८ वैशाख २०८१ शनिबार
समाज

संस्थानको एकाधिकार तोड्ने सरकारी संकेत

काठमाडौं - वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आयोडिन नुनको बिक्री–वितरणमा साल्ट ट्रेडिङको एकाधिकार तोडी निजी क्षेत्रलाई संलग्न गराउन सरकारले नीतिगत निर्णय गर्न लागेको घुमाउरो पाराले स्वीकार गरेका छन्। साल्ट ट्रेडिङको ५७औं वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले नुनको आयात गर्ने जिम्मेवारी निजी क्षेत्रलाई दिँदै छ भन्नेमा सत्यता नभएको बताए पनि सार्वजनिक निर्णयसम्बन्धी उनको धारणाले भने निजी क्षेत्रलाई पनि त्यो अधिकार दिन सक्ने स्पष्ट पारेको छ।

‘त्यस्तो निकासी पैठारी आदेश जारी हुँदा सरकारले आवश्यकता ठान्यो भने सरकारी संस्थान वा निजी क्षेत्रमार्फत पनि वस्तुको आवश्यकताका आधारमा मगाउन सक्ने भनिएको छ,’ निर्णयको बचाउ गर्दै उनले भने, ‘यसले आपत्विपत् पर्दा अपर्झट मगाउनुपर्दा त्यसका लागि बाटो खोलेको हो, नुन, चिनी, तेल ल्याउन दिनुप-यो भनेर कतै छलफल भएको छैन।’ उनको यो अभिव्यक्तिले निजी क्षेत्रलाई पनि प्रतिस्पर्धी गराउने कुराको संकेत गर्छ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा साल्ट ट्रेडिङका सञ्चालक नवराज ढकालले पनि निजी क्षेत्रलाई आयातको जिम्मा दिने विषयको खण्डन गर्दै भने, ‘अहिलेसम्म मन्त्रालयमा त्यस्तो निर्णय भएको छैन तर भइहाल्यो भने साल्ट ट्रेडिङ निजी क्षेत्रसँग प्रतिस्पर्धा गरेर काम गर्न तयार हुनुपर्छ।’ कार्यक्रममा अन्य वक्ता २०७३ सालदेखि साल्ट ट्रेडिङले नुनको बिक्री–वितरणमा पूर्ण जिम्मेवारी पाई त्यसलाई कुशलतापूर्वक निभाएकाले विकल्पमा छलफल नगर्न आग्रह गरेका थिए। साल्ट ट्रेडिङले वितरण प्रणाली चुस्त बनाइसकेकाले अन्य निकायबाट यसरी बिक्री–वितरण सम्भव नभएको बताएका थिए।

कार्यक्रममा मन्त्री यादवले दसैं तिहारमा सुपथ मूल्यको पसल खोल्ने अरू समय मनपरी मूल्य असुल्ने गरेको भन्दै पर्वमा सहुलियत मूल्य र अरूबेला सुपथ मूल्यमा सामानको बिक्री–वितरण हुनुपर्नेमा जोड दिए। ‘दसैंतिहारमा अभावको मौका छोप्ने र कालोबजारी गर्ने प्रवृत्ति छ। यसपालि कसैले बजारको भाउ पनि बढाउन पाउँदैन र अभाव पनि सिर्जना गर्न पाउँदैन,’ मन्त्री यादवले भने, ‘यसको नियन्त्रणका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालय, माताहतका विभाग, अन्य निकाय, तीनवटै सरकार र निजी क्षेत्रबीच व्यापक छलफल भएर बजार व्यवस्थित बनाउने कुरामा सहमति भएको छ।’
साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले नुनका अतिरिक्त साल्ट ट्रेडिङ्गले अनुदानमा रासायनिक मल, मोरङ सुगर मिलको आधुनिकीकरणमा सहयोग, उन्नत बीउ प्रशोधन र गुणस्तरीय खाना पकाउने ग्याँसको बिक्री–वितरण गर्दै आएको बताएकी थिइन्।

उनले साल्ट ट्रेडिङकै सक्रियतामा मुलुकभर ९० प्रतिशत परिवारमा आयोडिनयुक्त नुनको उचित प्रयोग गर्न सम्भव बनाएको बताइन्। श्रेष्ठले दसैं, तिहार र छठलाई लक्षित गरी खोलिएको सहुलियत पसल प्रभावकारी बन्दै गएको, मोबाइल भ्यानमार्फत पनि बिक्री वितरण भइरहेको र केही थप स्थानमा सहुलियत मूल्य पसल राख्ने तयारी भएको बताइन्।

प्रकाशित: २८ भाद्र २०७६ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App