coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अपराधको जालो तोड्दै सिरहा प्रहरी, चोरी गर्ने ३ जना पक्राउ, ४४ थान मोबाइल बरामद


सिरहा– गोलबजार नगरपालिका ४ स्थित राजु इन्टरप्राइजेज (मोबाइल पसल) बाट मोबाइल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। अर्नामा गाउँपालिका ३ लालपुरका १७ वर्षीय रामेश्वर साफी, सोही वडा ब्रहम्पुरी टोलका ३६ वर्षीय बिन्दुकुमार महतो र ३२ वर्षीय अरुणकुमार महतोलाई आइतबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।

भदौ २२ गते उक्त मोबाइल पसलको सटरमाथि रहेको भेन्टिलेसन फुटाएर २ लाख १५ हजार नगद, ३ लाख ५० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, विभिन्न ब्राण्डका ८ लाख ९६ हजार ८ सय रुपैयाँ मूल्य बराबरको ४४ थान मोबाइल गरि १५ लाख ९८ हजार ८ यस रुपैयाँको चोरी गरेको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान तथा खोजतलास सुरु गरेको थियो। 

घटनाको ६ दिनमै प्रहरीले चोरीमा संलग्न तीन जनासहित चोरिएका मोबाइल बरामद गर्न सफल भएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। एसपी चतुर्वेदीका अनुसार चोरीमा संलग्न मुख्य आरोपी रामेश्वर साफीको लालपुरस्थित घरबाट विभिन्न कम्पनीका २४ थान मोबाइल, १ लाख ३५ हजार ५ सय नगद र चोरीमा प्रयोग गरिएका औजारहरु बरामद गरिएको छ। 

पक्राउ परेका विन्दु कुमार महतोले विष्णुपुर गाउँपालिका १ मा सञ्चालन गरेको मोबाइल पसलबाट चार थान मोबाइल र ६५ हजार ८ सय ६५ रुपैयाँ बराबरको रिचार्ज कार्ड र १४ हजार १ सय ५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अर्का अरुण कुमार महतोले सञ्चालन गरेको मोबाइल पसलबाट ३ हजार बराबरको रिचार्ज कार्ड बरामद गरिएको प्रहरीले जनाए।

उमाप्रसाद चतुर्वेदी सिरहा प्रहरी प्रमुख भएर आएपछि यहाँ अपराधी धमाधम पक्राउ पर्न थालेका छन्। डिएसपी छँदा लहानमा दबंग प्रहरीको छवि बनाएका चतुर्वेदी जिल्ला प्रमुख भएर दोस्रो इनिङमा पनि अपराध र अपराधीविरुद्ध निर्मम रुपमा प्रस्तुत भएका छन्। चतुर्वेदी जेठ १७ गते प्रहरी प्रमुखका रुपमा सिरहा आएका हुन्।  

उनी आएपछि सिरहामा लागुऔषध, चोरी तस्करी नियन्त्रण, लैंगिक हिंसा, अपराधविरुद्ध प्रहरी सक्रियता बढेको छ। चालु आर्थिक वर्षमा चोरीका १२ मुद्दा दर्ता भएका छन्। १७ प्रतिवादी मध्ये १२ प्रतिवादी पक्राउ परिसकेका छन्। गत वर्षमा(आर्थिक वर्ष ०७५/७६) चोरीका ६४ मुद्दा दर्ता थिए। ८८ प्रतिवादीमध्ये ६८ मात्र पक्राउ परे। २० जना अझै फरार छन्।  

खुला सीमानाका कारण सिरहाको मुख्य चुनौतीको रुपमा रहेको लागुऔषधको कारोवारीविरुद्ध पनि सीमादेखि सहरसम्म प्रहरीले विशेष निगरानी बढाएको छ। जसकारण दैनिकजसो लागूऔषध सहित मानिस पक्राउ पर्दैछन्। करिब दुइ दर्जन लागूऔषध कारोबारी समेत पक्राउ परेका छन्। सय भन्दा बढी साना व्यापारी पनि प्रहरीको फन्दामा परेको चतुर्वेदी बताउँछन्। जिल्लामा लागूऔषध कारोवारको संगठित सञ्जाल तोडिएको उनको दाबी छ। उनी भन्छन्, ‘खुल्ला सीमानाका कारण लागूऔषधको कारोबारमाथि पूणतः काबु पाउन गाह्रो छ।’ 

धाकधम्की देखाउने, गुण्डागर्दी गर्ने, अवैध काम गर्नेहरु अहिले हच्कीएका छन्। विभिन्न शक्तिको आड लिएर प्रहरीलाई केही गर्न सक्दैन भनेर दम्भ देखाउनेहरुको मनोबल कमजोर हुँदै गएको छ। सर्वसाधारणहरु आफ्ना गुनासा, समस्या बेरोक प्रहरी अधिकृत र प्रमुखसम्म सुनाउन सक्ने वातावरण निर्माण भएको छ। बिचौलियाको प्रवेशलाई जिल्लादेखि मातहतसम्मै निषेध गरिएको चतुर्वेदीले बताए। पीडित स्वयम प्रहरी अधिकृत समक्ष आफ्ना पीडा सुनाउने वतावरण बनेको छ, बन्दै छ, उनले भने। अपराध गर्ने अपराधिहरु बिरुद्ध कडा एक्सन र सर्वसाधारण नागरिकसँग मधुर व्यवहार गर्न जिल्लादेखि मातहतका सवै प्रहरी इकाइलाई मेरो निर्देश छ, उनले भने।

प्रकाशित: २९ भाद्र २०७६ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App