४ वैशाख २०८१ मंगलबार
समाज

गाउँमै सुरक्षित प्रसूति सेवा पाएपछि स्थानीय खुसी

गाउँमा सञ्चालन भएको पाँच शैयाको अस्पतालबाट सुरक्षित प्रसुति सेवा पाए पछि खुसि बनेकी रिउस गाउँकी २१ बर्षीया पेमाफुटिक लामा । तस्बिरः सुमन/मुगु

मुगु– मुगुम कार्मारोङ्ग गाउँपालिका–६ रिउस गाउँकी २१ वर्षीया पेमाफुटिक लामालाई सुरुमा गाउँमा रहेको सामुदायिक अस्पतालमा आउन डर लागेको थियो। उनको पेटमा शिशु हुर्कंदै गएको थियो भने उनका गाउँका सबै जना यो भन्दा पहिला घरमा नै परम्परागत रुपमा सुत्केरी हुन्थे।

५२ घरधुरी रहेको रिउस गाउँमा अहिलेसम्म स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसुति सेवा लिने पेमा फुटिक पहिलो हुन्। गाउँमा स्वास्थ्य संस्था नभएको, स्थानीयको आप्mनै परम्परागत धार्मिक मान्यता रहेकाले कसैले न त गर्भ जाँच गराए न त प्रसूति सेवा नै लिए। गएको हप्ता उनलाई सुत्केरी ब्यथा लागेपछि वैशाखदेखि सुरु भएको सामुदायिक अस्पताल ल्याईएको थियो। तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सहजै रुपमा लामाले बच्चा जन्माएपछि उनी मात्र होईन उनका घर परिवार र गाउँले नै खुसी भए। किन भने अहिलेसम्म कसैले पनि स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएनन्। पहिले हामीले गर्भवती हुँदा घरको काम धन्दा नै व्यस्त भयौं, नजिक स्वास्थ्य चौकी पनि थिएन। स्वास्थ्य चौकी जान लाज लाग्थ्यो त्यसैले घरमा नै सुत्केरी हुन्थ्यौ। अहिले त गाउँमा नै  अस्पताल छ बेला बेला गर्भ जाँच हुन्छ र सहजै अस्पतालमा सुत्केरी गराउँछन् पछिल्ला पुस्ता भाग्यमानी छन् लामाकी ५२ वर्षीया सासु कार्मा याङ्गजोम लामाले बताईन।

पहिले पहिले त गाउँमा स्वास्थ्यकर्मी पुग्दा देउता रिसाउने बुद्ध धर्म अनुसार सुई लगाउँदा परिवार नियोजन गर्नु पाप हो भन्ने मान्यता रहेको स्थानीयवासी एवं आवासीय विद्यालय पुलुका शिक्षक छिरिङ्ग फुञ्जोक लामाले बताए। सबै बौद्ध धर्मालम्बी भएकाले परिवार नियोजन गर्दा पाप लाग्छ भन्ने गाउँलेको मान्यतालाई तोड्दै सुरुमा नेपालगञ्ज गएर आफुले स्थायी परिवार नियोजन गरेपछि छिमेकी तथा गाउँलेले कुरा काट्ने गरेको अनुभव सुनाउँदै लामाले भने, अहिले हाम्रै पहलमा गाउँमा पाँच शैयाको अस्पताल बनेपछि गर्भ जाँच गराउने, परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्या बढेको छ। छायाँ नेपालको आर्थिक सहयोगमा गाउँपालिकाले एक जना तालिम प्राप्त हेल्थ असिस्टेण्ट, एक जना अनमी र एक जना कार्यालय सहयोगी राखेपछि प्रसूति सेवासँगै अन्य स्वास्थ्य सेवा प्रवाह हुँदा स्थानीयवासीलाई विरामी पर्दा जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटेको ६ नम्बर वडाका सदस्य मेदोकफुटिक लामाले बताइन्।

हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजीकरण तथा छाया नेपालको आर्थिक सहयोगमा पाँच शैयाको सामुदायिक अस्पताल निर्माण भई गएको चैत्र २७ गते गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो। अस्पताल उदघाटन भए यता दुई सय ८० जनाले सेवा लिएका छन्। अस्पतालका हेल्थ असिस्टेण्ट हिङ्गखमा राईका अनुसार अस्पताल सञ्चालनमा आएदेखि सुरक्षित प्रसूति सेवा लिने पहिलो पेमाफुटिक भएपनि नियमित गर्भ जाँच, परामर्श सेवा र अस्थायी परिवार नियोजनको (डिपो ) साधन प्रयोग गर्ने महिलाको संख्या दिनप्रति दिन बढ्दै गएका छन्।

अस्पतालमा सोलार बत्ती, चिसाे, तातो पानीको व्यवस्था, सुत्केरी गराउने औजार उपकरण भए पनि जनशक्ति अभाव रहेको राईको भनाई छ।

प्रकाशित: २४ भाद्र २०७६ १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App