१६ चैत्र २०८० शुक्रबार
समाज

जुम्ली स्याउले बजार लिएपछि भारतीय स्याउ बिक्री हुनै छोड्यो

जाजरकोट - जुम्ली स्याउले बजार पाएपछि जाजरकोटमा भारतीय स्याउ बजार पाउन छाडेको छ। जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो। एक सय रुपैयाँमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गो रुपैयाँमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो। 

स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि अत्यधिक माग बढेको व्यापारी लोकेन्द्र रोकायले बताए। भारतीय स्याउ खाँदा मीठो नभएको तर जुम्ली स्याउ मीठो भएको भेरी नगरपालिका–३ का शारदा ओलीले बताए। जाजरकोट सदरमुकाममा तीन ठाउँमा डिलर राखेर जुम्ली स्याउ बिक्री भइरहेको छ। जुम्ली स्याउसँगै जाजरकोटमा फलेको स्याउ बिक्री–वितरणमा समेत सहज भएको व्यापारीले बताएका छन्। भारतबाट कमाई गरेर घर फर्कनेहरु समेत घरमा जुम्ली स्याउ नै कोशेलीका रुपमा लिने गरेका छन्। अर्गानिक भन्दै जुम्ली स्याउको माग बढेको छ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए। कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएसँगै जुम्ली स्याउको माग ह्वात्तै बढेको छ। यातायातको अभावमा अघिल्लो वर्ष जाजरकोटमा ल्याउन नसकिएको बताउने यहाँका व्यापारीहरु, यो वर्ष केही सहज भएपछि जुम्ली स्याउ ल्याउन पाएको बताएका छन्।

जाजरकोटमा यातायातको पहुँच भएको सबै ठाउँमा जुम्ली स्याउ पुगेको व्यापारीहरु बताउँछन्। त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिम, सुर्खेतमा समेत जुम्ली स्याउमा बजार पाएको व्यापारी रणबहादुर महतले बताए। भारतीय स्याउमा विषादी मिसाएको पाइएसँगै जुम्ली स्याउले बजार पाउँन थप सहज भएको हो। अहिले जाजरकोटमा दैनिक सरकारी कार्यालय, सङ्घसंस्था र कार्यक्रममा समेत जुम्ली स्याउकै प्रयोग दर बढेको छ। रासस

प्रकाशित: ४ आश्विन २०७६ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App