coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जलाएर हत्या गरिएको आरोप

कपिलवस्तु – कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ महुवाको बैरिहवाकी एक महिलाको सोमबार राति जलाएर हत्या गरिएको आरोप लगाइएको छ। आफ्नी २२ वर्षीया छोरी शीला नाउलाई उनकै पति जगदीश नाउ, सम्धी भिखी नाउ र सम्धिनी बासमतीले जलाएर मारेको मृतकका बुबा विष्णु नाउले आरोप लगाए।

सोमबार राति ११ बजेतिर शीला आफ्नो कोठमा जलेर गम्भी अवस्थामा फेला परेकी थिइन्। कपिलवस्तु नगरपालिका–५ श्रीरामपुरका मृतकका बुबा विष्णुले घाँटी च्यापेर हत्या गरेपछि तीनजना मिलेर मट्टीतेल छर्केर छोरीलाई जलाएकोे आरोप लगाए। ‘छोरी र ज्वाइँबीच झगडा भइरहन्थ्यो, मलाई खबर पनि आउथ्यो तर त्यत्रो घटना हुँदा पनि मलाई कसैले जानकारी गराएन,’ उनले भने। उता कोठाभित्र रहेकी शिलालाई ढोका फोरेर निकालिएको प्रहरीले जनाएको छ। उपचारका लागि तौलिहवा अस्पताल ल्याने क्रममा शिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। उनले घटना हत्या वा आत्महत्या के हो अझै यकिन भइनसकेको बताए।

शीलाको छाती र पेटको भाग जलेको छ। टाउको र हातमा केही भएको छैन। पाँच वर्षअघि शीलाको विवाह जगदीश नाउसँग भएको थियो। गत फागनुमा मात्र गौना गरेर जगदीशले शीलालाई आफ्नो घर लगेका थिए। विष्णुका बहिनी–ज्वाइँ राजु नाउले शीला र जगदीशबीच यसअघि पटक–पटक झगडा भएको बताए। राजुको सेलुन पसलमा जगदीशले काम गर्थे। केही कुरा भए पनि आफूलाई जगदीशले भन्ने गरे पनि त्यस दिन भने केही जानकारी नगराएको उनले बताए। विष्णुकै घरबाट करिब ११ बजेतिर घटनाबारे मोबाइलमा जानकारी पाएको उनले बताए।

राजुले पनि शीलाको हत्या गरिएको अरोप लगाए। घटना आत्महत्या भएको भन्दै जगदीशले प्रहरीमा निवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा रहेका जगदीशले आफू त्यस दिन भात खाएर नौ बजेतिर पन्डीपुरमा नाच हेर्न गएको बताए। उनले घरबाट सो घटनाबारे खबर आएपछि आफूले थाहा पाएको बताए। उनले पत्नी र आपूmबीच कुनै झगडा नभएको र के कारणले घटना भएको थाहा नभएको पनि बताए।

घटनाबारे थाहा पाएपछि शीलाकी आमा गीता नाउ अर्धचेत बनेकी छिन्। उनी अहिले तौलिहवा अस्पतालमा छिन्। मृतककी दिदी प्रियाले आफ्नी बहिनीलाई उनका पति र सासू/ससुरा मिलेर जलाएको आरोप लगाइन्। उनका अनुसार शीलाका पति र ससुरा नियमित मदिरा सेवन गर्ने गर्छन्। ‘मेरी बहिनीलाई सासू/ससुराले सधैं अपशब्द बोल्ने गाली/गलौज गर्ने गर्थे, तिनीहरूले नै मारेका हुन्,’ उनले भनिन्, ‘तिनीहरूलाई कडा कारबाही हुनुपर्छ।’

प्रकाशित: १ आश्विन २०७६ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App