२९ श्रावण २०७७ बिहीबार
समाज

खोसिनै लागेको एउटा खुशीः जो महिनौंदेखि घिटघिटाउँदो छ

काठमाडौं– एक शिशु जो केही महिनामा बारम्बार सर्जरीमा पुग्छ। जति सर्जरी गर्छ, त्यती नै झनझन् रोगले ग्रसित बनाउँदै शिशुको स्वास्थ्य जटिल बन्दै जान्छ। एक दिन होइन दुई दिन होइन्। हरेक दिन नयाँ-नयाँ रोगले च्याप्दै जान्छ जन्मिएको आधा घण्टादेखि। सुन्दा कुनै फिल्मको कथाजस्तै लाग्ने यो घटनाले नेपालमा चिकित्सा क्षेत्रकाे विकृति छर्लङग पारिदिन्छ। 

सञ्जिव न्यौपाने जसले रंगिन सपना बुनेर धर्तीमा आफ्नो सन्तान कुरिरहेका थिए। सन्तान त पाए तर...। १५ महिनाको अन्तरालमा सञ्जिव र पत्नि एकताले अनेक दुःख कष्ट सहेका छन्। अस्पतालको लापरवाहीका कारण एउटा भर्खर जन्मेको शिशुलाई सर्जरीको नाममा पटक-पटक पीडा दिने काम भएको छ। देशकै प्रतिष्ठित ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा। 

उनीहरुले पहिले बच्चा बनाउने योजना गरे र राम्रै डाक्टर भएकाले ग्रान्डी अस्पतालमा पुगे। एकताले डाक्टरकै सल्लाहमा बच्चा पनि जन्माइन्। एकताले चिकित्सकको सल्लाह अनुसार सबै टेष्ट पुरा गरिन्। उनको सिएस पनि टेष्ट गरियो। सञ्जीव र एकता गर्भावस्थाको ३६ हप्तामा पार गरेपछि रेगुलर फलोअपको लागि अस्पताल पुगे। चेकअप गरिसकेपछि चिकित्सकले सबै राम्रो छ भने। सिएस गरेपछि डाक्टरले बच्चा राम्रो छ नर्मल डेलिभरी हुन गाह्रो छ बच्चा निकालौं भने। उनीहरुको निर्देशनअनुसार बच्चा पनि जन्मियो। पहिलो सन्तानको मुख हेर्न पाउँदा खुशीको सीमा नै थिएन।

नयाँ मानिसलाई ममताका साथ स्वागत गर्न मात्र के पाएका थिए बच्चा जन्मिएको आधा घण्टा बितेपछि बच्चामा छिटो छिटो स्वास फेर्ने समस्या देखियो। यही समस्याका कारण बच्चालाई एनआइसियूमा ९० दिन राखियो। ९० दिनको समयमा बच्चाको टाउको चार वटा ठूलो सर्जरीसमेत गरियो। एकतालाई थाइराइड र फ्याट्टी लिभर अर्थात् कलेजोमा बोसो जमेको समस्या भनियो। गर्भवती भएको ३० सातापछि उनले हरेक हप्ता थाइराइड र कलेजो जाँचिन्। डाक्टरले भने अनुसार औषधि खाएर थाइराइड र फ्याट्टी लिभरलाई सन्तुलनमा राखेकी थिइन्।

यो घटनाको शुरुवातमा बच्चामा शुरुमा छिटो छिटो स्वास फर्ने समस्या देखाइयो र उसलाई भेन्टीलेटरमा राखियो। त्यसपछि भेन्टीलेटरमा राखेको पहिलो दिन नै बच्चालाई निमोनिया भयो भनेर डाक्टरले जानकारी दिएका थिए। उपचार गरेपछि ५ दिनमा भेन्टिलेटरबाट बाहिर निकालियो। बाहिर निकाल्दा बच्चालाई ‘क्लेबसियला’ नामक ब्याक्टेरीयाबाट संक्रमण हुने इन्फेक्सन सर्यो। त्यो ब्याक्टेरियालाई बाँकी दिनहरुमा निको पार्ने भन्दै एन्टिबायोटिक औषधि दिइयो र सोही अनुरुप उपचार गराए।

