३० असार २०७७ मंगलबार
समाज

वर्षा नहुँदा खडेरीको सम्भावना

धनुषा- प्रदेश सरकारको ‘हात हातमा जागिर र खेत खेतमा पानी’ भन्ने नारा! नारामै सीमित हुने आशंका सरोकारवालाहरुले गरेका छन्।

अहिले किसानको घाउमा मलहम लगाउने समयमा प्रदेश सरकार साइकल वितरण गर्ने कार्यक्रममा व्यस्त देखिन्छ। लामो समयदेखि तराईका आठ जिल्लामा वर्षा हुन नसक्दा खडेरीको सम्भावना बढेर गएको सम्बद्ध किसान बताउँछन्।     

समयमा वर्षा नहुँदा तथा सिंचाइको अभावमा अधिकांश जिल्लामा धान रोपाइँमा असर परेको छ भने रोपिएका धान पानीको अभावमा सुक्न थालेको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ६४ हजार ६ सय हेक्टरमा धानखेती हुँदै आएकामा करीब २५ हजार हेक्टर सिञ्चित क्षेत्र रहेको र बाँकी असिञ्चित क्षेत्र रहेको छ।     

कमला सिंचाइ, हर्दिनाथ सिंचाइ, बालगङ्गा सिंचाइ लगायत सिंचाइ आयोजनाबाट १२ हजार हेक्टर जग्गामा सिंचाइ हुने गरेको उक्त केन्द्रले जनाएको छ। लामो समयदेखि तराई–मधेश क्षेत्रमा वर्षा नहुँदा लहलहाउँदो धान अहिले सुक्न थालेको छ। वर्षातका बेला बाढी पसेको मौकामा रोपाइँ गरेका कृषक लामो समयसम्म पानी नपरेर धान सुक्न थालेपछि चिन्तित बनेका छन्।     

बाढीको बेला खेतमा लगाइएको धानखेत अहिले पानी नपर्दा चिराचिरा परेको उनीहरूले बताए। बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका किसान महेश यादवले पानी नपर्दा एक बिघा जमीनमा लगाएको धान सुक्न थालेको छ भने। उनले जोड दिए, “लामो समयदेखि पानी नपर्दा मोटरबाट पानी लगाउने गरेका छौँ, सिंचाइको व्यवस्था नहुँदा कल (ट्युबवेल) बाट खेतमा पानी लगाउँदै आएका छौँ तर त्यसले केही धान्दैन।”     

मिथिला नगरपालिकाका युवा नेता सोमप्रसाद शर्माले लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएको धान सुक्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ सुविधा छैन, तर अहिले धानमा पर्याप्त पानी जम्नुपर्ने बेला हो।”    

क्षीरेश्वरनाथ नगरपालिका वडा नं ४ का वडाध्यक्ष तथा कृषक जगदीश यादवले समयमा पानी नपरेर किसानले खेतमा लगाएको धानबाली सखाप हुने अवस्थामा पुगेको बताए। जिल्ला समन्वय समितिका सभापति रामदेव यादवले ‘पम्पसेटबाट जसोतसो खेतमा पानी लगाउँदै आइएको छ तर यसबाट लगाइएको पानी खेतमा लामो समयसम्म नटिक्ने र पानी अभावले गर्दा धान उत्पादनमा कमी आउने गुनासो गरे।     

लामो समयदेखि पानी नपरेर धानखेत चिराचिरा पर्न थालेपछि जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले सिंचाइको सुविधाका लागि पहल थालेका छन्। जनकपुरधाम उपमहानगरपालिका– २१ लोहनामा सिंचाइका लागि वर्षौं पहिले गाडिएका १२ इञ्चका दुई वटा डिप बोरिङबाट लोहना र देवडिहामा तत्काल सिंचाइ सुविधा पुर्‍याउने तयारी थालिएको छ।     

उपमहानगरपालिकाले किसानको खेतमा डिप बोरिङको पानी पुर्‍याउन पाँच लाख रुपैयाँ पेस्की निकालेर डिप बोरिङ मर्मत सुधार र कुलो निर्माणको काम शुरु गरिसकेको उनले बताए।     

प्रदेश २ को कृषि निर्देशनालयका निर्देशक ओमप्रकाश विराजीले प्रदेश २ को १ सय ३६ स्थानीय तहमा पाँच लाख ४७ हजार २ सय २६ हेक्टर जग्गा खेतीयोग्य रहेकामा पछिल्लो केही वर्षयता खेती गर्ने क्रम घट्दै गएर अहिले पाँच लाख २६ हजार ६५ हेक्टर जग्गामा मात्रै खेती हुँदै आएको बताए।     

खेतीयोग्य जग्गा पाँच लाख २६ हजार हेक्टर भए पनि प्रदेशको सिञ्चित क्षेत्रफल एक लाख १५ हजार ५ सय १५ हेक्टर मात्रै छ। यसपटक आठ जिल्लामा ४ सय ५० थान स्यालो ट्युबवेल वितरण गरिएकाले आकाशे पानीको भरमा खेती गर्नेलाई पनि सिंचाइका लागि केही सहज हुनुपर्ने उनको भनाइ थियो।     

निर्देशक विराजीले कमला र वाग्मती डाइभर्सन नबनेसम्म प्रदेश २ का खेतीयोग्य जग्गामा खेती गर्न सधैँ समस्या रहने बताए। प्रदेश सरकारकोे नीति तथा कार्यक्रममा सुनकोशी–कमला डाइभर्सन प्रोजेक्ट, सुनकोशी–मरिन डाइभर्सन प्रोजेक्टलाई अगाडि बढाउन सङ्घीय सरकारसँग पहल गरिने जनाएको छ।    

सञ्चालित सिंचाइ परियोजना अन्तर्गत नारायणी सिंचाइ योजना, वाग्मती सिंचाइ योजना, कमला सिंचाइ योजना र कोशी सिंचाइ योजनालाई प्रदेश मातहत ल्याउन पहल गरिने प्रदेश सरकारको योजना छ।]

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जिल्लामा रहेका नदीनालामा बाँध बनाई कुलो पइनी मार्फत सिंचाइको प्रबन्ध गरिर्ने बताए।रासस

प्रकाशित: २६ भाद्र २०७६ १८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App