coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

११ हजार कर्मचारीका लागि छिट्टै विज्ञापन

काठमाडौं - अब छिट्टै संघ र स्थानीय तहमा गरी ११ हजार कर्मचारीको पदपूर्ति हुने भएको छ। विभिन्न कारणले स्थानीय तहमा झन्डै ६ हजार र संघमा ५ हजार कर्मचारीका पदहरू रिक्त छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश लोकसेवा आयोग गठन हुनुअघि स्थानीय तहहरुले पदपूर्तिका लागि माग गरेका पदहरू लोकसेवा आयोगले पदपूर्ति गर्नेछ।

त्यसैगरी संघअन्तर्गतका निकायहरूमा रिक्त विभिन्न पद तथा सेवा समूहको समेत आयोगले विज्ञापन गर्नेछ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले केही प्रदेशमा लोकसेवा आयोग गठन भइसकेको र केही प्रदेशमा गठन प्रक्रिया चलिरहेकाले त्यसअघि माग भएका मात्रै आयोगले विज्ञापन गर्ने जानकारी दिए।

‘स्थानीय तहका लागि उनीहरूकै मागबमोजिम ९ हजार १ सय ६१ पदका लागि यसअघि नै लोकसेवा आयोगले माग गरी पदपूर्तिको प्रक्रियामा छ,’ मन्त्री पण्डितले नागरिकसँग भने, ‘अब त्यसपछि माग भएका स्थानीय तहहरूका लागि पनि पदपूर्ति गर्ने विषयमा लोकसेवा आयोगसँग छलफल भइरहेको छ। प्रदेश लोकसेवा आयोग गठन हुनुअघिसम्म स्थानीय तहबाट माग भएका पदहरूमा अब छिट्टै आयोगले विज्ञापन गर्नेछ।’ मन्त्रालयका अनुसार पहिलो चरणमा पदपूर्तिका लागि छुटेका स्थानीय तहहरूको झन्डै ६ हजारको हाराहारीमा पदपूर्ति हुनेछ।

त्यसैगरी मन्त्रालयले संघअन्तर्गत पनि झन्डै ५ हजारको विज्ञापन गर्ने तयारी गरेको छ। मन्त्री पण्डितले लोकसेवा आयोगले संघका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरिसकेकाले सोहीबमोजिम मन्त्रालयले आयोगलाई विवरण उपलब्ध गराउने र नियमित रूपमा पदपूर्ति अघि बढ्ने बताए। संघको हकमा भने केही पद र सेवा समूहबाहेक कर्मचारी समायोजनका कारण डेढ वर्षदेखि पदपूर्तिको प्रक्रिया रोकिएको थियो।

यसअघि आयोगले गत ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदको विज्ञापन गरेको थियो। आयोगको विज्ञापनलाई लिएर संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन समावेशी नभएको भन्दै लोकसेवाको विज्ञापन रोकेर करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएको थियो। तर मुद्दा परेपछि सर्वाेच्च अदालतले विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नभएको भन्दै अन्तरिम आदेश जारी गर्न नमानेपछि अहिले उक्त पदपूर्तिको प्रक्रिया चलिरहेको छ। सरकारले गत चैतमा निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दा आवश्यकताभन्दा बढी कर्मचारीलाई संघमा समायोजन गरेपछि ठूलो संख्याम प्रदेश र स्थानीय तहमा पदहरू रिक्त भएका हुन्।

प्रकाशित: ३० भाद्र २०७६ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App