उपचार पश्चात् बच्चाको स्वास्थ्य सब ठिक छ भनेर २१औं दिनमा अस्पतालबाट घर ल्याइयो। तीन दिनमा फलोअप चेकअप पनि गरियो। सबै राम्रो रिपोर्ट आयो। तर २५औं दिनमा बच्चालाई फेरि ज्वरो आयो। सञ्जीव र एकताले ज्वरो आएको दुई घण्टामा अस्पताल पुर्याए। चिकित्सक कै सल्लाह अनुसार फेरी एनआइसियू मै भर्ना गरियो। त्यो दिन विहिबार थियो र त्यहीं राति भर्ना गरियो। भोलीपल्ट विहान एनआइसियूको टिमले बच्चालाई ज्वरो मात्र आएको हो एकदिन राखौं न त भने। यी दम्पतिले पनि एकदिनको कुरा हो शनिबार आइहाल्छ भनेर खुशी भएरै असपताल मै राखे।

सञ्जिवका अनुसार दिउँसो अस्पतालबाट भनियो बच्चालाई ज्वरो देखिएको छ सिजर आको जस्तो छ। ढाडको पानी निकालेर हेर्नुपर्छ मिनिन्जाइटिस पो हो कि भनेर डाक्टरहरुले शंका गरे। बच्चालाई छिट्टै निको हुन्छ भन्ने आशमा डाक्टरको हातमा आफ्नो आँखाको नानीलाई जिम्मा लगाइदिए। त्यसपछि बच्चाको ढाडको पानी निकाल्दा पानीको ठाउँमा पिप आयो।

‘बच्चालाई ९० दिनको अन्तरालमा सर्जरी गरियो तापनि बच्चाको स्वास्थ्यमा सन्तोषजनक सुधार आउन सकेन। यस्तै हुने थियो भने त्यती सानो नानीलाई किन त बारम्बार सर्जरी गरियो भन्दै उनले बाहिरका अरु डाक्टरहरुसँग बुझ्दा तिम्रो बच्चालाई व्यर्थको उपचार गरे जस्तो देखिन्छ भने’ यो सुनेर हामीलाई डर लाग्न शुरु भयो।

‘बच्चालाई ज्वरो आउँछ र अस्पताल लगिन्छ, त्यसपछि ठूलो मान्छले समेत सहन नसक्ने गरी सर्जरी गरिन्छ अनि त्यो सर्जरी मिथ्या साबित हुन्छ। २६ औं दिनमा बच्चाको ढाडबाट पानी निकाल्ने भनिन्छ। ढाडको पानी सफा हुन्छ र त्यही पानीबाट बच्चालाई के भएको हो भनेर पत्ता लगाउन सकिन्छ। तर मेरो केसमा त पानीको साटो पिप आएको हो। यसरी पिप आउँदा यदि ढाडको पानीमा पिप आएको छ भने टाउकोमा पनि पिप नै छ होला भनेर किन डाक्टरहरुले सोच्न सक्नु भएन भन्ने प्रश्न अझै पनि मेरो मनमा छ’ सञ्जीवले भने ‘यदि त्यती बेलै यो प्रष्ट भएको भए त्यहीं अनुसार रोग पत्ता लगाइ उपचार गरिन्थ्यो होला र अहिलेको यो अवस्थासम्म पुग्नु पर्दैनथ्यो भन्दै निराश भए ।’

जन्मिएको २६ औं दिनदेखि थप २१ दिनसम्म बच्चालाई हाई डोजको कोलोस्टाइन् भन्ने औषधि चलाइएको थियो। ४० औं दिनको विहानसम्म पनि बच्चाको स्वास्थ्यमा सबै राम्रो छ र आउँदो ७ औं दिनको औषधि खुवाएर घर पठाउने भनेर भनियो। तर ४० औं दिनको विहान खुशी हुँदै अस्पताल पुगे सञ्जीव र एकता, तर त्यो खुशी एकैक्षण पनि टिकन सकेन्। केही क्षण मै एकता डाक्टरलाई भेटेर आइन् र बच्चाको टाउकोमा धेरै पिप छ भन्दै रुन थालिन्।

