१६ चैत्र २०८० शुक्रबार
समाज

घरेलु मदिराको प्रभाव: पाथीकाे धान ६०, कोदो सय रुपैयाँमा कारोबार

सिन्धुली– कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्न थालेको छ। स्थानीय जातको कोदोको मुल्य हाल पाथीकै एक सय रुपैयाँ भन्दा बढीमा कारोबार हुन थालेको स्थानिय बताउँछन्। यहाँको महाभारत क्षेत्रमा फल्ने कोदोले मुल्य पाउन थालेको हो। कोदोको मदिरामा उपयुक्त हुने भन्दै कोदोको मदिराको माग बढ्न थालेपछि महाभारत क्षेत्रमा फल्ने कोदोले मुल्य पाउन थालेको स्थानीयको भनाई छ।

यहाँको गोलञ्जोर गाँउपालिका, सुनकोसी गाँउपालिका, तीनपाटन गाँउपालिका, घ्यालेख गाँउपालिका, हरिहरपुरगढी गाउँपालिकालगायतका माथिल्लो भुभागमा फल्ने कोदोले पछिल्लो समय बजार पाउन थालेको किसानले बताएका छन्। सामान्य रोटी तथा ढिडो खान प्रयोग हुँदै आएको कोदो पछिल्लो समय घरेलु मदिराका लागि उत्कृष्ट मानिदै आएको छ।

कोदोको रक्सी धेरैको रोजाइमा पर्न थालेपछि ग्रामीण क्षेत्रको कोदोले भाउ पाउन थालेको किसान बताउँछन्। पहिलाको जस्तो कोदो बिक्रि हुँदैनकी भन्ने कुनै समस्या छैन्, हरिहरपुरगढी गाउँपालिकाका स्थानीय चेतराम राईले भने, ‘धान ६० रुपैया पाथीमा कारोबार हुँदा कोदोको एक सय रुपैया पाथिमा सहजै कारोबार हुन्छ।’ उनले आफुहरुले लगाएको कोदोको मदिरा उत्कृष्ट बन्ने भन्दै स्थानीय स्तरमै मदिरा बनाउन कोदो खपत हुने गरेको बताए। ‘विगत दश वर्ष अगाडीसम्म कोदोको भाउ थिएन’ उनले भने, ‘होटलमा घरेलु मदिराको कारोबार बढेसँगै कोदोको मदिराको माग बढेकाले कोदोको मुल्य बढेको हो।’ उनले कोदोको मुल्य बढ्दा किसानलाई फाइदा पुगेको बताए। हामीले लगाएको कोदो चामलकै भाउमा बिक्रि हुन्छ, गोलञ्जोर गाँउपालिका–४, तिनकन्याका अर्का स्थानीय प्रेम ठकुरीले भने–‘एक सयदेखि एकसय पचास रुपैयाँ पाथिले घरमै आएर कोदो किन्नेको लर्कोनै लाग्छ । कोदोको रक्सीको माग उच्च हुदै गएपछि विगत केहि वर्ष अगाडीसम्म मान्छेले खाइनसक्दा गाइबस्तुलाई खुवाउनुपर्ने कोदोले हाल मुल्य पाउन थालेको छ।

धान नफल्ने खेत बारीमा मुख्य बालिको रुपमा मकै लगाइन्छ, मकै भित्र्याउने बित्तिकै कोदो लगाउने गरिन्छ। महाभारत क्षेत्रमा वर्षमा दुई बालि मात्रै हुने र ति दुई बालिमध्ये कोदोलाई पनि प्रमुख बालिकै रुपमा यस क्षेत्रका किसानले लिने गरेका छन्। आर्थिक रुपमा कमजोर र धान फल्ने खेत नभएका किसानले भने मकै र कोदोलेनै पेट पाल्दै आएका किसानलाई पछिल्लो समय चामलकै भाँउमा कोदो बिक्रि हुन थालेपछि किसानलाई चामलकै भात खान समस्या नहुने भएको छ।

अब चामल र कोदो सरि साट्न सकिने भएको छ, ति किसानले भने–‘त्यसैले यहाँका किसानले कोदो खेतीलाई समेत प्राथमिकतामा राख्न थालेका छन्।’ घरेलु मदिरा (रक्सि) बनाउने धेरैले आफुहरुले लगाएको कोदो किन्न आउने गरेको भन्दै वर्षेनी कोदोको भाँउ बढेको उनले जनाए। गत वर्षको तुलनामा कोदोको माग बढेको छ, अर्का एक किसान भन्छन्, जति कोदोको मदिराको माग बढ्छ त्यतिनै हामी किसानले लगाएको कोदोको भाँउ बढ्छ।’

व्यापारीले कोदोको मदिरा गाउँघर मात्रै नभएर सदरमुकामका होटलमा समेत राम्रो व्यापार गर्ने गरेका छन्। घरेलु मदिरालाई अनुमति दिएर बिक्रि वितरणमा सहजता सरकारले ल्याएमा बाहिरी प्याकिङ रक्सि आयातमा घट्ने र किसानलाई समेत फाइदा हुने स्थानीयको बुझाई छ। कोदोको रक्सि बिक्रिले कोदो खेती गर्ने किसान समेत बढ्ने भएकाले खेतीमा सरकारले समेत सघाउनुपर्ने स्थानीयको भनाई छ। 

पछिल्लो समय सदरमुकामका अधिकांश होटलमा कोदोको मदिरा पाइन्छ। प्याकिङका ब्राण्डेड रक्सि सरहनै कोदोको रक्सिको व्यापार बढेपछि किसानलाई त्यसको प्रत्यक्ष फाइदा पुगेको हो। हामी कहाँ बाहिरबाट आयात हुने रक्सि भन्दा कोदोको रक्सि खाने ग्राहक बढी छन्, सदरमुकामै एक होटल व्यवसायी भन्छन्, प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्ने अभियान राख्छ, तर घरेलु भन्दा आयातित रक्सिलाई बन्देज गरेर घरेलु मदिरालाई प्राथमिकता दिए यहाँका स्थानियको जिवनस्तरनै उक्सिन्छ।’ उनले किसान र व्यापारीलाई समेत प्रत्यक्ष फाइदा पुग्ने भन्दै घरेलु मदिराले गाँउघरका कोदो र मकैले राम्रो मुल्य पाउने बताए।

विशेष गरि कोदो मकै तथा चामलको कनिकाबाट बनाइने घरेलु मदिरामध्ये कोदोको मदिराको माग उच्च छ। सबैको रोजाइमा कोदोकोनै रक्सि पर्ने गरेको स्थानिय बताउँछन्। 


सिन्धुलीको महाभारत क्षेत्रका किसानले बारीमा लगाउन तयारी गरेको कोदोको ब्याड । तस्बिरः अनिल नागरिक

प्रकाशित: २५ भाद्र २०७६ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App