१५ चैत्र २०८० बिहीबार
समाज

मैलुङ–स्याफ्रु सडक खुल्यो

रसुवा - वर्षाका कारण दुई महिनादेखि अवरुद्ध मैलुङ–स्याफ्रु सडक मंगलबारदेखि खुलेको छ। बेत्रावतीदेखि छोक्कलसम्मको पहिरो हटाउनुका साथै खोलामा ह्युमपाइप राखिएपछि सडक खुलेको हो। शनिबारदेखि मर्मत भएको सडक खुलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

नाका जोड्ने दुवै सडक अवरुद्ध भएपछि सरोकारवालासँग काठमाडौंमा बसेको बैठकले नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रु सडक खुलाउने निर्णय गरेको थियो। दसैंको समयमा आएका सामग्री तत्काल काठमाडौं पठाउन तल्लो सडक पहिलो प्राथमिकतामा परेको थियो। ‘राम्चे–धुन्चे सडकअन्तर्गत नागार्दुन क्षेत्रमा पहिरोले सडक बगाएकाले तत्काल सडक खोल्न कठिन हुने देखियो,’ प्रजिअ भण्डारीले भने, ‘त्यसकारण तल्लो सडकलाई प्राथमिकता दिएका हौं।’ माथिल्लो सडकमा पनि ग्याबिन लगाउने काम भइरहेको छ।

राम्चे–धुन्चे सडक खुल्न अझै केही दिन लाग्ने भएको छ। सदरमुकाम जोड्ने तथा दैनिक सयौं सवारी गुड्ने सडकलाई उपेक्षा गरिएको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। तल्लो सडक छोटो दुरीको भए पनि वर्षाको समयमा पहिरो गइरहने समस्या छ।

सडक खुलाउन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजनासँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समिति र गोसाइँकुण्ड गाउँपालिकाले नेतृत्व लिएर काम गरेको थियो। मैलुङतर्फ प्रजिअ भण्डारी र छोक्कलतर्फ गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले नेतृत्व गरेका थिए। सडक खुलाउन सडक डिभिजन कार्यालय, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिका, रसुवागढी, सान्जेन, माथिल्लो त्रिशूली १ तथा चिलिमे जलविद्युत् आयोजना र जनप्रतिनिधिले सहयोग गरेका थिए। पहिरोको कारण सडक अवरुद्ध हुनसक्ने भएकाले सडकमा स्काभेटर राखिने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए।

भन्सार यार्डका सवारी चल्न थाले
भन्सारमा जाँचपाँस भएर भन्सार यार्डमा रोकिएका सवारी चल्न थालेका छन्। दसैंका लागि आएका सामग्री एक सातादेखि भन्सार यार्डमा थन्किएका थिए। बाटो अवरुद्ध भएपछि व्यापारीले स्याउ तातोपानी नाकातर्फ लगेका छन्। यो नाकाबाट अहिले थोरै संख्यामा स्याउ भित्रिएको छ। यसपटक यहाँबाट रेडिमेड सामग्री बढी आएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए। ‘

बाटो अवरुद्ध भएपछि स्याउ व्यापारीले डाइभर्ट गरेर तातोपानीतर्फ लगे,’ उनले भने, ‘अहिले यो नाकाबाट रेडिमेड सामग्री र टेलिकमका सामग्री आएका छन्।’ भन्सार यार्डमा चार सयभन्दा बढी सवारी रहेको र सडक क्षेत्रमा पनि तीन सयभन्दा बढी सवारी रोकिएका छन्। सडक खुलेसँगै केही सवारी काठमाडौंतर्फ हिँडेका छन्।
जलविद्युत् आयोजनाको काम प्रभावित

सडक बन्द भएपछि जिल्लाको माथिल्लो क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा प्रत्यक्ष असर पुगेको थियो। एक सातासम्म नाकामा सवारी साधन रोकिँदा बढेको सवारीचापले आयोजनाको काममा प्रत्यक्ष असर पुगेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ।

तत्कालका लागि सामग्रीको अभाव नभएको भएपनि ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा समस्या सिर्जना भएको हो। आयोजनाको निर्माणस्थल जाने क्षेत्रमा सवारीको जाम भएका कारण समस्या सिर्जना भएको आयोजना प्रमुख छबि गैरेले बताए। यो आयोजनाले सडक खुलाउन एउटा एक्साभेटर दिएको छ भने ६ सय लिटर डिजेलसमेत दिएको छ।

प्रकाशित: १ आश्विन २०७६ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App