८ वैशाख २०८१ शनिबार
समाज

भीमेश्वर प्रदेश तीनकै पहिलो बालमैत्री नगर

दोलखाको सदरमुकाम चरिकोटमा भीमेश्वर नगरपालिकालाई प्रदेश तीनको पहिलो बालमैत्री नगर घोषणा गरिँदै। तस्बिर:रमेश/नागरिक

दोलखा  – दोलखाको भीमेश्वर नगरपालिका आइतबार प्रदेश नम्बर तीनकै पहिलो बालमैत्री नगर घोषणा भएको छ। बालअधिकार महासन्धिअनुसारका संरवकास, सहभागिता र बाँच्न पाउने अधिकार गरी चार तथा नेपाल सरकारले तयार गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ३९ सूचक पूरा गरेको भन्दै भीमेश्वर नगरपालिकालाई प्रदेश तीनको सामाजिक विकास मन्त्रालयले प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरेको हो।

सदरमुकाम चरिकोटमा आयोजित घोषणा सभामा प्रदेश तीनका सामाजिक विकास मन्त्री युवराज दुलालले बालमैत्री स्थानीय तह घोषणा कार्यविधिबमोजिम सबै प्रक्रिया पूरा गरेकाले भीमेश्वर नगरपालिकालाई प्रदेश तीनकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरे। त्यसअघि घोषणा सभामा जिल्ला समन्वय समितिका प्रमुख एवं बालमैत्री नगर अनुगमन समितिका संयोजक डबल पाण्डेले सूचांक पूरा गरेको प्रमाणपत्र नगर प्रमुख भरतबहादुर केसीलाई हस्तान्तरण गरेका थिए।

नगर कार्यपालिकाका प्रवक्ता एवं चार नम्बर वडाका अध्यक्ष हरिवंश चौलागाईले घोषणा हुनुअघि बालमैत्री स्थानीय शासनका १६ वटा खुड्किला पार गर्न नगरपालिका वडा तथा विद्यालयस्तरमा बालकोष स्थापना, बालमैत्री शासन समन्वय समितिको गठन, बालअधिकारका विषयमा वकालत गर्न बाल क्लब र सामुदायिक संस्थाहरुको गठन, बालमैत्री नीति, रणनीति तयारीका लागि कार्ययोजना तर्जुमा, बालमैत्री स्थानीय शासनको अवधारणाको अभिमुखीकरण विकास तथा विस्तारलगायत अभियान चलाएको सुनाए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बालअधिकारका सूचांकहरू पूरा गर्न नगरपालिकाले बालमैत्री कार्यक्रम सञ्चालन गरेको र त्यसलाई निरन्तरता दिइने बताए।

नगर प्रमुख केसीको सभापतित्वमा सम्पन्न बालमैत्री नगर घोषणा कार्यक्रममा दोलखा २ का प्रदेशसभा सांसद पशुपति चौलागाई, जिल्ला समन्वय समितिका प्रमुख पाण्डे, नेकपाका जिल्ला इन्चार्ज देवी खड्का, नेकपाका जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल, कांग्रेसका जिल्ला नेता केशब चौलागाईलगायतले बोलेका थिए।

प्रकाशित: ३० भाद्र २०७६ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App