१७ जेष्ठ २०७७ शनिबार
समाज

व्यवस्था फेरिएर मुहार नफेरिएपछि गाउँले भन्छन्- ‘न सरकार आयो, न विकास

आफ्ना बेहाल दिनचर्या सुनाउँदै धनगढीमाई नगरपालिका १४ का स्थानीय वृद्धाहरु । तस्बिरः मिथिलेश/नागरिक

धनगढीमाई (सिरहा)– धनगढीमाई नगरपालिका–१४ गागन टोलकी ७५ वर्षीया गंगामाया आलेमगर आकाशगंगा खोलाको पानी खान थालेको दसकौं बित्यो। घरबाट करिब तीन घण्टा हिँडेर पुगिने आकाशगंगा खोलामा कुवा खनेर संकलित पानीले धानेको उनको जिन्दगी अझै फेरिएको छैन्। वृद्धभत्ताका लागि उनी पहिला तत्कालिन गाउँ विकास समितिको कार्यालय धाउँथिन्। अहिले उही गाविस कार्यालयको नाम फेरिएर बनेको वडा कार्यालय पुग्छिन्। उपचारका लागि पहिलादेखि नै जिरोमाईल, गोलबजार र लहान जानु परिरहेको छ।

गंगामामाया भन्छिन्, ‘गाउँमै सबै सेवासुविधा आउने गरी व्यवस्था फेरिएको सुनेकी थिएँ, सबै झूट रहेछ। हाम्रो गाउँमा न सरकार आए, न विकास।’ विगतदेखि नै कष्टपूर्ण दैनिकीमा परिवर्तन नभएको उनले बताइन्। उनले भनिन्, ‘हामी गाविसबाट नगरपालिकाका नागरिक भयौं, यति हो परिवर्तन आएको। तर सुविधाका हिसाबले दुर्गम गाउँका बासिन्दाभन्दा पनि पछाडि छौं।’

धनगढीमाई –१४ मैनखोलाकी १९ वर्षीया तलिमाया आलेमगर डेढ महिनाअघि घरमै छोरा जन्माइन्। गर्भवती जाँच गराउनसमेत घन्टौं हिँडेर सहर गोलबजार पुग्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्। उनले भनिन्,‘आइरन चक्कीका लागि पनि सहरै पुग्नुपर्ने बाध्यता छ।’ बच्चा जन्माउन सहर पुग्नुपर्ने बाध्यताका कारण उनी पहिलो सन्तान घरमै जन्माइन्। सहर पुग्न तीन घण्टा हिंडेर टेम्पो चढ्नुपर्छ उनले भनिन्,‘सुत्केरी ब्यथा लागेपछि कसरी यत्रो हिँड्न सक्नु।’ त्यही भएर यहाँका अधिकत्तर महिला घरमै बच्चा जन्माउन बाध्य रहेको उनले बताइन्। दुई दिन ब्यथा लागेपछि घरमै छोरा जन्मेको उनले बताइन।

गाउँमा स्वास्थ्य चौकी नहुँदा मगर मात्र होइन, एकसय घरधुरीको यो बस्तीका बासिन्दा स्वास्थ्य उपचारका लागि गोलबजार, जिरोमाइल, लहान लहानलगायतका सहरमा पुग्छन्। ‘हामीलाई सरकारले हेरेको छैन, बिरामी हुँदा सकेसम्म सहने र दबाउने प्रयास गर्छौं’, उनले भनिन्, ‘दबाउन नसक्दा मात्र अस्पताल जान्छौं। सरकार बिरानो भए पनि भगवान् सहारा छ।’

धनगढीमाई नगरपालिका –१४ को ६ सय १८ घरधुरी मिश्रीत बस्ती। पूर्वपश्चिम राजमार्गदेखि झन्डै २० किलोमिटर उत्तर चुरेको फेदमा यो बस्ती छ। बस्ती पुग्ने बाटो सहज छैन भने विजुली, खानेपानी, अस्पताल पनि छैन। पाँच दशकअघि बस्ती विस्तार भएको टोलमा मगर, राई, कार्की, चौधरी,बुढाथोकीलगायत समुदायका गरी ६१८ घर छन्। ५० वर्षअघि र पछि पनि बस्तीमा कुनै परिवर्तन नआएको सुनाउँछन् ७६ वर्षिय कटरबहादुर कार्की।

