४ वैशाख २०८१ मंगलबार
समाज

मुक्त कमलरीलाई छात्रवृत्ति

कञ्चनपुर- उच्च शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले तीन जिल्लाका १ सय ६३ मुक्त कमलरीलाई उच्च शिक्षा सहयोग परियोजना अन्तर्गत सन् २००६ देखि उपलब्ध गराउँदै आइएको छात्रवृत्ति रकमले अहिलेसम्म निरन्तरता पाएको छ।    

उक्त परियोजना अन्तर्गत कमलरी बालिकालाई बैंकमार्फत उच्च शिक्षाका लागि दुई हजार ५ सय रुपैयाँका दरले छात्रबृत्ति रकम उपलब्ध गराउँदै आइएको प्लान इन्टरनेशनल नेपालका अधिकृत दयाराम चौधरीले बताए।     

कक्षा १२ सम्म अध्ययन गर्ने १ सय २६, स्नातक तहमा अध्ययन गर्ने २९ र तीनवर्षे प्राविधिक (स्वास्थ्य) अध्ययन गर्ने सात कमलरीलाई छात्रवृत्ति रकम प्रदान गर्दै आइएको उनले जानकारी दिए।     

अधिकृत चौधरीका अनुसार कञ्चनपुरका कक्षा १२ सम्म अध्ययनरत १७, स्नातक तहमा अध्ययनरत १२ र तीनवर्षे प्राविधिक शिक्षा अध्ययनरत दुई जनालाई पनि छात्रबृत्तिको व्यवस्था गरिएको छ।     

“उच्च शिक्षा अध्ययन गरेका कमलरीलाई सरकारी सेवामा पहुँच पुर्‍याउन लोकसेवा आयोगको तयारी कक्षाका लागि उक्त परियोजना अन्तर्गत जनही १८ हजार रुपैयाँका दरले रकम पनि उपलब्ध गराइँदै आएको र नेतृत्व विकास तथा सशक्तीकरणका लागि तालीम दिने व्यवस्थासमेत मिलाएका छौँ”, अधिकृत चौधरीले भने।     

मुक्त कमलरीलाई सरकारले उच्च शिक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिएको जनाए पनि सामुदायिक विद्यालयले विभिन्न शीर्षकका नाममा शुल्क लिंदै आएकाले अध्ययन गर्न नसकेर धेरैले विद्यालय छाड्नुपरेको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय सदस्य शान्ति चौधरीले बताइन्।    

कमलरीको शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरिए पनि हालसम्म स्थानीय तहले बजेट पाउन नसक्दा छात्रवृत्तिको कार्यक्रम अघि बढाउन सकिएको छैन।

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १३ हजार ८ सय ८२ मुक्त कमलरी बालिका रहेकामा एक हजार ३ सय ५९ ले मात्रै परिचयपत्र पाएका छन्।रासस  
 

प्रकाशित: ३० भाद्र २०७६ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App