७ वैशाख २०८१ शुक्रबार
समाज

बिरामीलाई धनगढी धाउनु पर्ने बाध्यता

मालाखेती अस्पतालमा विगत ११ महिनादेखि बिग्रिएको एक्स–रे मेसिन। तस्बिरः पुष्पराज जोशी/नागरिक

कैलाली - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीस्थित मालाखेती अस्पतालमा विगत ११ महिनादेखि एक्स–रे सेवा बन्द छ। गोदावरी नगरपालिका मातहतमा रहेको नगरपालिकाकै पुरानो मालाखेती अस्पतालमा रहेको एक्स–रे मेसिन बिग्रिएको ११ महिना पुगिसक्दा पनि मर्मत हुन सकेको छैन।

अस्पतालबाट सहुलियतरुपमा पाउँदै आएको एक्स–रे सेवा बन्द हुँदा गोदावरी नगरपालिकाका बिरामी महिनौदेखि मर्कामा छन्। ‘सामान्य हात खुट्टा भाँचिदा या मर्किँदा के भएको छ भनेर एक्स–रे गर्न समेत अहिले सेती अञ्चल अस्पताल पुग्नु पर्ने बाध्यता छ,’ स्थानीय जयकला पार्कीले भनिन्,‘धनगढी आउजाउ गर्न गाडी भाडा तिर्नुपर्ने र पालो पर्खदा पूरै एक दिन लाग्ने गर्छ।’

मालाखेती अस्पतालमा एक्स–रे सेवा नहुँदा दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि धनगढी जाँदा एक दिनको मजदुरी घाटा सहनुपर्ने बाध्यता रहेको उनले सुनाइन्। ‘हामी मजदुरी गरेर साँझ बिहानको छाक टार्नेहरुका लागि त आफन्त होस् या आफै हड्डी सम्बन्धि बिरामी हुँदा धनगढी धाउनुपर्ने बाध्यता भयो, जसले गर्दा एक दिनको रोजगारी गुम्छ,’ उनले दुःखेसो सुनाइन्।

मालाखेती अस्पतालमा गोदावरी नगरपालिकाका मात्रै नभई कैलालीको सीमामा जोडिएको कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट समेत उपचारका लागि बिरामी आउने गर्छन्। तर, पछिल्लो समयमा एक्स–रे मेसिन बिग्रदा भने बिरामी निजी क्लिनिक धाउनुपर्ने नभए सेती अञ्चल अस्पताल धनगढी पुग्नुपर्ने बाध्यता छ। विगत ११ महिनादेखि एक्स–रे सेवा ठप्प भएपछि भने अस्पतालका चिकित्सकले हाड जोर्नी सम्बन्धिका बिरामीलाई धनगढी रेफर गर्ने गरेका छन्।
    दुई वर्ष अघि स्वास्थ्य सेवा विभागले प्रदान गरेको एक्स–रे मेसिन एक वर्ष नचलेरै बिग्रिएको हो।

मेसिन गत कात्तिक ८ गतेका दिन चलाउँदा चलाउँदै बिग्रिएको अस्पतालका निमित्त प्रमुख डाक्टर शिवराज पनेरुले बताए। उनले भने,‘हामीले हाड तथा जोर्नी रोगका बिरामीको कात्तिक ८ गतेका दिन एक्स–रे विभागमा अन्तिम बिल काट्यौँ, त्यसपछि भने मेसिन नै बिग्रिएर थन्किएको छ।’ बनाउने प्रयास गर्दा पनि नबेनको र नगरपालिकालाई पटक पटक लिखित र मौखिक खबर समेत गरिएको उनले बताए। एक्स–रे मेसिन बनाउने तथा अस्पतालको सम्पूर्ण आर्थिक कारोबार नगरपालिकाको जिम्मा रहेकाले आफूले केही गर्न नसकेको डा. पनेरु बताउँछन्।

