८ वैशाख २०८१ शनिबार
समाज

फाेटाेमा साक्षरताकाे सन्देश

काठमाडौं - शारिरीक असक्षता भएका स्कुले विद्यार्थी पढ्ने अवधिमा यार्सागुम्बा संकलनमा जान बाध्य फोटो बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको भित्तामा झुण्डाइएको छ। गत भदौ २२ देखि सुरु भएको ‘बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि’ नामक फोटो प्रदर्शनी झुण्डाइएको सो फोटोले शिक्षा महत्व झल्काएको छ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रको सहकार्यमा फोटो पत्रकार क्लबले आयोजना गरेको प्रदर्शनीमा फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट ४२ वटा फोटोहरू प्रर्दशनीमा राखिएका थिए। सो प्रतियोगितामा देशभरबाट १ सय ८२ जना फोटोग्राफरहरुले पठाएका ६ सय ३६ फोटोहरुमध्ये निर्णायक टोलीले विजेतासहित उकृष्ट ५४ फोटोहरु छनोट गरेका थिए।

देशको शिक्षाको स्थिति, स्कुले विद्यार्थी र शिक्षकबीचको सम्बन्ध, नेपालको बहुभाषिय र अन्तरसंस्कृति झल्काउने फोटो प्रदर्शनीमा समावेश भएका थिए। प्रतियोगितामा वीरगन्जका पंकज श्रेष्ठले खिचेको (फरक क्षमता ) अटिजमका विधार्थीलाई पढाउँदै गरेको फोटोले विजेता घोषित भएको थियो। त्यस्तै सुनिता डंगोलले खिचेको ललितपुरको जिवित देवीका रुपमा पुजिने कुमारीलाई पढाउँदै गरेको फोटोले दोस्रो र काठमाडौंको नक्सालमा रहेको केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थी सांकेतिक भाषामा एक अर्कासँग कुराकानी गरिरहेको अनिस रेग्मीले खिचेको फोटो तेस्रो भएको थियो।

फोटोग्राफर नारायण महर्जनले ललितपुरको खोकनामा एक आमाले गलैँचा बुन्दै छोरीलाई पढाउँदै गरेको फोटो प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनीमा फोटो पत्रकार विजय राईले खिचेको कपिलवस्तुको कृष्णनगर मदरसामा मुस्लिम समुदायका बालबालिकाहरु उर्दु भाषा सिक्दै गरेको फोटो समावेश गरिएको छ। प्रदर्शनीमा राखिएका ४२ वटा फोटोले नेपालको बहुभाषिक परिवेशमा शिक्षाको सिकाइलाई जोड दिएको जानकारी फोटो पत्रकार क्लबका प्रवक्ता दीपेश श्रेष्ठले भने। ‘प्रदर्शनीले भाषिक र सांस्कृतिक विविधता भएको नेपालमा बहुभाषिक शिक्षणको प्रभावकारीतालाई बुझ्न सहज बनाएको थियो,’ उनले भने।

प्रकाशित: २९ भाद्र २०७६ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App