७ वैशाख २०८१ शुक्रबार
समाज

दिनदिनै छलफलमा दाहाल–ओली

फाइल तस्बिर

काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्केलगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहालसँग निरन्तर छलफलमा छन्। सिंगापुरबाट फर्केलगत्तै शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका दाहालले ओलीको स्वास्थ्यबारे जानकारी लिएर फर्केका थिए। त्यसपछि भने ओली दाहाल भेट तीव्र बनाएका हुन्। स्वास्थ्य उपचारमा जानुपूर्व दुई अध्यक्षबीच आक्कलझुक्कल मात्र पार्टी र सरकारका विषयमा छलफल हुने गरे पनि पछिल्ला दिनमा दुई अध्यक्षबीचको निरन्तर भेटघाट र छलफललाई पार्टीभित्र अर्थपूर्ण रूपमा हेर्न थालिएको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्षको ओलीको स्वास्थ्य अवस्थाका साथै पार्टीको कार्यक्रकारी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष दाहाललाई दिनुपर्ने आवाज उठिरहेका बेला दुई अध्यक्षबीच शनिबार, आइतबार र सोमबार पनि भेटघाटलाई निरन्तरता दिएका छन्। सोमबारको भेटघामा अध्यक्षले सचिवालय बैठक कहिले बोलाउने भन्नेबारेमा निचोड निकाल्न नसकेको स्रोतले जनाएको छ। ‘बैठक एक दुई दिनमै बोलाउने भन्ने छ तर यही दिन बोलाउने भन्नेबारे टुंगोमा पुग्न सकेकका छैनन्,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओली सिंगापुरबाट फर्किएपछि सांगठनिक एकताका बाँकी काम टुंगो लगाउन दुई अध्यक्षबीच छलफल सुरु भएको छ।’

दुई अध्यक्षको छलफलमा महासचिव विष्णु पौडेलसमेत सहभागी थिए। पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार,आइतबार र सोमबार २÷२ घन्टा छलफल भएको थियो। छलफलमा शनिबारदेखि महासचिव विष्णु पौडेल पनि निरन्तर सहभागी छन्। प्रधानमन्त्री सिंगापुरमा रहेका बेला दाहालको नेतृत्वमा बसेको सचिवालय बैठकले चारजना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो। त्यसपछि रोकिएको सचिवालयको बैठक अहिलेसम्म बस्न सकेको छैन।

प्रधानमन्त्री ओलीले सचिवालयका सदस्यलाई बेग्लाबेग्लै बोलएर भेटघाट गरिरहेका छन्। आइतबार सचिवालय सदस्य रामबहादुर थापासँग लामो कुराकानी गरेका थिए। मन्त्रिपरिषद्को बैठक बस्नुअघि बालुवाटारमै गृहमन्त्रीसमेत रहेका थापासँग लामो छलफल गरेको बालुवटारनिकट स्रोतले जनाएको छ। पार्टी एकताको बाँकी काम र सरकारको विषयमा छलफल भएको थियो। त्यसअघि ईश्वर पोखरेलसँग पनि छलफल गरेका थिए।

दुई अध्यक्षसँगको छलफलमा भने पार्टी महासचिव पौडेलले पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने प्रस्ताव जानकारी गराएका थिए। त्यसैका आधारमा पार्टी एकताका बाँकी काम टुंगो लगाउनेगरी छिट्टै सचिवालय बैठक बोलाउने विषयमा छलफल भएको थियो। ‘पार्टी एकताको काम टुंग्याएर देशव्यापी पार्टीका विभिन्न कार्यक्रम घोषणा गर्ने विषयमा समेत छलफल भएको थियो। पार्टी केन्द्रले नै कार्यक्रम घोषणा गरेर नेता खटाउनेबारे छलफल भएको स्रोतको दाबी छ। सरकारले गरेका कामबारेमा जानकारी दिने र पार्टी कार्यकर्तालाई घुलमिल हुने अवसर दिने तथा नयाँ कार्यक्रमसमेत घोषणा गर्ने तयारी गरिएको छ।

नेकपामा हाल निर्वाचन आयोग, अनुशासन आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, प्रवास कमिटीलगायतका विभिन्न विभागको एकता टुंगो लगाउन बाँकी छ। केन्द्रीय विभागमा प्रमुख–उपप्रमुख तोके पनि तिनले पनि पूर्णता पाउन सकेका छैनन्। जनवर्गीय संगठन युवा संघमा कति सदस्य हुने, अन्य कमिटीमा कति सदस्य रहने भन्नेबारे अझै अन्यौल रहेको छ।

नैतिक चरित्रमा स्खलित: दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्टहरू वैचारिक निष्ठा र नैतिक चरित्र तथा आचरणको दृष्टिकाणले स्खलित भएको बताएका छन्। सोमबार २१ औं सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी मुख्यालय धुम्बाराईमा सम्बोधन गर्दै अध्यक्ष दाहालले विचार, निष्ठा र नैतिकताको दृष्टिमा स्खलित भएकोमा चिन्ता व्यक्त गरेका हुन्। उनले अहिले एकथरि मान्छे क्रान्तिकारी विद्रोह, आन्दोलन र त्यसका नेतालाई बदनाम गर्न धेरै तल्लो स्तरमा उत्रिएर गाली गलौज र अनर्गल प्रचारको एउटा सिलसिला सुरु गर्न थालेको बताएका छन्।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बद्नाम गर्ने षडयन्त्रका झिल्का यत्रतत्र देख्न थालिएको बताए। ‘कहिलेकाहीँ सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन। सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ। यो कुरा आत्मसात गर्नुपर्छ।’

पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी शक्तिका गतिविधितर्फ संकेत गर्दै उनले भने, ‘चिहानबाट फेरि भूतप्रेतलाई ल्याउँदैमा चिहानमा पुगिसकेको कुरा फेरि ब्युतिँदैन। फर्किन्छ भन्ने कुरा त विज्ञानले मान्दैन। तर पनि तिनका प्रेतात्मा बेलाबेला आउने र जीवित मानवलाई कुनै न कुनै रूपमा दुःख दिने गर्दा रहेछन्।’ यस्तो बेलामा संघीय लोकतान्त्रिक गणतन्त्र अझ बलियो बनाउने, जनतालाई अझै धेरै सकारात्मक परिणाम दिने, जनता परिचालन गर्ने र सम्बन्ध सुदृढ गर्ने, पार्टी एकता अझ बलियो बनाउन जरुरी रहेको अध्यक्ष दाहालको भनाइ थियो।

उनले पार्टी एकताका काम छिट्टै टुंगिने र सरकारले पनि काम गरिरहेको बताए। ‘काम त गरेको छ। तर, जनअपेक्षा धेरै छन्। तिनलाई समेट्न कामको गति बढाउनुपर्छ,’ उनले भने। आफूहरू अलि बढी नै आत्मकेन्द्रित, व्यक्तिवादी, आदर्शबाट विचलनतिर जान खोजेको आभाष हुने थालेको भन्दै दाहालले यस्तो बेला सुरेश वाग्ले र अन्य क्रान्तिकारी व्यक्ति सम्झिँदा आफूहरूको उद्देश्यले पार्टीलाई क्रान्तिकारी बनाउने, आदर्शउन्मुख बनाउने, नैतिक चरित्रमा माथि ल्याउने हुनुपर्ने र यसले नेकपा समाजवादी क्रान्तितर्फ उन्मुख पार्टी हुने विश्वास व्यक्त गरे।

प्रकाशित: २४ भाद्र २०७६ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App