त्यसपछि सञ्जीव एकदमै आश्चर्यमा परे हिजोसम्म सबै ठिक भएको र बच्चालाई ४० औं दिनमा घर लान मिल्छ भनेर भन्ने अहिले अचानक बच्चाको टाउकोमा धेरै पिप कसरी आयो? तरपनि उपचारतर्फ उनीहरु लागी नै रहे। र फेरी अप्रेसन गरियो। बच्चाको टाउकोमा पिप छ र अप्रेसन गरेर पनि बच्चा बाँच्न नसक्ने भएकोले डाक्टरहरुले यती धेरै अल्झाएको हो कि जस्तो महशुस सञ्जीवले गरे। ‘१० महिनाको अन्तरालमा मैले डाक्टरहरुलाई भगवान नै मान्थे तर बच्चाको बिग्रिदै गएपछि र उनीहरुले आफ्नो गल्ती स्वीकारेनन्।’ 

बच्चाको पहिलो अप्रेसन गरियो र सफल भयो। एक हप्तापछि फेरि टाउकोमा पिप छ भनेर दोस्रो अप्रेसन गर्नु पर्ने देखाइयो। त्यो बेला सञ्जिवको बुबाको निधन भयो। र सञ्जिव केही सोच्नै नसक्ने अवस्थामा पुगे। यो समय पश्चात् बच्चाको टाउको चारवटा सर्जरी गरियो। तरपनि उनलाई सर्जरीमा कुनै आपत्ति थिएन। उपचार हो त्यो गर्नैपर्छ तर गल्तीलाई गल्तीभयो भनेर स्वीकार्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको उनले बताए। यसरी चार वटा अप्रेसनपछि ७ पटकको फलोअप गरियो र ६ महिनामा बच्चाको अन्न पास्नी पनि भयो।

अहिले बच्चामा कुनै किसिमको हलचल छैन्। उसले स्पर्श मात्र महशुस गर्न सक्छ। बच्चा न त रुन्छ न त हाँस्छ, छ त मात्र एक मुठ्ठी श्वास। त्यही श्वास पनि पाउने उसको अधिकार हो भनेर बसेका यी दुई जोडीको तब होस् उड्यो जब उनीहरुलाई भनियो कि बच्चाको टाउकोमा ८५ प्रतिशत ब्रेननै छैन्। अब मात्र एउटा पुतली जस्तै छ र आहाराको नाममा थोरै दुध मात्र खान्छ।

अस्पतालले गरेको पाँचौं सर्जरीपछि आएको रिपोर्टबारे चिकित्सकहरु जिम्मेवार नदेखिँदा र लापरवाहीका कारण आफ्नो बच्चाले जीवन र मृत्युको बीचमा भुल्नु परेको यी दम्पतीको दुःखेसो छ। सातौं महिना अल्ट्रासाउन्ड गर्दा रेडियोलोजिष्टले टाउकोमा ७.२ सेन्टिमिटरको हाइड्रोसेफालस अर्थात् (पानी जमेको ठाँउ) छ भन्ने रिपोर्ट दिए। तर डाक्टरले होइन भनेर टारेपछि अल्ट्रासाउन्डको रिपोर्ट आयो। बच्चाको टाउकोमा ९.८ सेन्टिमिटर हाइड्रोसेफालस देखायो।

अहिलेसम्म सञ्जिव र एकताको १० महिनामा ३५ लाख जति खर्च भइसकेको बताउँछन्। ६६ एमएल सिटामोल ओभरडोज भएर बच्चाको अवस्था नाजुक भएको देख्दा सञ्जिवले जब ग्रान्डी अस्पताललाई जिम्मेवारी लिनुपर्छ भन्दा आफुहरुको कुनै दोष र कमजोरी नभएको चिकित्सक तथा अस्पताल प्रशासनले बतायो।

एउटा विवश बुवाको छात्तिमा लागेको घाउ त्यो बेला झनै जल्छ जब तिनै चिकित्सक तथा अस्पताल प्रशासनले आफुहरु पन्छिदैं न्यायको लागि अड्डा, अदालत र एनजिओ तिर धाउनु भनेर धम्की दिन्छन्। ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल नामै काफी छ एउटा विश्वासिलो उपचारका लागि। तर जस्तो नाम छ त्यस्तै यसको काम भने हुन नसकेको पीडित सञ्जीव बताउँछन्।

प्रकाशित: ३ आश्विन २०७६ १७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App