१६ चैत्र २०८० शुक्रबार
समाज

धेरैलाई थाहा छैन डेंगीबाट बच्ने उपाय

काठमाडौं – डेंगी रोगको बारेमा धेरैले सुने पनि कमलाई मात्र यो रोगबाट बच्ने उपाय थाहा भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्ले केही समयअघि गरेको अनुसन्धानमा ८० प्रतिशतलाई यो रोगबाट बच्ने उपाय थाहा नभएको पाइएको छ।

नौ वर्षअघि सन् २०११ मा भएको एक अध्ययनमा संलग्न कुल व्यक्तिमध्ये १३ प्रतिशतलाई मात्र डेंगीबाट बच्ने उपाय राम्रोसँग थाहा भएको पाइएको र बाँकीलाई थाहा नभएको पाइएको थियो। नौ वर्षको अवधिमा सो संख्या बढेर २० प्रतिशत मात्र पुगेको अनुमान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाको छ। ‘सन् २०११ को अनुसन्धानलाई आधार मान्दा डेंगीबाट बच्ने उपाय राम्रोसँग थाहा हुनेको संख्या २० प्रतिशतसम्म पुगेको हुनुपर्छ,’ झाले भने।

परिषद्ले नेपालमा फैलिरहेको डेंगीले जनमानसमा त्रास र अन्यौल फैलिरहेको सन्दर्भमा ठीक विधि अपनाउन सम्मेलनको आयोजना गरेको जनाएको छ। सो क्रममा परिषद्का अधिकारीहरुले सञ्चारकर्मीलाई ठीक सन्देश प्रवाह गर्न समेत आग्रह गरे।

‘गमला, छतमा जम्मा भएको पानी, टायर, ड्रम बाल्टिनमा जम्मा भएको पानी मात्र सफा गरे पनि लामखुट्टेको संख्या घट्छ,’ परिषद्का प्रमुख अनुसन्धान अधिकृत मेघनाथ धिमालले भने। सन् २०१० मा नेपालमा डेंगी फैलिएपछि परिषद्ले अनुसन्धान गरेको थियो। नेपालको तल्लो भूभागमा डेंगीबारे ५३ प्रतिशत र माथिल्लो भूभागमा १६ प्रतिशतले मात्र सुनेको अनुन्धानले प्रतिवेदनमा उल्लेख थियो।

डेंगीको लामखुट्टेले १८ सयदेखि २१ सय मिटरको उचाइमा प्रजनन गर्नसक्ने पाइएको छ। परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले सो रोगबारे सही ज्ञानको अभावमा मानिसहरुले आआफ्नो तरिकाले बच्न खोजे पनि सबै तरिका सही नभएको बताए। डेंगीको मुख्य कारण एडिस एजिप्टाइ र एडिस एल्वोपिक्टस नामक लामखुट्टेले सार्ने डेंगी भाइरसको भएको र यसको औषधि नभएकाले यसको टोकाइबाट बच्ने र लामखुट्टे तथा यसको गुँढ नष्ट गर्नुपर्ने धिमालले सुझाए।

यो लामखुट्टे बढीजसो बस्ने पानीको ड्रम, छतमा जम्मा भएको पानी, फ्रिजको पछिल्लो भाग, टायर, गमलाजस्ता ठाउँ साताको एक पटक सफा गर्ने गरे लामखुट्टेको संख्या घट्ने जनाइएको छ।

हाल लामखुट्टे भगाउन धुवाँ र फगिङ अपनाउनु न्दा जीव वैज्ञानिकको सहयोगमा जैविक विधि अपनाएर लार्भा र अण्डा नष्ट गर्ने अन्तर्राष्ट्रिय विधि शीघ्र अवलम्वन गर्न पनि विज्ञहरुले सुझाए। हाल विभिन्न स्थानमा लामखुट्टे मार्ने क्रममा उज्यालो ठाउँ तथा घरबाहिर फगिङ गरिरहिएको तर सो उचित तरिका नभएको उनीहरुले बताए। घरभित्र फगिङ गर्दा मानिसमा दमको रोग लाग्ने, बाहिर लामखु्ट्टे नहुने हुनाले नमर्ने हुँदा सो विधि उचित नभएको डा. झाले बताए।

प्रकाशित: ३१ भाद्र २०७६ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App