१५ चैत्र २०८० बिहीबार
समाज

वडाध्यक्षहरुकाे सिडिओ र आयोजना प्रमुखलाई गुनासाेः मुख्य सडकमै एम्बुलेन्स गुड्न नसक्ने भो

सडक मर्मत गर्दै ट्याक्सी व्यवसायी । तस्बिरः नागरिक

गोरखा– ठेक्का लिएको लामो समय कालोपत्रे पुरा नभएपछि गोरखा सदरमुकामदेखि फिनामसम्मको करिब सात किलोमिटर सडक अहिले हिलाम्मे छ।  ठुला खाल्डा र वर्षातको पानीका कारण सडक बगेपछि एम्बुलेन्स जान मुस्किल छ।

‘स्थानीय सडक हिड्न नसक्ने भो भनेर बन्द गर्न दबाब दिइरहेका छन्’ वडा नम्बर ४ का अध्यक्ष खोपबहादुर अधिकारीले भने ‘हामीले सडकलाई भन्छौँ, सिडिओ र मेयर साबलाई पनि भन्छौं भनेर आएका हौँ केही दिन अझै काम भएन र सडक हिलाम्मे भयो भने स्थानीयले बन्द गर्छन्।’ सडकमा गाडी मात्रै होईन मानिस पैदल हिड्न सक्ने अवस्था पनि नरहेको उनको गुनासो छ।

२०७२ साउन ३१ गते ठेक्का लिएको काष्ठमाण्डप कन्ट्रक्सनले २०७४ मंसिर मसान्तसम्म पुरा गर्नुपर्ने काम अलपत्र छाड्यो। समयभित्र काम गर्न माग गर्दै स्थानीयले यसअघि पनि पटक–पटक आन्दोलन गरे तर ठेकेदारले काम सकेनन्। हिउँदमा धुलो र वर्षातमा हिलोले यात्रा गर्न सास्ती भएको गुनासो यात्रुहरुको छ। गत वर्षसम्म काम नसकेपछि उक्त आयोजना नै बजेट बिहिन भयो। आयोजना संचालन गर्ने कार्यालय एघार किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनामा बजेट नआएपछि पहिले काम गरिरहेका ठेकेदारले छाडे। ‘तीन वर्ष भयो काम भएको छैन’ आयोजनाका इन्जिनियर राजेश यादवले भने ‘पैसा नआएपछि ठेकेदारले काम छाडे हामीले पनि लगाउन सकेनौँ।’ कालोपत्रेको करिब ८० प्रतिशत काम सकेर दुई करोड ७१ लाख रुपैयाँ आयोजना कार्यालयबाट भुक्तानी लगिसकेको छ।

तीन करोड ३७ लाखमा ठेक्का लागेको सडकको समयमै काम नहुँदा बाँकी पैसा भने फिर्ता भएको थियो। ‘पहिले भएको काम पनि अहिले भत्किएर सडक हिलाम्य भईसक्यो’ गोरखा नगरपालिका ४ अध्यक्ष अधिकारीले भने ‘नाली भत्किएको छ, पानी जमेको छ, एकै पटक कालोपत्रे भएको भए हुन्थ्यो, अब फेरी सुरु देखि काम गर्नुपर्ने अवस्था छ।’ प्राविधिकहरुका अनुसार उक्त सडकको काम पुरा गर्न अब एक करोड रुपैयाँ भन्दाबढि लाग्छ।

सडकमा यात्रा गर्न सकस भएपछि उक्त सडकमा पर्ने गोरखा नगरपालिका ६, ८, ४, २ र १ गरी पाँच वटा वडाका अध्यक्षहरुले बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गरेका छन्। प्रजिअ देवेन्द्र लामिछाने र आयोजना प्रमुख रवीन्द्रलाल दासलाई अध्यक्षहरुले सडकको छिटो स्तोन्नती गर्ने बतावरण मिलाईदिन हारगुहार गरे। ‘गोरखा बजार भएर आरुघाट जाने मुख्य सडकको प्रवेशद्धार नै गाडी जान नसक्ने भएपछि आठ किलोमिटर पछि कालोपत्रे सडकको काम भएन’ वडा नम्बर १ का अध्यक्ष हिक्मतबहादुर कुँवरले भने। गोरखा नगरपालिकाको ६,८ र ४ मा पर्ने सडक हिलाम्य भएपछि १ र २ हुँदै भिमसेन थापा र आरुघाट जाने सडकमा यात्रा गर्न सकस भएको हो। उक्त सडक भएर दैनिक २० वटा यात्रुबाहक बस र निजी सवारी, मालवाह गरी सय हाराहारी चल्छन्।

प्रकाशित: २६ भाद्र २०७६ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App