४ वैशाख २०८१ मंगलबार
समाज

पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’को स्थापना

काठमाडौं– पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’को स्थापना भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कोषको घोषणा गरेका हुन्। 

काठमाडौं उपत्यकामा लामो समयदेखि परम्परागत रुपमा संचालनमा रहेका जात्रा पर्वमध्ये ईन्द्रजात्रा लगायत उक्त अवसरमा संचालन हुने जात्रापर्वको संचालन तथा व्यबस्थापन गर्नका लागि मन्त्रिपरिषद्को भदौ २० को बैठकले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ को स्थापना गर्ने गरेको निर्णय अनुसार उनले कोष स्थापनाको घोषणा गरेका हुन्।

सो अक्षय कोष सञ्चालन समितिको अध्यक्ष काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रहेका छन्। अध्यक्ष कोषको घोषणा गर्दै मन्त्री भट्टराईले कोषमा नेपाल सरकारबाट रु. १ करोड ५० लाख, प्रदेश ३ सरकारबाट १ करोड, काठमाडौं महागरपालिकाबाट २ करोड र गुठी संस्थानबाट ५० लाख रकम जम्मा भएको जानकारी दिए। ‘काठमाडौ उपत्यकामा लामो समयदेखि परम्परागत रुपमा संचालनमा रहेका जात्रा पर्वहरुको विशिष्ठ खाले महत्व रहँदै आएको छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भने, ‘यहाँका जात्रा–पर्वलाई प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले पनि विशेष महत्वका साथ हेर्नुभएको छ। काठमाडौँ महानगरपालिकाका मेयरज्युको पहल, हाम्रो प्रयास र प्रधानमन्त्रीज्यूले विशेष चासो लिएकाले नै यो सम्भव भएको हो।’

मन्त्री भट्टराईले वर्तमान सरकार उपत्यकाको संस्कृति, संम्पदा र परम्पराप्रति सचेत छ भन्ने प्रमाण पनि यो भएको बताए। ‘वर्तमान सरकार उपत्यकाको संस्कृति, संम्पदा र परम्पराप्रति सचेत छ,’ उनले भने, ‘यो प्रारम्भिक प्रयास हो, आवश्यक पर्यो भने हामी रकम थप गर्न तयार छौँ। मन्त्री भट्टराईले कार्यविधी निर्माणको काम महानगरले नै गर्ने पनि बताए। उनले गुठीलगायतका विषयमा पनि सचेत रहेको भन्दै केही समस्या भए छलफल गरेर अघि बढ्न सरकार तयार रहेको जानकारी दिए।  

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले अक्षय कोष स्थापनाका लागि राष्ट्रपति विद्या भण्डारीको पनि विशेष चासो रहेको बताए। ‘मैले आज मात्रै पनि राष्ट्रपतिज्यूसँग भेट गरेको थिएँ,’ मेयर शाक्यले राष्ट्रपति भण्डारीको भनाई उद्धृत गर्दै भने, ‘उनले आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।’

मेयर शाक्यले अक्षय कोष स्थापनाका लागि गरेको प्रयास सफल भएको भन्दै खुशी व्यक्त गरे। ‘अब जात्रा–पर्वका लागि खर्च जुटाउँदै हिड्ने परम्पराको अन्त्य हुने हामीले अपेक्षा गरेका छौँ,’ उनले भने, ‘यहाँका संस्कृति, परम्परा र सम्पदाको महत्वलाई अझ बलियो बनाउनका लागि मेरो प्रयार निरन्तर रहने छ।’

कोष संचालक समितिको अध्यक्षमा मेयर शाक्यसँगै सदस्यहरुमो पर्यटन मन्त्रालयको प्रतिनिधि एक जना, प्रदेश तीन सरकारको प्रतिनिधि एक जना, गुठी संस्थानको प्रतिनिधि एक जना, दरबार हेरचाह अड्डाको प्रमुख, इन्द्रजात्रा  व्यवस्थापन समितिका अध्यक्ष र महानगरपालिका सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव रहने छन्। इन्द्रजात्राको संचालन सम्बन्धी कार्यविधि काठमाडौं महानगरपालिकाबाट निर्धारण भए बमोजिम हुनेछ।

प्रकाशित: २६ भाद्र २०७६ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App