देशमा पञ्चायत, बहुदल, गणतन्त्र, संघीयता आइसक्दा पनि आफूहरूको बस्तीमा कुनै परिवर्तन नभएको गुनासो उनीहरूको छ। सुकुम्बासी प्रमाण पुर्जा पाएको जग्गामा बसोबास गरेका उनीहरूलाई स्थानीय सरकार बनेपछि पनि परिवर्तनको आशा जागेको छैन। सर्रे, खुट्टी, महाजनी, मड्यान, मैनखोलामा खोलामा पुल नहुँदा वर्षामा उनीहरू बस्तीमै घेरिन्छन्। बस्तीमा ढुँगाको, झारको भित्ता तथा जस्ता र खरले छाएका घर छन्।

७५ वर्षीया कुमारी मगरले भनिन्, ‘बस्तीमा खानेपानी सुविधा छैन, खोलाको पानी प्रयोग गर्छौं। यसै नगरपालिकाको अर्को वडाहरुमा बिजुलीबत्ती बल्छ, तर हाम्रो बस्तीमा टुकी।’ चुनावका बेला नेताहरूले आफूहरूलाई भोटका लागि मात्रै प्रयोग गरेको कुमारीले बताइन्।

‘नेताले त ठगे नै हामीलाई नगरपालिकाले समेत ठगेको छ’, दिलमाया मगरले भनिन्, ‘गाविसबाट नगरपालिका भइसक्दा पनि विकासमा बेवास्ता गरेपछि हामीले आस मारिसकेका छौं।’ पहिलापनि गाविस आउन अढाई घण्टा ढुँगैढुँगाको बाटो हिँड्नुपर्ने बाध्यता थियो, अहिले नाम फेरिएको वडा कार्यालय धाउनपनि उतिकै कष्ट छ, उनले भनिन्। पहिलापनि भाले बासेसँगै पानी ल्याउन रैनी खोला जानुपथ्र्यो, अहिले पनि प्यास मेट्न उहि खोलाको भर छ, उनले भनिन्,‘ व्यवस्था फेरिएपनि हाम्रो बेहाल अवस्था फेरिएको छैन्।’ बस्तीका युवती मजदुरीका साउदी, कतार हानिन्छन्। ‘त्यहाँ उनीहरूले कमाएको आम्दानीबाट यहाँ घरपरिवार चल्छ।

बस्तीमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै भेटिन्छन्। ‘बस्तीका युवा मजदुरीका लागि बाह्रैमास खटिन्छन्’, उनले भनिन्, ‘टोलमा हामीजस्ता बृद्ध, महिला र केटाकेटी मात्रै छौं।’ उनका अनुसार काम गर्नसक्ने महिला पनि दाउरा लिन जंगल जान्छन्। दिनभर बस्तीमा वृद्धवृद्धा र केटाकेटी मात्र भेटिन्छन्।

स्थानीय तहको निर्वाचन भएको साढे दुई वर्ष बितिसक्दा पनि स्थानीयले गाउँमा सिंहदरबारको अनुभुति गर्न नपाएको धनगढीमाईका यी प्रतिनिधि नागरिक मात्र हुन्। गाउँमा सडक पुगेको छैन्। खानेपानी समस्या निवारण हुन सकेको छैन्। सञ्चार सेवामा जनताको पहुँच स्थापित हुन सकेको छैन। सहज आउजाउका लागि बाटाहरु बन्न सकेको छैन्, स्थानीय उत्पादनको बजारीकरण हुन सकेको छैन्। गाउँका सिंहदरबारले जनताको आवश्यकताका विकासका कार्यहरु अघि बढाउन नसकेकोप्रति स्थानीयहरुमा आक्रोशमिश्रीत निराशा देखिन्छ।