‘मेसिन बनाउनका लागि हामीसँग आर्थिक अधिकार छैन,’डा. पनेरुले भने,‘हामीले मेसिन बिग्रिएको खबर गरेका हौँ, अहिलेसम्म बन्न सकेको छैन।’ एक्स–रे मेसिन बिग्रनु अघि दैनिक १० देखि २५ जना हाड जोर्नी तथा नशा सम्बन्धिका बिरामी आउने गरेको समेत उनले बताए। अस्पतालले एक्स–रेको न्युनतम शुल्क एक सय ३० रुपैयाँ राखेको थियो। सस्तो शुल्क र सहज रुपमा आफ्नै गाउँघरमा सेवा पाएका बिरामीलाई अहिले भने समस्या भएको उनले बताए।   

यो एक्स–रे मेसिनसँगै अस्पतालमा पुरानो एक्स–रे मेसिन समेत रहेको उनले बताए। ‘हामीसँग पुरानो एक्स–रे मेसिन पनि छ,’ उनले भने,‘त्यो मेसिन पनि पहिल्यै बिग्रिएको थियो, त्यसपछि नयाँ मेसिनले पनि काम गर्न छोड्यो।’ दुई–दुई वटा एक्स–रे मेसिन हुँदा पनि एउटा मेसिन समेत काम लाग्ने अवस्थामा नरहेको उनले बताए। आफू अर्थोको डाक्टर भए पनि एक्स–रे मेसिन नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न नसकिएको उनी बताउँछन्। ‘म हाड जोर्नी तथा नशा रोगको डाक्टर हुँ,’ उनले भने,‘त्यही बिरामी पत्ता लगाउने मेसिनै बिग्रिएपछि मैले सेवा नै दिए पाइरहेको छैन।’ अस्पतालको सामान बिग्रएपछि मर्मतका लागि भनेर आफूहरुले नगरपालिकालाई अनुरोध पत्र  लेखेको बताउँदै उनले भने,‘एक्स–रे मेसिन बिग्रिएपछि हामीले नगरपालिकालाई खबर ग¥यौँ, नगरपालिकाले  अहिले ध्यान दिएको छैन।’  

गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर खड्काले बन्द अवस्थामा रहेको एक्स–रे सेवालाई सुचारु गर्नका लागि नगरपालिकाले पटक–पटक अस्पताल प्रशासनलाई निर्देशन दिएको बताए। ‘हामीले नगरपालिकाबाटै बन्द रहेको सेवा सुचारु गर्न के चाहिन्छ भनेर पटक पटक अस्पताल प्रशासनलाई खबर गरेकै हौ,’ उनले भने,‘अस्प्ताल प्रशासनले पनि चासो दिनु प¥यो।’ अब चाँडै बिग्रिएको एक्स–रे मेसिन बनाउन पहल थाल्ने उनले बताए।

  ‘मैले नै केही दिन अघि एक्स–रे मेसिन उपलब्ध गराउने नेपालगन्जको डिलर प्रमुखसँग कुराकानी गरिसकेको छु,’ उनले भने,‘उताबाट पनि चाँडै मान्छे पठाउँछु भनेको छ।’ नयाँ मेसिन चलाउँदा चलाउँदै बिग्रिएकाले कम्पनीलाई नै अर्को मेसिन उपलब्ध गराउनका लागि पत्राचार पनि गरिएको उनले बताए। ‘एक्स–रे मेसिन नयाँ भएको र धेरै नचल्दै बिग्रिएकाले अस्पताल प्रशासनबाट टिप्पणी लेखाएर मेसिन कम्पनीलाई पठाएका छौँ,’ उनले भने,‘उताबाट पनि सकारात्मक कुरा आएको छ। हामी चाँडै बिग्रिएको मेसिन साटेर नयाँ मेसिन ल्याउँछौ र सेवा सुचारु गर्छौ।’

प्रकाशित: २६ भाद्र २०७६ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App