६ वैशाख २०८१ बिहीबार
समाज

बराहपोखरीमा डुंगा, परीक्षणमै सीमित

परीक्षणका क्रममा बराहपोखरीमा डुंगा सयर गर्दै स्थानीय।

खोटाङ - पर्यटन प्रवद्र्धनका लागि खोटाङको बराहपोखरीमा ल्याइएको डुंगा परीक्षणमै सीमित भएको छ। पर्यटन प्रवद्र्धन हेतु ‘बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको करिब ३३० मिटर लम्वाई र २१० मिटर चौडाई भएको बराहपोखरीमा जलयात्रा गर्दै पर्यटक आकर्षित गर्नका ल्याइएको डुंगा परिक्षणमै सिमित भएको हो। नेपाल सरकारका सयवटा गन्तव्य सूचीमा समावेश गरिएको बराहपोखरीमा २०७४ चैत १० गतेदेखि डुंगा सञ्चालनमा ल्याइएको थियो।

पाइडलले चल्ने र एक पटकमा चारजना अट्ने तीनवटा डुंगा सञ्चालनमा ल्याइए पनि डुंगा सयरको व्यवस्थाले निरन्तरता पाउन नसकेको स्थानीय बताउँछन्। परीक्षणमै सीमित हुन पुगेको डुंगालाई व्यवस्थित र नियमित तरिकाले सञ्चालनका लागि पहल भइरहेको बराहपोखरीका वडाध्यक्ष टंक मगरले बताए। ‘बराहपोखरीमा बोटिङको काम निरन्तर हुन सकेको छैन,’ वडाध्यक्ष मगरले भने, ‘डुंगा सञ्चालन कार्यविधि, नियम र समिति बनाएर ठेक्कामा दिने तयारी गरिरहेका छौं। त्यसपछि बराहपोखरीमा नियमित जलयात्रा गर्न सकिन्छ।’

उचित संरक्षण र संवद्र्धनको अभावमा ओझेलमा रहेको सो पोखरीको पर्यटन प्रवद्र्धनका लागि आव २०७३÷७४ मा तत्कालीन सांसद (हाल प्रतिनिधि सभा सदस्य) विशाल भट्टराईको निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजन गरिएको बजेटमध्ये ६ लाख ५० हजारमा भारतबाट तीनवटा डुंगा ल्याएर जलयात्राको व्यवस्था मिलाइएको थियो। तर, हाल दुईवटा डुंगा बिग्रेर थन्किएका छन् भने एउटा मात्र डुंगा चालू अवस्थामा रहेको वडाध्यक्ष मगरले बताए।

उसो त दुईवटा डुंगा बराहपोखरीमा ल्याउने क्रममा बाटैमा बिग्रिएर मर्मत गरिएको थियो। बराहपोखरीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को प्रगतिका विषयमा जानकारी दिन गत साउन १९ गते काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य भट्टराईले लक्ष्यअनुसार डुंगा सञ्चालन नभएकोमा असन्तुष्टि जनाएका थिए।

मुहान र निकास हुने ठाउँ नदेखिए पनि बाह्रै मास टम्म पानी हुने विशेषता बोकेको बराहपोखरीमा शंखेश्वर महादेवको दर्शन गर्न आउने दर्शनार्थी एवं घुमफिरमा आउने पर्यटकको मनोरञ्जनका लागि डुंगा सञ्चालनमा ल्याइएको थियो। ४ दशमलव ४६ हेक्टरमा फैलिएको बराहपोखरीलाई डुंगा चलाएर आकर्षक गन्तव्यको रूपमा विकास गर्न नजिकैको राँकुली खोलाबाट पाइपबाट पानी ल्याएर हालिएको थियो।

‘अर्ध चन्द्राकार’ बराहपोखरीमा हरेक रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, माघे सङ्क्रान्तिका दिन सतबीज छर्ने चलन छ। ‘मुहान नदेखिने तर कहिल्यै नसुक्ने’ बराहपोखरीको पानी सुरुङबाट निकास हुने गरेको स्थानीय बताउँछन्। सधैं स्वच्छ पानीले भरिभराउ रहने निलो पोखरी चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेकाले माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ।

मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र बराहपोखरीको दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्यानीय बताउँछन्। विकास, संरक्षण र संवर्धन गर्दै जिल्लाकै प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने सम्भावना बोकेको बराहपोखरीमा पाइने दुर्लभ रातो माछाले समेत पर्यटकको मन लोभ्याउने गरेको बराहपोखरी संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष देवीप्रसाद रेग्मीले बताए। बराहपोखरी पुग्न धाप्लाङ–धर्तुङ–बराहपोखरी सडक सञ्चालनमा रहेको छ।

बराहपोखरीको पानीले स्नान गर्दा रोगव्याध निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यताअनुसार बराहपोखरीमा दर्शनार्थी तथा धामीझाँक्रीको भिड लाग्ने गर्छ।

पोखरीमा बालुवा भरिँदै
पर्यटन प्रवद्र्धनको सम्भावना भए पनि वर्षाको समयमा माथि डाँडाबाट झर्ने भलबाढीले बगाएर ल्याएको ढुंगामाटोले बराहपोखरीको आधा भाग ओगटिसकेको छ। छेउबाट ढुंगा, माटो र बालुवाले मिच्दै गएकाले अहिले पोखरी खुर्पा अर्थात् अर्धचन्द्राकारमा खुम्चिँदै गएको छ।

चारैतिर पहाडले घेरिएको र बीचको खाल्डोमा रहेको पोखरीको सुन्दरता र आकार नै बिगार्ने गरी थुप्रिएको ढुंगामाटो पन्छाउन योजना बन्ने गरेको भए पनि काम हुन नसकेको स्थानीयको गुनासो छ। थुप्रिएको ढुंगामाटो र बालुवा निकालेपछि मात्र बराहपोखरीको वास्तविक आकार र सुन्दरता देख्न सकिने स्थानीयले बताएका छन्।

प्रकाशित: २६ भाद्र २०७६ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App