८ वैशाख २०८१ शनिबार
समाज

विपन्नको आधार बन्दै ‘कपडा बैंक’

काठमाडौं - अनामनगर, हनुमानस्थानबाट सिंहदरबार पूर्वी गेटबाट अघि बढ्दा दायाँपट्टि एउटा वरको रूख भेटिन्छ। रूखको फेदमा एउटा ठूलो ¥याकमा कपडाहरू झुण्डाइएको छ। साथै, जुत्ता तथा खेलौना र झोला पनि छन्। हालसालै खोलिएको ‘कपडा बैंक’मा पुराना तर लगाउन र प्रयोग गर्न मिल्ने सामान संकलन गर्ने गरिएको छ।

आवश्यक भएका तथा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका सदस्यले आफूलाई चाहिएको कपडा यहाँबाट छानीछानी लैजान सक्छन्। पैसा तिर्नु पर्दैन। सित्तैंमा लैजान सक्छन्। त्यस्तै, दुई÷चार पटक लगाएका वा कहिल्यै नलगाइएका पुरानो कपडा दिन पनि सकिन्छ। ‘कपडा बैंक’मा महिलाले लगाउने सारी, चोलो, पेटिकोट, कुर्था, सुरुवाल, सल, टिसर्ट आदि कपडा छन्। पुरुषका पेन्ट, सर्ट, हाफपेन्ट, टिसर्ट, गन्जीलगायतका तयारी कपडा पनि छन्, कपडा बैंकमा।

सित्तैंमा पाइने यी कपडा तथ सामान लिन बढीजसो विपन्न परिवारका महिला, बालबालिका र ज्येष्ठ नागरिक आउने गरेका बैंक चलाइरहेका अभियन्ता वीरबहादुर विष्ट बताउँछन्। फेसबुकमा ‘हन्ड्रेड्स गु्रप’ नाममा सञ्चालित समूहले ‘कपडा बैंक’ को सुरुवात गरेका हो। पुराना तर लगाउन र प्रयोग गर्न मिल्ने सामान संकलन गरेर उनीहरूले ‘कपडा बैंक’ चलाएका हुन्। अशक्त, अपांग र टुहुरा बालबालिका तथा दैवी प्रकोपले प्रभावित व्यक्तिलाई सहयोग पुगोस् भनेर ‘कपडा बैंक’ को सुरुवात भएको हो।

संघीय राजधानी काठमाडौंको अनामनगरमा कपडा बैंक सञ्चालन गरिएसँगै अहिले युवाले विभिन्न शहरमा पनि ‘कपडा बैंक’ सञ्चालन गरेका छन्। कपडा बैंक सञ्चालन भएसँगै मानिसहरुले कपडा दान गरिरहेका छन् भने विपन्न समुदायले सहज रुपमा निःशुल्क कपडा पाइरहेका छन्। सेवा नै धर्म हो भन्ने भावलाई युवा सक्रियताले मूर्तरुप दिइरहेको छ।

यस्ता ‘कपडा बैंक’ ललितपुरको जावलाखेल, झापाको विर्तामोड, दमक र भद्रपुर, चितवनको सौराहा, दाङको तुल्सीपुर र डडेल्धुराको भीमदत्त चोकमा पनि सञ्चालित छ। धनगढीमा युवा व्यावसायीको १५ लाख लगानीमा धनगढी उपमहानगरपालिकामा दुई वटा भवनमा ‘कपडा बैंक’ को सुरुवात गरिएको छ।

विदेशमा यस्तो प्रचलन पुरानै भए पनि नेपालमा भने यो नौलो नै छ। घरमा थुप्रिरहेका कपडा लिएर मानिसहरू कपडा दान गर्न आइरहेका छन् भने आवश्यकहरु लिन पनि आइरहेकै छन्। अभियन्ता विष्टका अनुसार आजसम्म १ हजार ४ सय ९८ जनाले कपडा सहयोग गरेका छन्। उनका अनुसार सडकमा गुजारा गरिरहेका २०÷२५ जना दैनिक रुपमा लुगा लिन आउने गरेका छन्। ‘कसैका लागि बेकामे कपडा कसैलाई उपयोगी हुन्छ। इच्छुकले यहाँ आएर कपडा दिन सक्नुहुन्छ,’ विष्ट भन्छन्।

आपूmसँग भएको पुराना कपडा दिँदा अलिकति भए पनि उपकार हुने कपडा दान गर्न आएकी बागबजारकी सुनिता मान्नधर बताउँछन्। ‘पुरानो सरसमान दिँदा हेपेको भन्छन् कि भन्ने भावनाले मानिसहरु सहयोग गर्न पछि सरिरहेका हुन्छन्,’ मानन्धरले भनिन्, ‘कतिपयको घरमा साइज नमिलेका कपडा पनि त्यत्तिकै थन्किएका हुन्छन्। फाल्न पनि नसकिने कसैलाई दिन पनि नसकिने अवस्थालाई बैंकले सहज बनाइदिएको छ।’

‘कतिपय कपडा दैवी प्रकोपमा परेका या संकटमा परेकाहरूलाई समेत वितरण गर्ने सोच बनाएका छौं तर यातायत खर्चको अभावमा सम्बन्धित ठाउँसम्म पुग्न सकेका छैनौं,’ विष्टले बताए। सबभन्दा खुसी ती भए जसले यहाँबाट सामान लैजान पाए। आफूलाई आवश्यक परेका तर किन्न नसकेका जुत्ता र लुगा सित्तैमा पाउँदा को खुसी नहोला !

जो कोहीले पनि कपडा ल्याएर दिनसक्ने भएकाले यो अभियानले सडकमा बस्ने असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्दत गर्ने ‘हन्ड्रेड्स गु्रप’ का सदस्य विमल पन्त बताउँछन्। ‘सहरमा धेरै मान्छे छन् जसले एउटै लुगा वर्षौंसम्म वा धेरै पटक लगाउँदैनन्,’ विमलले भने, ‘नच्यातिएका र लगाउन मिल्ने कपडालाई व्यवस्थापन गरेर सामाजिक काममा परिचालन गरेका हौं।’

सैनिक सेवाबाट अवकास पाएका श्याम थापा जावलाखेलका रैथाने हुन्। उनी सैनिक सेवामा रहँदादेखि नै समाजसेवामा सक्रिय रहन्थे। दीनदुःखीलाई सेवा गर्ने र सडकमा अलपत्र परेका असहायलाई उद्धार गरेर मानव सेवा आश्रम पु¥याउँथे। उनै थापाले अहिले जावलाखेलमा कपडा बैंक खोलेका छन्। कपडाको अभाव झेलिरहेका सडक बालबालिका र दीनदुःखीका लागि कपडा बैंक खोलेको उनी बताउँछन्।

विभिन्न जिल्लाका खोलिएको बैंकमा पनि व्यापारीका गोदाम र पसलमा मौसम सकिएर थन्किएका कपडा समेत संकलन गरेर ‘कपडा बैंक’मा ल्याउने गरिएको छ। घरमा प्रयोग नभएका कपडासमेत खोजीखोजी बैंकमा थुपार्ने गरिएको छ। धर्म र आस्था जोडिएको क्षेत्रमा प्रयोग गर्न मिल्ने कपडा संकलन र वितरण सुरु भएपछि विपन्न वर्गलाई धेरै सहज भएको विश्वास छ। प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडालगायतका मानव जीवनमा प्रयोगमा आउने सामान संकलन र वितरण गरिने कपडा बैंकका सञ्चालकहरू बताउँछन्।

प्रकाशित: २६ भाद्र २०७६ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App