संघीयता कार्यन्वयनमा आउँदै गर्दा गाउँका सिंहदरबारले पछाडि परेकाहरुको उत्थान गर्ने आकांक्षा थियो, हातिढुंगाका गंगाबहादुर राउत भन्छन्, ‘त्यो सरकार न गाउँमा आयो, न हाम्रो बस्तीमै। उल्टै स्थानीयलाई सास्तीको अनुभुति भईरहेको छ।’ हाम्रो नियतीनै कष्टमा बाच्नुपर्ने भएपछि जुनै व्यवस्था आएपछि हाम्रो जिन्दगी कहाँ सजिलोगरि अघि बढ्छ, उनले चित बुझाए। राउतले भने,‘ गाउँमा सिंहदरबार आयो भन्छन्, ‘हामीलाई सिंह आएजस्तो मात्र लाग्छ, दरबार हराए जस्तो छ। पहिला पनि  सुगममै सुबिधा बाँडिन्थ्यो अहिलेपनि सुगममै सुबिस्ता छ। पहिला पनि हुनेखानेकै मनपरि थियो अहिलेपनि त्यही बर्गको रजाइँ छ।

राज्यले स्थानीय सरकारमार्फत राज्यप्रदत्त सेवा सुविधाबाट वञ्चित रहेका नागरिकालाई स्थापित गर्नुपर्ने हो। तर, राज्यको सुविधामा सधैं रजाइँ गर्दै आएको समुदायकै हालीमुहाली हुँदा पिँधका जनतामा निराशा फैलिन थालेको बुद्धिजिवि नविनकुमार यादव बताउँछन्।

स्मार्ट नगरमा अन्धकार
धनगढीमाई नगरपालिकालाई स्मार्ट नगर बनउने योजना घोषणा गरिएको छ। विकासको योजना प्रभावकारी रूपमा सञ्चालन गर्ने भनेर भौगोलिक नक्साकंनका लागि ‘ड्रोन क्यामेरा’ पनि उडाइयो। वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थामा डिजिटल हाजिरी गर्ने प्रविधि जडान गरियो। कार्यालयको गतिविधिमा निगरानी गर्न मेयरले कार्यालयमा जडान गरिएको सीसीटीभीको कनेक्सन आफ्नो मोबाइलसँग जोडेको छ। तर, यही नगरको वाड –१४ का बासिन्दाले आधारभूत सुविधा पनि पाउन सकेका छैनन्। बस्तीमा बिजुली नपुग्दा स्थानीयले अन्धकारमा रात बिताउनुपरेको छ। वडाका ६१८ घरधुरी टुकीको भरमा जिन्दगी बाँचिरहेका छन्। चुनावका बेला नेताहरुको सदाबहार नारा बिजुली बन्छ। हामीले बिजुली बालिदिन्छौ भन्दै भोट लिन्छन्, तर वादा पूरा गर्दैन्।

स्थानीय निर्वाचनपछि नगरपालिकाले यो वडामा विद्युतीकरणका लागि पहिलो आर्थिक वर्षमै २० लाख रुपैयाँ बजेट छुट्याएको थियो। काठको पोल गाडिएको ठाउँमा फेरि सिमेन्टको पोल लगायो। पहिलो आर्थिक वर्षमा काम गर्न नसकिएपछि अहिले पोलमा तार जडान गरिएको वडा अध्यक्ष ठरेन्द्र राईले बताए। यो वडा भौगोलिक हिसावले नगरकै सबैभन्दा ठूलो हो। ठूलो क्षेत्रफल र पहुँचको हिसावले अप्ठ्यारो ठाउँ भएकाले यो वडा विकासमा निकै पछाडि रहेको अध्यक्ष राईको भनाई छ। खानेपानी, बिजुली, सञ्चार, स्वास्थ्य उपचार, बाटोलगायतका असुविधाका कारण यो वडाका बासिन्दा कष्टकपूर्ण जीवन बाच्न बाध्य रहेको उनले बताए।

प्रकाशित: २५ भाद्र २०७६ १६:४० बुधबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App