१६ चैत्र २०८० शुक्रबार
समाज

इन्द्रजात्रा हेर्न विदेशी पाहुना

काठमाडौं – इन्द्रजात्रा अवलोकनका लागि महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ नगरबाट ५ मेयरसहित ४८ पाहुना बिहीबार नेपाल आउने भएका छन्। बुधबार काठमाडौं महानगरपालिकाले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।

इन्द्रजात्रा अवलोकनका लागि ७ महिनादेखि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरुलाई निमन्त्रणा पठाउन थालिएको महानगरले बताएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका मेयर गुहे ओ, बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जी, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थदिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली आउने पत्र प्राप्त भएको जनाइएको छ। त्यस्तैगरी चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली पनि नेपाल आउने पक्का भएको छ।

काठमाडौं उपत्यकालाई एकीकृत पर्यटन प्रवर्धन गर्न इन्द्रजात्रा अवलोकनका लागि पहिलो पटक अन्तर्राष्ट्रिय नगरका प्रमुख र प्रतिनिधिलाई सहभागी गराउन लागिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलनमा बताए। ‘काठमाडौं उपत्यकालाई एकीकृत पर्यटन प्रवर्धनमा गरे मात्र धेरै लाभ हुन सक्छ,’ उनले भने, ‘यसैलाई मध्यनजर राखेर प्रतिनिधि मण्डललाई महानगरसँगै उपत्यकाका महत्वपूर्ण सम्पदा क्षेत्रको भ्रमण अवलोकन गराउने लक्ष्य राखिएको हो।

उपत्यकाको ऐतिहासिक सम्पदाहरुको अवलोकन गराउने छौं।’ उनका अनुसार पाहुनाहरु बिहीबारसम्ममा नेपालमा आइपुग्ने छन्। उनीहरु ४ रात ५ दिन काठमाडौंमा बस्ने कार्यक्रम छ। अवलोकनमा आउने पाहुनालाई ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर, भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर दरबार स्क्वायर र चन्द्रागिरी नगरको समन्वयनमा चन्द्रागिरी क्षेत्रका भ्रमण अवलोकन गराउने योजना छ। गत मंगलबारबाट बसन्तपुर कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वज ठड््याएपछि यस वर्षको इन्द्र जात्रा सुरु भएको छ।

प्रकाशित: २६ भाद्र २०७६ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App