी मिलान गर्नु पर्ने माग गर्छन्।

सिता माध्यमिक विद्यालय रारालिहीका प्रधानाध्यापक शिवप्रसाद पाण्डे शिक्षक, अभिभावक र विद्यालय ब्यवस्थापन समितिको दुरदर्शी निर्णयले मात्र गुणस्तरिय शिक्षाको नारा साकार हुने बताउँछन्। उनले भने, ‘शिक्षक एक्लैले पाठ पढाएर हुँदैन, विद्यार्थीले रटेर मात्र हुँदैन, अभिभावकले एकोहोरो चासो लिएर मात्र हुदैन्। सबैको सन्तुलन दृष्टिकोणको आवश्यक हुन्छ। 

प्रकाशित: ४ आश्विन २०७६ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App