८ वैशाख २०८१ शनिबार
समाज

बलात्कार मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

उदयपुर– बलात्कार अभियोगमा दोषी ठहर भई फरार रहेका उदयपुरका एक अभियुक्त २२ वर्षपछि पक्राउ परेका छन्। ०५२ सालमा स्थानीय एक महिलामाथि सामुहिक बलात्कार गरी फरार रहेका साविक देउरी गाविस ५ भई हाल त्रियुगा नगरपालिका ४ का ४३ वर्षीय हरिनारायण सदा बिहीबार पक्राउ परेका हुन्। 

१९ वर्षको उमेरमा बलात्कार अभियोगमा संलग्न उनलाई जिल्ला अदालत उदयपुरले ०५३ मा निर्दोष भन्दै सफाई दिएपछि पीडित परिवार तत्कालीन पुनरावेदन अदालत राजविराज गएको थियो। पुनरावेदनले ०५५ पुस २० गते उनलाई दोषी करार गर्दै ४ वर्षको कैद सजाय सुनाएको थियो। तर, दोषी ठहरिएलगत्तै फरार सदालाई सिराहाको लाहानमा लुकिछिपी बस्दै आएको सुराकी पाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

२२ वर्षसम्म लुकीछिपी बस्दै आएको सुराकीका अनुसार अदालतका सुरक्षाकर्मी असई मदन श्रेष्ठ र कार्यालय सहयोगी नारायण ढकालको टोली गएर लाहानबाटै उनलाई पक्राउ गरी अदालत हाजीर गराएको प्रहरीले जनाएको छ। सदालाई बिहीबारै कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको अदालतका तहसिलदार कुलबहादुर खत्रीले बताए। 

अदालतका स्रेस्तेदार राजकुमार आचार्यका अनुसार बलात्कार आरोपमा उनीसँगै अन्य दुईजना अभियुक्त पनि संलग्न थिए। उनीहरु अझै फरार रहेका छन्। सुरक्षाका कारण उनीहरुको नाम ठेगाना भने खुलाउन नमिल्ने स्रेस्तेदार आचार्यले बताएका छन्। 

प्रकाशित: २७ भाद्र २०७६ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App