६ वैशाख २०८१ बिहीबार
समाज

कृषिमा रमाउँदै गोगनेका नेपाल

भोजपुर - टेम्केमैयुम गाउँपालिका–८ गोगनेका शम्भुप्रसाद नेपाल अहिले व्यावसायिक कृषि कर्ममा रमाएका छन्। दानाबोटे फलफूल तथा कृषि फर्म दर्ता गरेका नेपालले बारीमा अहिले कागती, ड्रागनफ्रुटलगायतका फलफूल लगाएका छन्। यसका साथै कुखुरापालन पनि गरेका छन्। कुनै बेला आफैंले छाडेर सहर पसेका शम्भुले फर्केर व्यावसायिक कृषि कर्म थालेका हुन्। नेपालमा राम्रो बजार रहेको कागतीखेती थालेका उनले आम्दानीसमेत लिन थालिसकेका छन्। एउटा बोटबाट एक हजारसम्म कागती उत्पादन हुन थालेको छ।

धान फलिरहेको खेत मासेर कागती लगाएको उनको खेत अहिले बगानमा परिणत भएको छ। कागती खेतीबाट आम्दानी लिन थालिसकेका नेपालको बगानमा अहिले कागती खेती हेर्न आउनेहरूको क्रम बढेका छ। कागतीको साथमा उनले ड्रागनफ्रुटको पनि खेती गरेका छन्। करिब ४३ रोपनी जग्गामा १ हजार कागतीका बिरुवा छन्। हाल ८ सयभन्दा बढी बोटबाट आम्दानी लिन थालिसकेका छन्।

कागतीसँगै ३ सय बोट ड्रागनफ्रुट पनि लगाएका नेपालले आगामी तीन वर्षमा आम्दानी लिन सकिने उनको सोच छ। नेपालको फर्ममा पाँच सय लोकल कुखुरासमेत रहेका छन्। अस्ट्रोलो हेमसायर जातका पाँच सय कुखुराबाट दैनिक एक सयभन्दा बढी अन्डासमेत उत्पादन हुने गरेको छ। कागतीको बिरुवाको समेत माग हुँदै आएकोले अबको दिनको कागतीको बिरुवासमेत उत्पादन गर्ने नेपालले बताए।

२०४७ सालमा विराटनगर बसाइँ सरेका नेपालले गाउँमा नै केही गर्ने सोच बनाएर २०७० सालमा पहाड फर्किएका थिए। गाउँका मान्छेले सहरबाट गाउँमा आएकोमा कुरासमेत काटे तर आज नेपालले लाखौं आम्दानी लिन थालेपछि भने उनको सिको अरुले पनि गर्न थालेका छन्। उनले यो वर्ष १५ लाखको कागती बेच्ने लक्ष्य लिएका छन्। यो सिजनको सुरुआतमा १० हजार दाना कागती बेचिसकेका उनले तेह्रथुमे जातका कागती लगाएका हुन्। आगामी वर्षबाट वार्षिक २५ लाखको कागती बेच्न उनको योजना छ।

व्यावसायिक कृषि कर्ममा लागेका शम्भु नेपालको सोच अब भोजपुरको दूधलाई सहर पठाउने समेत रहेको छ। यसका लागि जिल्लाका विभिन्न ठाउँमा दूध संकलन केन्द्र स्थापना गरी दूधलाई सहर पठाउन विचार राखे। गाउँमा समृद्धि ल्याउनका लागि गाउँमा रहेका कृषकले उत्पादन गर्ने दूधलाई सहर पठाउने सोच रहेको छ।

यसका लागि टेम्केमैयुम गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुम्मा गाउँपालिका र अरुण गाउँपालिकामा संकलन केन्द्र राख्ने सोच रहेको बताए। यसबाट दैनिक संकलन भएको दूध गाडीमार्फत सहर पठाइने छ। यसको व्यवस्थापनको अगुवाइ भने गोगने दूग्ध उत्पादक सहकारीले गरिरहेको छ।

यसमार्फत तत्काल ४ सय ५० जना कृषकको घरको दूध संकलन गरिनेछ। यसका लागि स्थानीय तहको सहयोग पनि लिइने उनले बताए। गाउँमा खेर गइरहेको दूध बजारमा जाँदा मासिक २२ लाख जिल्लामा भित्रिने नेपालले बताए।

प्रकाशित: ३० भाद्र २०७६ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App