८ वैशाख २०८१ शनिबार
समाज

जग्गा दिने प्रलोभनमा ठगी

सुर्खेत– वीरेन्द्रनगर–११ का तुलबहादुर बस्याललाई पाँच जनाको परिवार पाल्न दैनिक मजदूरी गर्नुपर्छ। काम नपाइएको दिन उनको घरमा चुल्हो बल्दैन्। ‘खेती–किसानी गर्नका लागि जमिन छैन्,’ तुलबहादुरले भने, ‘काम पाइएको दिन पेटभरी खाइन्छ, नपाइएको दिन भोकभोकै पनि सुत्नुपर्छ।’ बस्यालको पुर्ख्याैली थलो दैलेखमा पनि जमिन थिएन्। गाउँमा मजदूरी गर्न समस्या भएपछि उनी प्रदेश राजधानी सुर्खेत झरे।

केही दिनअघि एक जना आफन्तले बाँकेको राप्तीपारी गरिवहरुका लागि निःशुल्क जमिन पाइने सुनाए। नागरिकता, फोटो र केही रुपैयाँ दिएर बस्यालले फारम भरे। ‘थोरै पैसामा पाँच कट्ठासम्म जमिन पाइन्छ भनेकाले मसँगै मजदूरी गर्नेहरुलाई पनि यस बारेमा सुनाएँ,’ उनले भने, ‘सबैले फारम भ-यौं, अहिले आएर मात्रै ठगिएको थाहा भयो।’

फारम भर्दा उनले सुरुमा एक सय रुपैयाँ दिए। त्यसपछि पटक–पटक गरेर पाँच हजार रुपैयाँ बुझाइसकेका छन्। ‘जमिन हेर्न जानु प-यो, गाडी भाडा चाहिन्छ भनेकाले पटक–पटक ऋण मागेर पाँच हजार रुपैयाँ दिएको थिएँ,’ उनले भने, ‘न जग्गा पाइने भयो, न ऋण गरेर दिएको पैसा फिर्ता आउने भयो।’

दाङका दामोदर परियार तीन वर्षअघि सुर्खेत आएका थिए। वीरेन्द्रनगर–११ स्थित पिपिरामा टेलरिङ व्यवसाय गर्दै आएका उनी पनि जग्गा पाइने आशमा ‘दलाल’को फन्दामा परे। ‘तिमीजस्तै गरिवहरुलाई फारम भराउनु, त्यसवापत थप पाँच कट्ठा जमिन दिन्छौं भनेका थिए,’ परियारले भने, ‘जग्गाको लोभमा पर्दा अहिले प्रहरी हिरासतमा बस्नु परेको छ।’

प्रहरीका अनुसार बाँकेको राप्तीपारी क्षेत्रमा सुकुम्वासीलाई निःशुल्क जमिन दिने भन्दै सुर्खेतमा विभिन्न व्यक्तिहरुबाट लाखौं रुपैयाँ संकलन गरिएको छ। ‘निःशुल्क जमिन उपलब्ध गराइदिने भन्दै पैसा संकलन गरिरहेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत शाहले भने, ‘यसमा ठूलै गिरोह संलग्न रहेको अनुमान गर्न सकिन्छ।’

प्रहरीले वीरेन्द्रनगर–६ का पूर्णबहादुर सार्की र वीरेन्द्रनगर–११ का दामोदर परियारलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले २५ थान नागरिकता र २७ हजार रुपैयाँ बरामद गरेको छ। प्रहरीले जमिनको प्रलोभनमा पैसा उठाउने ठूलै गिरोह संलग्न रहेको आशंका गरेको छ।

‘सर्वसाधारण जनतालाई जमिन दिने प्रलोभनमा पारेर सुर्खेतका धेरै व्यक्तिहरुबाट पैसा उठाएको पाइएको छ,’ उनले भने, ‘हामी अनुसन्धानकै क्रममा छौं, संलग्नहरुलाई पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाउँछौं।’ प्रहरीले पक्राउ परेकाहरुविरुद्ध ठगी मुद्धा दर्ता गरेको छ।

प्रकाशित: ३० भाद्र २०७६ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App